राष्ट्रपतिद्वारा दसैंको शुभकामना, पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने

राष्ट्रपति विद्यादेवी भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान् चाड बडादसैँ, २०७९ को अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली नागरिकहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गरेकी छन् ।

राष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गर्दै बडादसैँ पर्वले सम्पूर्ण नेपालीबीचको सामाजिक–सांस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ गर्दै न्यायपूर्ण, समतामूलक, सभ्य एवं सुसंस्कृत समाज निर्माणका लागि थप उत्साह, उमङ्गका साथ क्रियाशील रहन प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गरेकी हुन् ।

सन्देशमा भनिएको छ, ‘ यस प्रकारका चाडपर्वहरूको माध्यमबाट विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीहरूको बीचमा आपसी सद्भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको छु ।’

वर्षा ऋतुको अन्त्य र शरद ऋतुको सुरुवातसँगै मनाइने बडादसैँ पर्वको धार्मिक, सांस्कृतिक, सामाजिक र आर्थिक आयामहरू रहेका छन् ।

‘घरको लिपपोत र बाटोघाटो सरसफाई गर्ने, लिङ्गे पिङ–रोटे पिङ खेल्ने, मान्यजनबाट टीका लगाउने र आफन्त भेटघाटका लागि माइत मावली जाने गरिन्छ,’ सन्देशमा भनिएको छ, ‘बडादसैँको अवसरमा गरिने रमाइला सामाजिक सांस्कृतिक क्रियाकलापहरू आम नेपालीको मन मस्तिष्कमा सुखद् स्मृतिका रूपमा अमिट भएर बसेका हुन्छन्, तसर्थ बडादसैँ नेपालीहरूको साझा राष्ट्रिय मनोविज्ञानको एक महत्त्वपूर्ण कडीको रूपमा रहेको छ भन्ने मलाई लाग्दछ ।’

नेपालीहरूको सबैभन्दा ठूलो चाडका रूपमा रहेको बडादसैँ आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म शक्तिको आराधना गरी दशमीका दिन प्रसाद स्वरूप मान्यजनहरूको हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरी पूर्णिमासम्म विशेष रूपमा मनाउने गरिन्छ ।

साइत किन जुराइन्छ टिकाको ? पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने :

यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११:५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । बिहान १०:३४ बजे देवी विसर्जन गरी ११:५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ

पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिए ।

राज्य सञ्चालकले भने समितिले तोकेकै साइतमा मान्यजनबाट टीका, प्रसाद थाप्नुपर्ने उनले बताए । देवीको प्रसादका रूपमा देशका धेरै भागमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ । केही भागमा भने विजयादशमीका दिनमात्र देवीको प्रसादका रूपमा टीका थाप्ने गरिन्छ ।

नेपालमा राष्ट्रिय चाडका रूपमा दशैँ मनाउने गरिन्छ । दशैँमा वातावरण नै उल्लासमय बन्छ । विभिन्न पेशा र व्यवसायका क्रममा थातथलोभन्दा टाढा रहेका नेपाली मान्यजनको आशीर्वाद थाप्न घर फर्कने गर्छन् । शरद ऋतुको उल्लासमय वातावरणमा मनाइने दशैँमा विशेषगरी नवदुर्गा भवानीको विशेष पूजा, आराधना गरिन्छ ।

बडा दशैँका अवसरमा राम्रो लगाउने र मीठो खाने पर्वका रूपमा पनि यसलाई उल्लासमय वातावरणमा मनाइन्छ । दशैँमा विशेषगरी बालबालिकाले पिङ खेल्ने, चङ्गा उडाउने गर्छन् । दशैँ पर्व बालबालिकाकै लागि हो भन्ने उखान पनि नेपाली समाजमा रहेको छ । बालबालिकाले रमाइलो गर्ने यो पर्वलाई प्रौढले भने देवीको पूजा, उपासना गरी मनाउँछन् ।

साइत किन जुराइन्छ ?

साइत जुराउनुलाई “उखुको लाँक्रामा पनि सबैभन्दा गुलियो भाग खोज्नु”सँग तुलना गर्छन् ज्योतिषी अधिकारी। भन्छन्,”विजया दशमी आफैमा शुभ दिन हो। त्यस दिनमा पनि सबैभन्दा उचित पल कुन हो भनेर खोज्नु नै साइत जुराउनु हो।”

दशमीको दिन त्यसरी जुराइएको समयमा दुर्गाको प्रसादका रूपमा टीका, जमरा ग्रहण गर्नु “ज्यादै राम्रो हुने” अधिकारीको धारणा छ।

यद्यपि, टीका लगाउनका निम्ति साइतसँगै व्यावहारिकतालाई पनि ध्यान दिनु पर्ने उनले बताए। भने,”आफ्नो अनुकूलता र सहजता पनि हेरिनुपर्‍यो।”

साइत जुराउँदा के हेरिन्छ ?

सामान्यतया दशैँको तिथि अनुसार मनाइने बताउँछन् अर्का ज्योतिषी सुरेशचन्द्र रिजाल। तिथि, बार र नक्षत्रले अर्थ राख्ने भए पनि सबैभन्दा बढी महत्त्व लग्नको हुने उनी बताउँछन्।

लग्नले ग्रह सबैभन्दा बलियो भएको क्षणलाई बुझाउने रिजालले बताए। लग्न निर्धारण गर्दा सूर्यको प्रमुख भूमिका रहन्छ।

त्यस्तै उपयुक्त साइत जुराउँदा नौ वटा ग्रहहरू कति बलवान् स्थानमा छन् भन्ने कुरा समेत मापन गरिने ज्योतिषी रिजालले बताए। उनले भने,”त्यसलाई नवमांश भनिन्छ। यो ग्रहहरूको बल नाप्ने निकै छोटो पद्धति हो।”

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार