चार जना अमेरिकी सिनेटरको टोली नेपाल आउने

चार जना अमेरिकी सिनेटरको टोली नेपाल आउने

चार जना अमेरिकी सिनेटरको टोली नेपाल आउने भएको छ। डेमोक्र्याटिक पार्टीका सिनेटर मार्क केली, क्रिस्टिन गिलिब्रान्ड, कोरी बुकर र एड मार्की नेपाल आउन लागेका हुन्। उनीहरूसँगै तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सदस्य मोन्डेयर जोन्स पनि नेपाल आउँदै छन्।

उनीहरू अमेरिकाबाट नेपालकै लागि भने आउने छैनन्। नेपालसँगै उनीहरू पोल्यान्ड, युएई, भारत र जर्मनीको ९ दिने भ्रमणमा निस्कन लागेको बताइएको छ।

रूसले युक्रेनमाथि आक्रमण गरेपछि युक्रेनका पक्षमा समर्थन जुटाउन उनीहरू भ्रमणमा निस्किन लागेका हुन्।

भारत र युएईले अहिलेसम्म युक्रेनमाथि भएको रूसी आक्रमणको विरोध गरेका छैनन्। परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अमेरिकी सिनेटरको टोली आउन लागेको बताइन्।

‘उहाँहरू ९ गते आएर ११ गते फर्किने कार्यक्रम छ,’ लम्सालले भनिन्। नेपालले युक्रेनमाथि रूसी आक्रमणको विरोध गरेको छ। यसबारे राष्ट्रसंघमा भएका सबै मतदानमा नेपाल युक्रेनको पक्षमा उभिएको छ। रूसलाई मानव अधिकार परिषद्को सदस्यबाट निलम्बन गर्न भएको मतदानमा भने नेपाल तटस्थ बसेको थियो।

अहिले दक्षिण तथा मध्य एसिया मामिलाका लागि अमेरिकी उप-सहायक विदेश मन्त्री केली केइडरलिङ नेपालमै छन्।

अमेरिकी सहयोग परियोजना एमसिसी पारित हुनुअघि दक्षिण तथा मध्य एसिया मामिलाका लागि अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु काठमाडौं आउँदा केली पनि सँगै आएकी थिइन्। उनले सोमबार परराष्ट्र मन्त्री नारायण खड्कासँग शिष्टाचार भेट गरेकी छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार