मेलम्ची खोलामा बाढीः बाढीको वेगले नदीको दायाँबायाँ कटान गर्दै, बाहुनेपाटी बजार उच्च जोखिममा

मेलम्चीको मुख्य बजार बाहुनेपाटी बजार जोखिममा

मेलम्ची खोलामा बाढी

काठमाण्डाै: अस्ति रातिदेखि मेलम्ची नदीमा आएको बाढीको वेग झन् झन् बढ्दै गएको छ । बाढीको वेगले नदीको दायाँबायाँ कटान गर्नुका साथै बाढी मेलम्चीको बस्तीमा नै प्रवेश गर्न थालेको छ । यसले बाहुनेपाटी बजार उच्च जोखिममा परेको छ । यसअघि गएको असार १ गतेको बाढीबाट जोगिएको बाहुनेपाटी बजार अहिले भने जोखिममा परेको छ । यो बजार मेलम्चीको मुख्य बजार हो ।

जोखिम बढेपछि त्यहाँका डेढ सय परिवारलाई सुरक्षित ठाउँमा सार्ने तयारी भइरहेको मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्यालले उज्यालोलाई जानकारी दिनुभयो । यस्तै, बाढीले मध्यपहाडी लोकमार्गको पक्की पुलमा समेत नोक्सानी गरेको छ ।

अस्ति र गएको असार १ गतेको बाढीले सडकमा क्षति पुर्याएपछि पाँचपोखरी थाङपाल गाउँपालिकासहितका क्षेत्रमा आवतजावतका लागि यो पुललाई वैकल्पिक मार्गका रुपमा प्रयोग गर्दै आइएको थियो । विगत दुई वर्षदेखि निर्माण सुरु भएको पुलमा पीच भइसकेकै छैन ।

यसपालिदेखि मात्रै यो पुलमा साना गाडी चलाउन अनुमति दिइएको थियो । यो पुल हुँदै अरनिको राजमार्गमा निस्किन मिल्छ । यसले दोलालघाट र चौतारा पनि जोडेको छ । तर, पुलको एकतर्फी भागमा क्षति पुगेकाले गाडी चल्न सकेका छैनन् ।

जिरोकिलो हेलम्बु सडकको सम्बन्ध विच्छेद हुनु र विकल्पको रुपमा रहेको एक मात्र बाहुनेपाटीको पुल पनि जोखिममा परेपछि इन्द्रावतीभन्दा पूर्वी क्षेत्रसँग यातायातको सम्बन्ध टुटेको मेयर अर्यालले बताउनुभयो । मध्यपहाडी लोकमार्ग अन्तर्गत मेलम्ची नगरपालिका १२ बाहुनेपाटीमा रहेको यो पुल मेलम्चीका लागि मुख्य सडक जोड्ने पुल हो ।

यसअघि अस्ति बाढीले एउटा झोलुङ्गे पुल र चनौटेमा रहेको रातो पुल पनि बगाएको थियो । रातो पुल बगाएसँगै मेलम्चीबाट हेलम्बु जाने सडक सम्पर्क टुटेको छ । असार १ गतेको बाढीले मेलम्ची क्षेत्रलाई तहसनहस बनाएको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार