चीनको अत्याधुनिक सैन्य पानीजहाज श्रीलंकातर्फ अघि बढ्दै, भारतद्धारा चिन्ता व्यक्त

११ अगष्टमा हम्बनटोटा बन्दरगाह पुग्ने अनुमान

चीनको अत्याधुनिक सैन्य पानीजहाज श्रीलंकातर्फ अघि बढ्दै, भारतद्धारा चिन्ता व्यक्त

काेलम्बो : चीनको एक अत्याधुनिक सैन्य पानीजहाज श्रीलंका तर्फ अघि बढिरहेको छ । चीनको एक रिसर्च सैन्य पानी जहाज श्रीलंकाको बन्दरगाहतर्फ अघि बढिरहेको भारतीय सञ्चारमाध्यम एनडीटीभीको अनलाइन संस्करणले जनाएको छ ।

जहाज ११ अगष्टमा हम्बनटोटा बन्दरगाह पुग्ने अनुमान रहेको छ । जहाजमा ४ सय जना मानिस रहेका छन् । जहाजमा एउटा विशेष एन्टेना रहेको र यसमा कयौँ सेन्सर पनि रहेको खबरमा उल्लेख छ ।

भारतले चिनियाँ जहाज श्रीलंकातर्फ गइरहेको विषयलाई चासोका साथ हेरेको जनाएको छ । श्रीलंकाको रक्षा मन्त्रालयका प्रवक्ता नलिन हेराथले भने भारतको चिन्ता र चासो स्वभाविक नरहेको बताएका छन् । उनले श्रीलंकामा कुनै पनि देशको विरुद्धमा गतिविधि हुन नदिइने भएकाले भारतले चिन्ता लिनु आवश्यक नरहेको बताएका छन् ।

भारत, चीन, रुस, जापान लगायत देशका नौसैनिक जहाजले अनुसन्धानको लागि बेला बेला आफ्नो देशसँग अनुरोध गर्ने र आफूहरुले पनि अनुमति दिने गरेको प्रवक्ता हेराथले बताएका छन् । परमाणु सक्षम जहाजले अनुमति मागेमा भने श्रीलंकाले अनुमति नदिने पनि उनले प्रष्ट पारेका छन् ।

यो पटक हिन्द महासागर क्षेत्रको निगरानी र नेभिगेसनको लागि चिनियाँ जहाज आउँदै गरेको श्रीलंकाले जनाएको छ । श्रीलंका जाँदै गरेको चिनियाँ जहाज अत्याधुनिक मध्येको एक हो । यो जहाजले परमाणु उर्जा संयन्त्र र सैन्य बेसको समेत निगरानी गर्ने क्षमता राख्दछ ।

भारतको रक्षा मन्त्रालयका एक अधिकारीले हिन्द महासागरमा प्रभावको लागि भारत र चीनले प्रतिष्पर्धा गरिरहेको अवस्थामा चीनले यस्ता गतिविधिबारे जानकारी दिनुपर्ने बताएका छन् ।

चीनका जहाज यसअघि पनि पटक पटक भारतको जलक्षेत्रमा प्रवेश गरेको तर जानकारी नदिएकाले शंका गर्ने ठाउँ रहेको ति अधिकारीले बताएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार