वर्तमान सरकारलाई गल्ती गर्ने कुनै छुट छैन : गगन थापा

देउवा नेतृत्वको वर्तमान सरकारले कुनै पनि ‘एक्सक्युज’ नपाउने उल्लेख

गगन थापा

काठमाडौँ : सत्तारुढ नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री गगन थापाले पार्टी नेतृत्वको वर्तमान सरकारलाई गल्ती गर्ने कुनै पनि छुट नभएको बताएका छन् ।

नेता थापाले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले कुनै पनि ‘एक्सक्युज’ नपाउने उल्लेख गर्दै कहीँकतै नचुक्न पनि आग्रह गरे । बीपी कोइराला प्रतिष्ठान, खाँडदेवी गाउँपालिकाले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले केपी ओलीले यो गरेनन्, त्यो गरेनन् भन्ने दिन गएको स्मरण गराउँदै कांग्रेस नेतृत्वको सरकारले अभावमा रहेका नागरिकलाई सरकार कस्तो हुन्छ ? भन्ने कुराको महसुस गराउने गरी काम गर्नुपर्ने स्पष्ट पारे ।

नेता थापाले भने, ‘कुनै पनि ‘एक्सक्युज’ यो सरकारले पाउने छैन । एक ठाउँमा पनि सरकार चुक्न पाउने छैन । केपी ओलीले यो गरेनन्, त्यो गरेनन् भनेर भन्ने दिन अब गए । अब यो अभावमा रहेका नागरिकलाई सरकार भनेको कस्तो हुन्छ ? भन्ने कुराको महसुस गराउने हो । त्यसैगरी ओली नेतृत्वको सरकारले गएको साढे ३ वर्षमा संविधानको आधार नै भत्काउने काम गरेको छ । संविधान र व्यवस्थामाथि नै अनेकन आशंका उब्जाउने जुन काम गरेको छ, त्यसलाई थितिमा ल्याउने काम वर्तमान सरकारले गर्नु पर्दछ ।’

नेता थापाले सरकारलाई सफल बनाउन सिंगो पार्टीले सहयोग गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए । फरक प्रसंगमा उनले पार्टीको आसन्न १४औं महाधिवेशनको मिति तलमाथि नगर्न पार्टी नेतृत्वलाई आग्रह पनि गरे । ‘पार्टीको महाधिवेशनको तिथिमिति धेरै तलमाथि गर्न पाइँदैन । हाम्रो संविधानले ५ वर्षपछि पार्टीको महाधिवेशनको मिति ६ महिना थप गर्न मिल्ने व्यवस्था गरेको छ,’ उनले भने, ‘संविधानको सो व्यवस्थाअनुसार अब महाधिवेशनको मिति पछि सार्न मिल्दैन । संविधानले किटान गरेको व्यवस्था कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले उल्लंघन गर्न मिल्दैन ।’

नेता थापाले पार्टीको क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान गर्ने थलो पार्टीको पदाधिकारी र पूर्वपदाधिकारी बैठक नभएको पनि स्पष्ट पारे । पार्टीको विधानले केन्द्रीय कार्य समितिबाट सो विवाद समाधान गर्नुपर्ने व्यवस्था भए पनि पार्टी नेतृत्व विधान अनुसार चल्न नसकेको आरोप लगाउँदै उनले आपत्ति जनाए । -कान्तिपुरबाट

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार