SKIP THIS

S.P.A  Collage

आज कुकुर तिहार, लक्ष्मी पूजा, महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जन्मजयन्ती मनाइँदै

महाकवि लक्ष्मीप्रसाद देवकोटा

कात्तिक कृष्ण चतुर्दशीका दिन तिहारको दोस्रो दिन आज लक्ष्मी र द्वारपाल कुकुरको पूजा गरी तिहार मनाइदै छ । धनधान्य देवी लक्ष्मीको आराधना र कुकुरलाई अबिरमाला लगाइदिएर मनपर्ने खानेकुरा दिएर पूजा गर्ने चलन छ । आज घरघरमा दीपावली गर्दै धनधान्य र एश्वर्यकी देवी लक्ष्मीको पूजा गरिँदै छ ।

कार्तिक कृष्ण चतुर्दशीमा कुकुर तिहार मनाइए पनि आज बिहान चतुर्दशी र अपराह्न ५ बजेपछि रातभर औंसी तिथि छ । जसकारण कुकुर पुजा बिहान गरेर साँझ लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

कार्तिक कृष्ण औंसीका दिन धन सम्पतिले भरिपूर्ण होस् भन्ने कामनासहित धनधान्यकी देवी लक्ष्मीको पूजाअर्चना गरिने चलन छ । कार्तिक कृष्ण औंसीको रातलाई अत्यन्त अँध्यारो रातका रूपमा लिइन्छ ।

नरक चतुर्दशी पनि आजै

कात्तिक कृष्ण चतुर्दशीका दिन सोमबार बिहान झिसमिसेमै पितृ उद्धारका लागि नर्के बगाइने चलन छ । बिहान सूर्य उदाउनुपहिले टपरी वा दुनामा दक्षिण फर्काएर बत्ती राखेर पानीमा बगाउँदा पितृको मोक्ष हुने विश्वास छ । यसरी बालिने बत्ती घरमा रहेका परिवार संख्या जत्ति नै बाल्ने गरिन्छ ।

लक्ष्मी पूजा

आज चतुर्दशी तिथि साँझ ५ बजेर ४४ मिनेटपछि सकिने भएकाले आजै लक्ष्मी पूजा पनि हुँदैछ। धनधान्यकी देवी लक्ष्मीकाे पूजा गरिने आजकाे रातलाई सुखरात्रि पनि भनिन्छ। विशेषगरी यो दिन लक्ष्मीको पूजा गरेमा ऐश्वर्यकी प्रतीक लक्ष्मीको घरमा बास हुने जनविश्वास तथा धर्मशास्त्रीय मान्यता रहेको छ। 

आजकाे रात महिलाहरू घरघरमा गई भैलाे खेल्ने चलन समेत रहेकाे छ। आज घरआँगन सरसफाई गरी लक्ष्मी स्थापना गरिन्छ।

पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा आराधना गरिन्छ। लक्ष्मीलाई प्रसन्न पार्न सके धन तथा ऐश्वर्यमा वृद्धि हुने विश्वास गरिन्छ। 

यस्तै सामान्यतः आजकै दिन पर्ने गाई पूजा भने भोलि परेको छ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जन्मजयन्ती

नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १४ औं जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । 

महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औंसीअर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । उनले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिए । यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाए । 

नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो । नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उनका सिर्जनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ ।

भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निरालाको संयुक्तरूपसँग तुलना गरेका थिए भन्ने मान्यता छ । नाट्यसम्राट बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीनपटक जन्मेको बताएका थिए ।

विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उनले महत्वपूर्ण योगदान दिएका थिए । महाकवि देवकोटाले अङ्ग्रेजी साहित्यका फ्रान्सिस बेकन, चाल्र्स ल्यासजस्ता १५ जना गद्य लेखकका निबन्धको चयन गरी विसं १९९७ मा ‘प्रसिद्ध प्रबन्ध सङ्ग्रह’ प्रकाशित गरे ।

विसं २०१६ मा उनी शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गराएका थिए । हाल त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको जग्गा पनि उनकै शिक्षामन्त्रीत्वकालमा व्यवस्था गरिएको हो । जसले विश्वविद्यालयको पूर्वाधारका लागि काम गरेको छ । वर्तमान नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनु देवकोटाको अविस्मरणीय देन मानिन्छ ।

तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, दशदिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका देवकोटामा तुरुन्त कविता लेख्नसक्ने आशु कवित्वको क्षमता थियो । देवकोटाको कवि–प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय छ ।

चरम आर्थिक अभाव र पारिवारिक वियोगसँगै राजनीतिकरुपमा पनि देवकोटा पनि सक्रिय भएका थिए । यसका बाबजुद पनि उच्चस्तरका साहित्य नेपाल र नेपालीलाई प्रदान गर्नु उनको साहित्यिक विशेषता हो । विसं २००२ मा किनेर २००४ सालमा देवकोटा सर्नुभएको मैतीदेवीस्थित घरलाई गत असोजदेखि महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालयका रुपमा स्थापित गरिएको छ ।

महाकवि देवकोटाले ‘पागल’ कवितालाई आफैँले अङ्ग्रेजीमा अनुवाद गरे । उनले पाश्चात्य ग्रीसेली स्रोतबाट अनेकौँ गाथाको नेपालीकरण गर्नुभएको छ । विसं २०२४ मा प्रकाशित भएको ‘मायावीनी’ ‘सुन्दरी प्रोजर्पिना’ जस्ता खण्डकाव्य र ‘प्रमिथस’ महाकाव्य यसका उदाहरण हुन् । देवकोटाको एकमात्र उपन्यास ‘चम्पा’ हो ।

नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिएका देवकोटाको निधन २०१६ साल भदौ २९ गते भएको थियो । महाकवि देवकोटा जयन्तीका अवसरमा गत शुक्रबारदेखि नै साताव्यापी कार्यक्रम भइरहेको छ । यस अवसरमा आज पनि विभिन्न कार्यक्रम गरी देशभर देवकोटा जयन्ती मनाइने जनाइएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार