मातृदेवो भव : आज मातातीर्थ औंसी, आमाको मुख हेर्ने दिन

कसरी मनाइन्छ मातातीर्थ औँसी ?

mother's day wishes
आमा

धनगढी : आज मातातिर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन । आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरी आशिर्वाद लिएर मातातिर्थ औंसी मनाइँदैछ । वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठा मीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ ।

आमा नभएकाहरू भने आमाको नाममा श्राद्ध गर्दै आमाको सम्झना गर्छन् । दिवङ्गत आमाको सम्झनामा श्राद्ध तथा दान गर्नका विभिन्न मठमन्दिरमा बिहानैदेखि सर्वसाधारणको भिड लागेको छ । बिहान सबेरैदेखि मातातिर्थ कुण्डमा स्नान गर्नेहरुको भीड छ । मेलामा सहभागी भई कुण्डमा दर्शन गरेमा आमा दिवंगत हुने छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने जनविश्वास छ ।

जसरी औँसीको दिनमा लाग्ने चर्को घाममा बिस्कुन सुकाएमा अन्नमा किरा नलाग्ने विश्वास छ , त्यसै गरी आजको औँसीमा आमाको स्मरण र आमाप्रति श्रद्धा व्यक्त गरेमा आमा र सन्तान बिचको सबन्धमा कुनै दरार आउनेछैन ।

मातातीर्थ औँसी
माता तीर्थ औँसीलाई देवलोक, पितृलोक र पृथ्वीलोक सबैतिर जोड्न सक्ने एउटा सेतुका रूपमा लिइन्छ । यस तिथिमा आफ्ना आमाहरूलाई सम्झना गर्न, भेट्न, स्नेह प्रकट गर्न अत्यन्त आवश्यक मानिन्छ । यदि आमाहरू यस लोकमा नभए  दान पुण्य गर्न अत्यन्त आवश्यक मानिन्छ । आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मान गरिएको हुँदा यो दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ । आजको दिनलाई मातृ औँसी एवं मातृ दिवस पनि भन्ने गरिन्छ । आजको दिन छोराछोरीहरूले श्रद्धा, भक्ति, सम्मान अनि आदर गरिएकी आमालाई मीठो खान तथा राम्रो लगाउन दिई आमाबाट शुभ–आशीर्वाद ग्रहण गर्ने चलन छ ।

मातृदेवो भव ।
अर्थात् आमाहरू देवता हुन् । यस लोकमा भएका आमाहरू जीवित देवताहरू हुन्, लोक त्यागेका आमाहरू पनि अमर छन्, उहाँहरूको सम्झना र आराधना गरिन आजका दिनले पैरवी गर्दछ । शास्त्रहरूमा आमालाई पिताभन्दा उच्च स्थानमा राखिएको पाइन्छ । संसारको सबैभन्दा पवित्र नाता, आमा, संसारको सबैभन्दा पवित्र सम्बोधन हो, ‘आमा’ ।

कसरी मनाइन्छ मातातीर्थ औँसी ?
आज बिहान सबेरै उठी स्नान गरेर आमालाई मिष्ठान्न भोजन खुवाई, उपहार दिंदै आमाको मुख हेर्ने र आमाबाट आशीर्वाद लिने गरिन्छ । आज आमाबाट टाढा रहेका सन्तानहरू आमालाई उपहार लिएर भेट्न पुग्छन् । विवाह गरेर पतिका घर गएका चेलीबेटीहरू मीठा परिकारहरूसहित आमा घर अर्थात् माइती पुग्छन् । विभिन्न कारणले आमालाई भेट्न नपाएकाहरूले भने सञ्चारका साधनहरूमार्फत पनि सम्झने गर्छन् । मानिसहरूले सामाजिक सञ्जालको माध्यमबाट पनि आमाप्रतिका भावना अनि सम्झनाहरू व्यक्त गर्ने गर्दछन् । आज उपत्यकाका नेवा समुदायले भने भक्तपुरको हनुमान घाट पुगी आमाको सम्झनामा परम्परा अनुसार श्राद्ध तर्पण गर्छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार