चौरपाटीमा ‘लम्पी स्किन’ रोगले पशु चौपायाको ज्यान लिँदै, किसानलाई रुवाउँदै

लम्पी स्किन

अछाम : पछिल्लो समय लम्पि स्किन रोगको संक्रमणबाट अछामको चौरपाटी गाउँपालिकामा ६२ भन्दा बढी पशु चौपाया मरेका छन् । पालिकाका ७ वटै वडामा फैलिएको उक्त रोगका कारण हालसम्म ६२ भन्दा बढी पशु चौपाया मरेको र सयौँ पशुमा संक्रमण देखिएको हो ।

चौरपाटीस्थित भेटेरिनरी अस्पतालका नायव पशु स्वास्थ्य प्राविधिक पारस बोहराका अनुसार हालसम्म गाउँपालिकाका सातै वडामा लम्पि स्किन रोग फैलिएको छ । उनले आफूले अहिलेसम्म ७ वटै वडाबाट तथ्याङ्क संकलन गरे अनुसार ६२ पशु चौपाया मरेको जानकारी दिए ।

उनले भने, ‘अहिलेसम्म मैले थाहा पाए अनुसार ६२ पशु चौपाया मरेका छन् । तर यो भन्दा पनि बढी पशु चौपाया मरेको हुन सक्छन् । भने लगभग तीन सयसम्मको संख्यामा पशुहरू लम्पि स्किन रोगबाट संक्रमित छन् ।’

पशु स्वास्थ्य प्राविधिक बोहराका अनुसार अहिलेसम्म ३५ गोरु, २१ गाई र ६ वटा भैँसी लम्पि स्किन रोगका कारण मरेका छन् ।यो रोग निको पार्ने कुनै खोप नभएको आफूले जानकारी पाएको उनको भनाई छ । उनले अहिले आफूहरूले पशुमा देखिने लक्षणका आधारमा उपचार गरिरहेको बताए ।

उनले आफू फिल्डमा खटिएर सो रोगबाट संक्रमित पशु चौपायाको उपचार गरिरहेको बताए । यो रोग नियन्त्रणमा लिने प्रयास भइरहेको र पहिलेको भन्दा अहिले कम हुँदै गएको उनको दाबी छ । आफूहरूसँग पर्याप्त मात्रामा औषधि नभए पनि स्रोत साधनले भ्याएसम्म उपचार गरिरहेको पशु स्वास्थ्य प्राविधिक बोहराको भनाई छ ।

सुरुमा पशुमा उच्च ज्वरो आउने, शरीरका विभिन्न भागहरूमा गिर्खा आउने र पाक्ने जस्ता लक्षणहरू देखा पर्ने गरेको उनी सुनाउँछन् । पशुहरूमा देखिएको उक्त रोग लामखुट्टे, किर्ना र झिँगाबाट सर्ने गर्दछ । यो रोग विशेष गरी गाई गोरुमा देखा परेको र भैँसीहरूमा कम देखिएको पशु स्वास्थ्य प्राविधिक बोहराले बताए ।

उनले यो रोग लागिसकेपछि पशु चौपायालाई क्वारेनटाइनमा राख्नुपर्ने बताए । यस्तै यतिबेला पशुबस्तुमा यो रोगले अछाम जिल्लाभर पनि महामारीको रुप लिएको बताइएको छ ।

पशु चौपायामा लम्पी स्किन रोग देखापरेपछि किसान चिन्तित भएका छन् । रोग नियन्त्रण गर्न किसानले भुसुना, किरा र लामखुट्टे नियन्त्रणका लागि गोठको सरसफाइ, भकारो (पर्सो) व्यवस्थापन र चरन क्षेत्रको ख्याल गर्नुपर्ने पशु विज्ञ बताउँछन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार