बडा दसैँ २०७९ को सोधपत्र शुभकामना, आशीर्वादको अर्थ !

प्रकाशकीय

बडा दसैँ, २०७९ सबै नेपालीका लागि म‌ंगलमय होस् !  सबैमा सोधपत्र शुभकामना !     

बडा दसैँलाई  मित्रता, भाइचारा र पुनर्मिलनको पर्वका रुपमा लिने गरिन्छ। बडा दसैँको दसौं दिन अर्थात् विजया दशमी आज मान्यजनबाट टीका ग्रहण गरी मनाइँदै छ ।

बहुसङ्ख्यक नेपालीले मनाउने मुख्य चाड बडा दसैँ सुरु भइसकेको छ । सरकारी वा निजी सबैजसो अड्डा अदालतमा बिदा भइसकेको छ । घर छाडेर बाहिर निस्केकाहरू घर फर्किसकेका वा फर्कने क्रममा छन् ।

हिन्दुधर्मावलम्बीहरूले शक्तिको आराधना गर्ने पर्वका रूपमा मनाए पनि बडा दसैँ नेपालीहरूको साझा पर्व बनिसकेको छ । यसैले अब दसैँ समुदाय वा जाति विशेषको मात्र पर्व होइन ।

नियमित आय हुने र सम्पन्नहरूका लागि सजिलै भए पनि परम्परागत शैलीमा मीठो खाने र राम्रो लगाउने रहर दसैँमा पूरा गर्न विपन्नहरूलाई मुस्किलै हुन्छ । यसैले त ‘गयो दसैँ रिन बोकाइ’ भन्ने उखानै बनेको छ ।

यसैले दसैँ मनाउने क्रममा पनि ‘घाँटी हेरेर हाड’ निले हुन्थ्यो । तर, समाजमा अरूभन्दा कम हुन सितिमिति कसैको पनि मन मान्दैन । यसैले दसैँ कतिपयका लागि दसा पनि बन्न पुग्छ ।

जेहोस्, नेपाली समाजको संस्कृति बन्न पुगेको बडा दसैँ सबैका लागि रमाइलो होस् । यस अवसरमा सोधपत्र डटकम तथा सोधपत्र मिडिया नेटवर्क प्रा.लि  परिवार हाम्रा पाठकहरू, शुभेच्छुक, सहयोगी तथा सहकर्मी सबैको सुख, शान्ति र प्रगतिको कामना गर्छौं ।

बडा दसैँ, २०७९ सबै नेपालीका लागि म‌ंगलमय होस् !  सबैमा सोधपत्र शुभकामना !  

पुरुषलाई टीका लगाइदिँदा भन्ने आशीर्वाद


आयु द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे
ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दूर्योधने ।।
सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।

यसको अर्थ:


द्रोण पुत्र अश्वत्थामाको जस्तो आयु होस्, राजा दशरथको जस्तो कृति होस्, रामको जस्तो अजात शत्रुता हरणको क्षमता होस्, राजा नहुनको जस्तो ऐश्वर्य होस्, वायुको जस्तो गति होस्, दुर्योधनको जस्तो मान होस् ।।

सूर्य पुत्र झैँ दानी होस्, भीमको जस्तो बल होस्, युधिष्ठिर जस्तो सत्यवान् होस्, विदुरको जस्तो ज्ञान होस्, नारायणको जस्तो कृति होओस् ।

महिलालाई टिका लगाइदिँदा भन्ने आशीर्वाद


जयन्ती मङ्गलाकाली,
भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवाधात्री,
स्वाहा स्वधा नमोऽस्तुते ।

अर्थात् ती देवी जसले सम्पूर्ण संसारलाई नै विजय गर्न सक्ने सामर्थ्य राख्छिन् । जो हरेक अन्धकारको निदान गर्न सक्छिन् । समयको पाबन्दीभन्दा पर रहेकी ती देवी जो मानव खप्परको माला लगाउँछिन् अनि हरेक प्रकारका दुःखको निदान गर्न सक्छिन् । यो जगत को रक्षा गर्ने हे देवी ! यो तिम्रो भक्तले चढाएको भक्तिलाई स्वीकार गर, हामी तिमीलाई नमन गर्दछौँ ।

यी शुभाशिषहरूमा व्याख्या भए झैँ हामीले सकारात्मक बाटो पछ्याउँदै उत्तरोत्तर प्रगति गर्न सकौँ । सत्य बोल्न, सत्कर्म गर्न, आदर–सम्मान गर्न कहिले नचुकौं । सम्पूर्णमा विजया दशमीको टीका, जमरा र आशिष ले जीवनमा ऊर्जा भरोस् । सफलताका आयामहरू थपिँदै जाउन् ।

असत्यमाथि सत्य तथा अन्यायमाथि न्यायको विजयको प्रतीक यस पावन पर्व विजया दशमीको हार्दिक बधाई तथा अनेकानेक शुभकामना । सबैको शुभ होस्, मङ्गल होस् । क्रोध, लोभ, अन्याय–अत्याचार, अहङ्कार, दण्डहीनता, क्रूरता, भ्रष्टाचार तथा भोक र शोकले व्याप्त अनेक रावण रूपको अन्त्य गर्न सकियोस् !

ढ्याक्क जमेको दहीको चोइला चामलमा हालेर अनि अबिर हालेर मुछेर अक्षता बनाइयो त ? टीकाको दिनमा बनेका हरेक दैलो अनि सङ्घार भित्रका अक्षताहरूमा लक्षण बसोस्, आशिष् दिने मुखमा सरस्वती बसुन् अनि तपार्इं सबैका अनुहारमा हर्षका धागाहरू बसुन् । अनेकानेक शुभकामना !!
देवी विसर्जन

ईति सम्प्राथ्र्य देवीं तु तत उत्थापयेद् बुध ।
उत्तिष्ठ देवी चण्डेशि शुभां पूजा प्रगृह च ।।
कुरुष्व मम कल्याणमष्टाभि शक्तिभिःसह ।
गच्छ गच्छ परं स्थानं स्वस्थानं दवि चण्डिके ।।

नवरात्रिमा देवीलाई पूजा अर्चना गरिसकेपछि आज दशमीको दिन चाहिँ देवीलाई विधिपूर्वक बिर्सन गरिन्छ । पृथ्वी लोकमा गरिएको अर्चनालाई स्वीकार गर्दै देवीलाई आज आफ्नो धाममा जान गरिने आव्हान नै देवी विसर्जन हो । नवरात्रिमा सिङारेर पूजा गरिएको देवीको मूर्तिलाई आज विधिपूर्वक विसर्जन गरिन्छ । आजका दिन विसर्जन गरिएको मूर्तिलाई भोलि जलाशयमा बगाइने परम्परा छ ।

माटो मुछेर बनाइएका देवी प्रतिमाबाहेक परम्परादेखि स्थापित धातुका मूर्ति रहेका देवी मन्दिरमा भने देवी पूजन विसर्जन गरेर प्रसाद स्वरूप जलअभिशेक र जमरा पुजारीले दर्शनार्थीलाई दिने गरिन्छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार