‘मेरा बा’ : ईश्वर पोखरेल

ईश्वर पोखरेल

(आज विहानै छोराहरूले ‘बा को मुख हेर्ने दिन’ भनेर निधारमा रातो टिका लगाइदिए । मैले भने मेरा दिवंगत बा लाई सम्झिरहें !)

मैले मेरा बा खोज्न –
धेरै पटक आफ्ना दिमागका आँखा मिचे,
आँखा चिम्म पारेर प…र प…र हेर्न खोजे ..!।
चम्किरहेका ताराहरू र चहकिलो जून नियालें ,
कहिले निष्पट्ट अध्यारो रातमा बाटो काट्दै गर्दा
आफै अगाडि ठिंग उभिन आइपुगेको,
सलवलाउँदै गरेको – बग्दैगरेको
कालो आकृतिको सामना गरें !

तर अहँ …
बा लाई सग्लो आकारमा भने
देख्न सकिन / पाउन सकिन
मेरा बा सँधै धमिलो आकृतिमा
मेरा अगाडि उभिई रहनुभो- आइरहनुभो !
त्यही धमिलो आकृति – मेरो बाको आकृति !
अघाउजी हेर्न खोज्छु – ठम्याउन खोज्छु
तर दुर्भाग्य ! देख्नै सक्तिन – ठम्याउनै सक्तिन
सल्वलाउँदै गरेको- बग्दैगरेको
धमिलो / कालो आकृति
मेरो बा बनेर
सँधै सँधै मेरा अगाडि ठिंग उभिन आइपुग्छ !

मेरा बा –
मैले तपाईंलाई सँधै सँधै यसरी नै भेट्दै आएकोछु !
बालखै उमेरमा,
मृत्यु शैय्यामा लमतन्न परेको
बाको शरिरलाई अहिले पनि सम्झन्छु !
भक्कानिएर रूँदैगरेकी मेरी आमाको सारीको सप्कोले मुख छोप्दै
बा लाई त्यसवेला नियालेको थिएँ –
म, आमा झैं डाको छोडी रोएको त थिइन –
तर रून खोज्दै र रून्चे अनुहार लगाएर बा को अनुहार हेरेको थिएँ –
दीर्घ रोगी बनेर गलिसकेको ,
अस्वभाविक रूपले कालो बनिसकेको अनुहार ,
वेस्सरी तील चामल बनिसकेका लामा लामा
दारी जुंगाहरू ,
वेस्सरी धस्सिएका आँखा ,
हो- मैले तपाईंलाई त्यही रूपमा देखें – मेरा बा!
उत्तरार्धतर्फ बढिरहेको म,
अहिले पनि ,लगातार बा लाई देख्ने – भेट्ने धोकोमै छु ।
तर , सँधै सँधै त्यही र त्यस्तै
कालो कालो , धमिलो धमिलो आकृति
मेरो बा बनेर ठिंग्ग उभिने गरेको छ ,
म निरन्तर निरन्तर बा को खोजीमा छु,
जति धमिलो देखिए पनि
बा लाई देख्ने – भेट्ने प्रयत्न
जारी छ – जारी रहनेछ !
बा !
तपाईंलाई देख्ने , अघाउँजी हेर्ने
मेरो अखण्डित धोको मरेको छैन- जारी छ !

-ईश्वर पोखरेल नेकपा एमालेका महासचिव हुन् । पोखरेलको फेसबुक वालबाट साभार  !

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार