निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गरिने

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गरिने

निर्वाचनलाई लक्षित प्रदेशस्तरीय सुरक्षा गोष्ठी बुधबार धनगढीमा सम्पन्न भएको छ । गृह मन्त्रालय र सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा गोष्ठी भएको हो ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गराउनका लागि सुरक्षा रणनीति बनाउनका लागि गोष्ठी गरिएको हो । गोष्ठीको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका थिए ।

गोष्ठीमा गृह प्रवक्ता फणिन्द्रमणी पोखरेलले शान्त र भयरहीत वातावरणमा स्वच्छ, निष्पक्ष तरिकाले निर्वाचन सम्पन्न गराउनका लागि निर्वाचन कार्यालयदेखि निर्वाचन केन्द्रसम्म सुरक्षाको प्रबन्ध मिलाइएको बताए ।

‘निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सशस्त्र प्रहरी खटेका छन्’, उनले भने,‘मतदान केन्द्रमा नेपाल प्रहरी र म्यादी प्रहरी खट्नेछन् । उसलाई सपोर्टका लागि नेपाली सेना र सशस्त्र प्रहरी पनि खट्छन् ।’

गृहका अनुसार निर्वाचन सम्पन्न गराउन मुलुकभर एक लाख १५ हजार म्यादी प्रहरीसहित दुई लाख ९८ हजार सुरक्षाकर्मी खटाइदैछ । खटाउन सक्नेमध्येको यो अधिकतम जनशशक्ति रहेको गृहले जनाएको छ ।

सुरक्षा चुनौती र सुरक्षा आवश्यकतालाईमात्रै आधार नमानेर सम्भावित खतराको बारेमा जनताले दिएका सूचनाको आधारमा थप सुरक्षाकर्मी खटाएर सुरक्षा व्यवस्था मजबुत बनाइने प्रवक्ता पोखरेलले बताए ।

‘निर्वाचनप्रति राजनीतिक दल र आम नागरिकको सकारात्मक धारणा छ’, उनले भने,‘जनताले दिएको सूचनाको आधारमा थप सुरक्षाकर्मी खटाएर सुरक्षा व्यवस्था मजबुत बनाउँछौं ।’

भौगोलिक विकटताका कारण सुदूरपश्चिम र कर्णाली प्रदेशमा अलि समस्या रहेको गृह मन्त्रालयले जनाएको छ । त्यहि कारणले सुर्खेतमा केन्द्र रहने गरी दुई वटा हेलिकोप्टर राखिएको बताइएको छ ।

यस्तै, आधा घण्टामा पुग्न सक्ने गरी ठाउँ–ठाउँमा नेपाली सेना तैनाथ गरिएको जनाइएको छ । ‘कहाँ कहाँ बस्ने भन्ने तय नेपाली सेनाले नै नक्सा हेरेर आफै गरेको छ’, उनले भने ।

पूर्व ताप्लेजुङदेखि पश्चिम दार्चुलासम्मका कतिपय स्थानीय तहका लागि हेलिकोप्टर नभइ नहुने भएकाले त्यहाँ सुरक्षाका लागि हेलिकोप्टर प्रयोग हुने जनाइएको छ ।

त्यस्तै, अति संवेदनशील मतदान स्थल रहेका पालिकाहरुमा नेपाली सेना र सशस्त्र प्रहरी खटिसकेको गृह मन्त्रालयले उल्लेख गरेको छ । जनताको चाहना र सुरक्षा निकायको क्रियाकलापले निर्वाचन सम्पन्न गर्नमा सहज हुने मन्त्रालयले जनाएको छ ।

यद्यपि, कहिँ कतै घटना हुन पनि सक्ने भन्दै प्रवक्ता पोखरेलले त्यस्ता घटनालाई ठूलो रुपमा लिन नहुने बताए ।

‘राज्यले एकै चरणमा चुनाव गर्दा खेरी कहिलेकाँही केहि घटना घट्न सक्छन् भन्ने हाम्रो अनुमान छ’, उनले भने,‘त्यस्ता घटनालाई सम्बोधन गर्नका लागि नेपाली सेनाको हेलिकोप्टर, जहाज, निजी कम्पनीका हेलिकोप्टर तैनाथी अवस्थामा राख्नेछौं ।’

प्रवक्ता पोखरेलले विभिन्न जिल्लामा रहेका निजी क्षेत्रका हेलिकोप्टरलाई त्यहिँ नै ‘होल्डिङ’ गरेर प्रयोग गर्ने व्यवस्था गृह मन्त्रालयले गरेको बताए ।

गृह सचिव विनोद प्रकाश सिंहको अध्यक्षतामा भएको सुरक्षा गोष्ठीमा विशिष्ट अतिथि सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव नारायणप्रसाद शर्मा दुवाडी रहेका थिए । गोष्ठीमा नेपाली सेनाका रथी सरोजप्रताप राणा, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापाले मन्तव्य राखेका थिए ।

गोष्ठीमा विभिन्न मन्त्रालयका सचिव, सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।

गोष्ठीमा नौ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले आफ्नो जिल्लाको सुरक्षा अवस्थाको बारेमा जानकारीसमेत गराएका थिए । सुदूरपश्चिममा एक हजार १६१ मतदान स्थल मध्ये ३५२ अति संवेदनशील र ४०४ र संवेदनशील मतदान स्थल रहेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार