भौतिक संरचना तयार, मावि अनुमतिको पर्खाइमा श्री शिरोमणी

अछामको चौरपाटी गाउँपालिका वडा नम्बर १ को श्री शिरोमणी लेखनाथ आधारभूत विद्यालय खान्डाँडामा माध्यमिक तह सञ्चालन गर्न अभिभावक जुटेका छन् । 
  • पूर्ण साउँद-अछाम : अछामको चौरपाटी गाउँपालिका वडा नम्बर १ को श्री शिरोमणी लेखनाथ आधारभूत विद्यालय खान्डाँडामा माध्यमिक तह सञ्चालन गर्न अभिभावक जुटेका छन् । 

कक्षा ८ देखि माध्यामिक तह पढाइका लागि विद्यार्थीहरू घण्टौँ सम्मको बाटो हिँडेर अर्को विद्यालय सम्म पुग्नु पर्ने बाध्यतालाई अन्त्य गर्न अभिभावक कस्सिएका हुन् ।

वि.सं. २०३९ सालमा स्थापना भएको विद्यालयमा २०७६ साल अगाडिसम्म कक्षा पाँचसम्म मात्रै पढाई हुन्थ्यो । तर अभिभावकहरूको मेहनतका कारण २०७६ सालदेखि मात्रै गाउँमा ८ कक्षासम्म पढाई हुन् थाल्यो । अभिभावकहरूले गाउँबाटै सहयोग उठाएर केही वर्ष ८ कक्षासम्म पढाई सञ्चालन गरे । त्यसपछि ८ कक्षासम्म तत्कालीन गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउँदले अनुमति पनि प्रदान गरे ।

तत्कालीन पालिका अध्यक्ष साउँदको पालामा विद्यालयका लागि आवश्यक पर्ने भौतिक संरचना पनि निर्माण भएका छन् । ८ कक्षासम्म पालिकाबाट अनुमति पाए पनि स–साना विद्यार्थीहरू टाढाको विद्यालयसम्म पढ्न जान नसक्ने भएपछि अभिभावकहरूले सोही विद्यालयमा माध्यमिक तहसम्म निःशुल्क पढाई हुनुपर्ने माग उठाउँदै आएका छन् । गाउँपालिका सँग पटक पटक मावि तहसम्मको पढाइका लागि अनुमति माग्दा पनि कुनै सुनुवाइ नभएको अभिभावक तथा विद्यालय व्यवस्थापन समिति बताउँछ ।

यस पटक भने गाउँपालिकाका वर्तमान अध्यक्ष भीम बहादुर साउँदले पनि माविका लागि विद्यालयलाई अनुमति प्रदान गर्ने वचन दिएका छन् । अहिले अभिभावक, विद्यालय व्यवस्थापन समिति, पूर्वविद्यार्थीहरु माध्यमिक तहसम्म सञ्चालन गर्न आफ्नो तर्फबाट कस्सिएका छन् । गाउँमै मावि तहसम्मको पढाइ नहुँदा विद्यार्थीलाई समस्या भएको भन्दै मावि तह ९कक्षा ९–१०० सञ्चालन गर्ने लक्ष्यका साथ सहयोग संकलनका लागि अभिभावक र विद्यालय व्यवस्थापन समितिले सार्वजनिक अपिल गरेका छन् ।

कक्षा ८ देखि माध्यामिक तहको पढाइका लागि विद्यार्थीहरू कम्तीमा दुई घण्टा पैदल हिँडेर सिउँडी माध्यमिक विद्यालय चौरपाटी पुग्नुपर्ने बाध्यता छ । तर अहिले विद्यार्थीहरू सानो उमेरका भएका कारण किताब कापी बोकेर दैनिक रूपमा त्यहाँसम्म पुग्न नसक्ने विद्यार्थीहरू नै गुनासो गर्छन् ।

मावि सञ्चालनका लागि पूर्वाधार निर्माण भइसकेको भए पनि शिक्षक व्यवस्थापनका लागि लाखौँ बजेट आवश्यक पर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नयन सिं साउँदले बताए । उनका अनुसार नयाँ निर्माण भएका ६ र ४ कोठे भवनबाट यही माघ १२ गतेदेखि विद्यालयले नियमित पठनपाठन सुरु गर्ने तयारी थालेको छ ।

विद्यालयमा शिक्षक अभाव रहेको बताउँदै आर्थिक सहयोग जुटे शिक्षकहरू पनि थप्ने योजना रहेको उनले बताए । अभिभावक र अन्य व्यक्तिबाट सहयोग संकलनको काम भइरहेको उनी सुनाउँछन् ।

‘पूर्वविद्यार्थी, शिक्षक र सहयोगी मनहरूलाई सार्वजनिक रूपमा सहयोगको आह्वान गरेका छौँ’, उनले भने,’सबैतिरबाट सहयोगको आश्वासन पाएका छौँ । नयाँ शैक्षिक सत्रमा जसरी पनि मावि चलाउँछौँ ।’

यस्तै अभिभावक विना साउँदले पनि बालबालिकालाई टाढा पढ्न पठाउँदा समस्या भएका कारण गाउँमै मावि चलाउने तयारी गरेको बताइन् ।

‘‘हाम्रा छोराछोरीले टाढा पढ्न जाँदा दुःख पाए । यही मावि चलाऔँ भनेर गाउँका सबै अभिभावकहरूले माग राख्यौँ’,अभिभावक साउँदले भनिन्,‘अभिभावकहरूको माग र साथले नै माध्यमिक तह सञ्चालन गर्ने तयारी थालेका छौँ । देश विदेशमा रहेका दाजुभाइ, सहयोगी संस्था, समाजसेवी, शिक्षक, राजनीतिज्ञ लगायत सबैलाई सहयोगको लागि अपिल गर्दछौँ ।’’

यस विद्यालयमा अहिले खान्डाँडा टोल, सल्लिपाटा टोल लगायतका बालबालिका यहाँ पढ्न आउने गर्दछन् । तर विद्यालय मावि तहसम्म सञ्चालन भएको खण्डमा अन्य टोलका बालबालिका पनि यहाँ पढ्न आउने विश्वास गरिएको छ ।

किन भने ती ठाउँबाट ८ कक्षा भन्दा माथिको शिक्षा पढ्न टाढा जानुपर्छ । तर खान्डाँडामा माध्यमिक तहको पढाइ सुरु भएपछि त्यस ठाउँका विद्यार्थी पनि यहाँ आउने विद्यालयको आकलन छ । हाल यस विद्यालयमा तीन सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । बालविकाससहित ९ जना शिक्षकहरू कार्यरत छन् ।

यस्तै यस विद्यालयबाट कक्षा ५ सम्मको पढाई पूरा गरेका पूर्वविद्यार्थी महेन्द्र साउँदले पनि पुराना दुःख सम्झिँदै माध्यमिक तहसम्मको पढाई सञ्चालनका लागि सबैलाई सहयोग गर्न अपिल गरेका छन् । उनले आफूहरू माध्यमिक तहसम्म पढ्नको लागि बिहानै झिसमिसेमा अर्को विद्यालय जानु परेको दुःख सुनाए ।

‘दुई घण्टाको पैदल हिँडेर हामी भोकभोकै अर्को विद्यालयमा जान्थ्यौ,’ उनले भने,’कतिपय हाम्रा साथीहरूले पढ्न टाढै जानुपर्ने कारणले विद्यालयसमेत छाडेका थिए ।’

अब त्यस्तो अवस्था नआओस् भन्दै हामी पनि आफ्नो तर्फबाट सहयोग गरौँ भन्ने पक्षमा लागेको उनको भनाई छ ।

उनले विगत सम्झँदै भने,

“हामी बिहानको समयमा पढाई हुने बेला सल्लाको झोरो बालेर विद्यालय जान्थ्यौँ । कक्षा कोठामा पढ्ने बेला निन्द्रा लाग्थ्यो । सर र अन्य विद्यार्थी साथीहरूले त्यस बेला आफूहरूलाई सुतेको भन्दै जिस्क्याउँथेँ । यही कारण हाम्रो गाउँबाट माध्यमिक तहसम्मको शिक्षा पाउन कयौँ साथीहरू वञ्चित भएका छन् ।”

यही अवस्थाको अन्त्य गर्न गाउँमै माध्यमिक तह सञ्चालनका लागि अभिभावक र आफूहरू लागि परेको उनको भनाई छ । गाउँमै मावि सञ्चालन भए विद्यार्थीहरूको पढाइमा पनि सुधार हुने उनको विश्वास छ । उनले सबैलाई आ–आफ्नो तर्फबाट सक्दा सहयोग गरिदिन अनुरोध गरे । उनका अनुसार पूर्वविद्यार्थीको पहलमा देश तथा विदेशमा सहयोग संकलनको काम भइरहेको छ । अहिले विद्यालयमा भौतिक संरचना बने पनि शिक्षक लगायत अन्य समस्याहरु रहेको उनी बताउँछन् ।

यता चौरपाटी गाउँपालिकाका अध्यक्ष भीम बहादुर साउँदले पनि विद्यालयलाई आफ्नो तर्फबाट हुने सम्पूर्ण सहयोग गर्न तयार रहेको बताए । आगामी शैक्षिक सत्रबाट विद्यालयलाई कक्षा ९ सम्मको अनुमती प्रदान गर्ने तयारी थालिएको उनले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार