धनगढीमा तीन दिन भुवा पर्व मनाइने, के-के हुने छ ?

धनगढीमा तीन दिन भुवा पर्व मनाइने

धनगढीको खुला मञ्चमा भोलीदेखी ३ दिनसम्म भुवा पर्व मनाईने भएको छ। बाजुरेली सेवा समाज धनगढी कैलालीले भोलि देखि तीन दिनसम्म धनगढीको खुला मञ्चमा भुवा पर्व मनाउन लागेको आज पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

भुवा पर्व धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा सामाजिक एकताका रुपमा सुदूरपश्चिमका पहाडी जिल्ला, बाजुरा, बझाङ, अछाम, डोटीसहित कैलाली र कञ्चनपुरमा मनाईदै आएको छ। परापूर्व कालदेखि मनाईने स्थानिय महत्वपुर्ण पर्वको रुपमा भुवा पर्व मनाइने गरिन्छ।

शुक्रबार बिहान ८ बजे धनगढी खुलामञ्चमा मुढा बालेर औपचारिक रुपमा भुवा पर्वको सुरुवात गरिने कार्यक्रम रहेको बाजुरेली सेवा समाजका अध्यक्ष चेतबहादुर थापाले बताए। भोलि बिहान धनगढी खुलामञ्चमा सुरु हुने भुवा पर्व र भुवा नाचको उद्घाटन प्रदेश प्रमुख देवराज जोशीले गर्ने बाजुरेली सेवा समाजले जनाएको छ।

हरेक वर्ष पुस औंसीदेखि पुर्णिमासम्म मनाइने भुवा पर्वमा भुवा नाच्ने गरिन्छ। भुवा पर्वमा पुरुषहरूले हातमा ढाल र तरबार लिएर बाजाको साथमा तरबार घुमाउदै नाच्ने गर्दछ्न्। भुवा पर्वको अवसर पारेर खुलामञ्चमा भुवा नाच, भस्सो गीत गाउने र नाच्ने गरिन्छ तयारी गरिएको छ।

भुवा पर्वमा खेलिने भुवा नाचको सुरुवात महाभारत युद्धमा पाण्डव पक्षको विजयोत्सवका रुपमा भुवा नाच देखाउन थालिएको र जनविश्वास रहेको बाजुरेली सेवा समाजका संरक्षक कुलबहादुर हमालले बताए। महाभारतको युद्धको तयारीको रुपमा तरबारबाजी सिक्ने र सिकाउने कौशलका रुपमा भुवा नाचलाई लिने गरिएको उनले बताए।

महाभारतको युद्धमा पाण्डवहरूको विजयपछि राजा युधिष्ठिरको राज्याभिषेक उत्सवको रुपमा भुवा नाच खेल्न थालेको विश्वास गरिएको उनको भनाई छ। भुवा पर्व र भुवा नाचलाई व्यक्तिमा वीरता र पराक्रम जगाउने अवसरको रुपमा बुझ्नुपर्ने समाजका सचीव रामचन्द्र जोशीले बताए।

वीरता, पराक्रम र भाइचाराको सम्बन्ध विकास र विस्तार गर्न भुवा पर्व मनाइने गरिएको उनले बताए। भुवा नाचको महत्त्व उजागर गर्न र पर्वको संरक्षण गर्न धनगढीमा पनि भुवा पर्व मनाउन थालिएको उनले जानकारी दिए। बाजुरालगायत सुदूरपश्चिमका पहाडी जिल्ला र कर्णाली प्रदेशका विभिन्न जिल्लामा भुवा नाच खेल्ने गरिएको छ। भुवा नाचमा दुबो र अबिर लगाएर सबै मनमुटाव बिर्सेर एकतावद्ध हुँदै तरबार र ढाल घुमाउँदै घरघरमा गएर भुवा नाच देखाउने प्रचलन छ।

पहाडमा गाउँका मुख्य मान्छे रजबार, मुखिया र जिम्वालको घरबाट भुवा नाच सुरु गर्ने प्रचलन भए पनि धनगढीमा भने खुलामञ्चमा प्रदेश प्रमुखको उपस्थितिमा भुवा नाच सुरू हुनेछ। गाउँमा रजवार, मुखिया र जिम्वालको घरबाट भुवा नाच सुरु गर्ने परम्परा रहेको उनले बताए। भुवामा गाइने गीतलाई ‘भस्व भनिन्छ भने फाग पनि गाइन्छ।

बिहानै मुढा जलाउनुलाई ‘खाँडो’ जगाउनु भन्ने गरिन्छ। भुवा नाचमा विभिन्न मुखुण्डो लगाएर पनि नाच्ने गरिन्छ।पहाडी क्षेत्रमा १५ दिनसम्म भुवा खेल्ने प्रचलन भए पनि धनगढीमा भने तीन दिनसम्म भुवा नाच खेल्ने आयोजकले बताएका छन्। पहाडी क्षेत्रमा भुवाका लागि एका बिहानै मानिसहरू राँको बालेर मानिसहरू भुवा नाच्ने ठाउँमा पुग्ने परम्परा छ। भुवा पर्वमा सुदुरपश्चिम सरकारले सबै जिल्लामा सरकारी विदा दिनुपर्ने माग गरिएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार