अनेरास्ववियु २३ औं महाधिवेशन, अध्यक्षमा चार आकांक्षी

अनेरास्ववियु अध्यक्षमा चार आकांक्षी

एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको मंगलबारबाट सुरु २३ औं महाधिवेशनमा ४ विद्यार्थी नेताले अध्यक्षमा दाबी गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले ड्रोन उडाएर उद्घाटन गरेको महाधिवेशनमा महासचिवमा ६ र सचिवमा २० जनाको दाबी छ ।

त्यसैगरी, ४ उपाध्यक्षमा १५ जना आकांक्षी छन् । देशभरका क्याम्पस तथा भूगोल कमिटीबाट छानिएर आएका १ हजार ५ सय ८८ प्रतिनिधिले १ सय ९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछन् ।

अध्यक्षमा आरसी लामिछाने, समिक बडाल, लोकेश निरौला र मोती विकको दाबी छ । लामिछाने वरिष्ठ उपाध्यक्ष तथा निरौला र विक उपाध्यक्ष हुन् भने बडाल महासचिव हुन् । मुख्य प्रतिस्पर्धा लामिछाने र बडालबीच हुने देखिएको छ । उपाध्यक्षमा टपेन्द्र शाही, जेनिश लामा, मर्यादा विष्ट, एलबी सिंह, डम्बर अधिकारी, रामशरण चौधरीको दाबी छ ।

त्यसैगरी, महासचिवमा नारायण घर्ती, नरेश रोकाया, सुदर्शन सिवाकोटी, धर्म गिरी, गोविन्द गिरी र भाष्कर खनालको दाबी रहेको छ । ३ महिला, १ समावेशी र ६ खुला सचिव गरी १० सचिव छनोट हुनेछन् । महाधिवेशनले ४९ सदस्यीय स्थायी कमिटी गठन गर्नेछ ।

‘५ सय ३५ सदस्यीय आयोजक कमिटी छ । नयाँ कमिटी १ सय ९९ सदस्यीय मात्रै हुने भएकाले नेतृत्व छनोटका लागि चुनाव हुने देखिन्छ,’ जनसंगठन समन्वय संयन्त्र सहसंयोजक रचना खड्काले भनिन्, ‘हामीले प्यानल बनाएर लड्न नदिने र व्यक्तिगत प्रतिस्पर्धालाई जोड दिने नीति लिएका छौं ।’

उनका अनुसार सकेसम्म नियमित रूपमा अध्ययन गरिरहेका विद्यार्थीलाई नेतृत्वमा ल्याउने नीति छ । ‘पार्टी र नेताका तर्फबाट कसैलाई पनि उम्मेदवार बनाउँदैनौं,’ उनले भनिन्, ‘लामो समय महाधिवेशन नहुँदा धेरै अखिलमै रहनुभयो, यो जामलाई महाधिवेशनले ढोका खोलिदिन्छ ।’ उनका अनुसार पहिले नै विधान महाधिवेशनबाट नीति तथा विधान पारित गरेका कारण नेतृत्व छनोटका लागि बुधबार बिहान ८ बजेबाट निर्वाचन प्रक्रिया सुरु हुन्छ । नयाँ नेतृत्व छनोट गरेर बिहीबारसम्म महाधिवेशन टुंग्याउने पूर्वनिर्धारित कार्यक्रम छ । तर, यसअघिका महाधिवेशनमा नेतृत्व छनोटको परिणाम आउन एक साताभन्दा बढी लाग्ने गरेको छ ।

मंगलबार साँझबाट प्रज्ञा प्रतिष्ठानमा बन्द सत्र पनि सुरु भएको छ । बन्द सत्रले आयोजक कमिटी भंग गर्दै एमाले स्थायी समितिका सदस्य भानुभक्त ढकाल अध्यक्ष रहेको ९ सदस्यीय अध्यक्ष मण्डल गठन गरेको छ । जसमा खिमलाल भट्टराई, विनोद ढकाल, माधव ढुंगेल, किशोरविक्रम मल्ल, नवीना लामा, रचना खड्का, ऐन महर, सुनिता बराल रहेका छन् ।

अखिलको २२ औं महाधिवेशनमा २०७२ सालमा भएको थियो । सो महाधिवेशनले नवीना लामालाई निर्वाचित गरे पनि २०७४ सालमा सांसद भएपछि पद छाडेकी थिइन् । त्यसबीच ऐन महर र सुनिता बराल अध्यक्ष बने । यसअघि २–२ वर्षमा महाधिवेशन भएर नयाँ नेतृत्व छनोट हुने गरेको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार