सायद आयोडिन युक्त नुन बाहिर राख्दा चोरी हुँदैन होला तर गुणस्तर के हुन्छ ?

शरीरमा आयोडिनको कमी भए के असर पर्छ ? 

सायद आयोडिन युक्त नुन बाहिर राख्दा चोरी हुँदैन होला तर गुणस्तर के हुन्छ ?
तस्बिरमा दायाँ पट्टी कैलालीका बजारहरूमा जहाँ त्यही देख्न सकिने पनि पर्दा आधा ढाकेर बाहिरै राखिएको आयोडिन नुन

धनगढी : तपाईँहरूले पनि बजार जाँदा देख्नु भएको होला तर कत्तिको बिचार गर्नु भएको छ ? हाम्रो नेपाली बजारमा जुनसुकै पसलमा पनि दुई बालबालिकाको लोगो भएको आयोडिनयुक्त नुनका प्याकेटहरू भएका बोराको-बोरा घाम-पानी, दिन-रात केही मौसम, अवस्थाको प्रवाह नगरी बाहिरै छोडिएको हुन्छ ।

पानी परेको बेला केही छोप्न अलिकति ढाकेको जस्तो गरिएको हुन्छ भने अन्य समयमा खुल्ला बोराहरू नै थुपारेर बाहिरै छोडिएको हुन्छ । तपाईँले सुन्नु भएकै होला नेपालमा नुन चोरेर खानु हुन्न भन्ने पङ्क्ति निकै नै स्थापित छ । सायद यसकै प्रभाव होला बजारमा जहाँ त्यही नुनको राखिएको देख्न सकिन्छ भने नुन चोरी भएको घटना पनि बिरलै सुन्न पाइन्छ अथवा सुन्नु नै भएको छैन होला सायद । 

तर मानव जीवन र अस्तित्वको को लागी प्रयोग हुँदै आएको आयोडिन (लवण)  युक्त उक्त नुन चोरी हुँदैन भन्दैमा त्यसरी जहाँ त्यही राख्दा गुणस्तरमा तल माथि हुन्छ या हुँदैन कसरी भण्डारण गर्नु पर्छ भन्ने विषय महत्त्वपूर्ण हुन आउँछ यहाँ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तरगतको स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य महाशाखाको पोषण विभागका अनुसार घाममा आयोडिन उडेर जाने र पानीले पखालिने हुँदा नुनलाई घाम र पानीबाट जोगाउनुपर्दछ भने नेपालको माटोमा आयोडिनको कमी हुनाले बाहिरी स्रोतबाट यो कमी पूरा गर्नुपरेको हुन्छ । 

बाहिरै राखिएको आयोडिन नुन
बाहिरै राखिएको आयोडिन नुन

आउनुहोस् जानौँ आयोडिनको कमी र त्यसको नियन्त्रण सम्बन्धी केही तथ्यगत जानकारी:  

आयोडिन भनेको के हो ?     

  • आयोडिन भनेको एक प्रकारको लवण हो ।
  • यो माटोमा पाइन्छ ।
  • जनावर तथा मानव शरीरको वृद्धि र विकासका लागि आयोडिन नभई हुँदैन ।
  • मानिसको शरीरका अत्यन्त संवेदनशील अङ्गहरू– मस्तिष्क र सम्पूर्ण स्नायु प्रणालीलाई राम्ररी सञ्चालन गर्नका लागि आयोडिनको जरुरत पर्दछ ।  

आयोडिनका स्रोतहरू के-के हुन ?  

  • समुद्री खाना 
  • आयोडिनयुक्त नुन र आयोडिन भएको जमिनमा उमारेका खाद्य पदार्थहरू सलगम, बन्दा, पालुङ्गो, ब्रोकाउली आदि । 

किन नेपालमा आयोडिनको कमी हुन्छ ?

  • पृथ्वी उत्पत्ति भएदेखि नै माटोमा आयोडिन थियो तर पछि बिस्तारै हिमनदी, बाढी, भू–क्षय आदिले गर्दा आयोडिन भएको माटो समुद्रमा पुग्यो । त्यसैले समुद्रको पानी र समुद्रमा पाइने खाद्यवस्तुमा बढी आयोडिन पाइन्छ ।   समुद्रबाट सूर्यको प्रकाशले पानीको बाफसँगै आयोडिनलाई उडाएर वायुमण्डलमा पुर्याउछ । पानी पर्दा हावामा रहेको आयोडिन पानीसँगै जमिनमा झरी माटोमा मिसिन्छ । तर त्यसरी समुद्रबाट हावामा पुगी वर्षाको माध्यमले मिसिएर प्राप्त हुने आयोडिनको मात्रा अति थोरै हुन्छ । त्यसमा पनि नेपालमा भू–क्षय, बाढी आदिको कारणले माटोमा आयोडिन अडिरहन पाउँदैन । फेरि समुद्रमा नै पुग्दछ । तराईमा पनि खास गरी वर्षा याममा पानी जम्ने र बाढी आउने हुँदा माटोमा भएको आयोडिन पखालिएर समुद्रमा पुग्छ । यसरी आयोडिनको चक्र चलिरहने हुनाले आयोडिनको कमी पनि निरन्तर भइरहन्छ । 

शरीरमा आयोडिनको कमी भए के असर पर्छ ? 

  • गलगाँड देखिन्छ । 
  • मानिस सुस्त मनस्थिति (बोधो दिमाग) को हुन्छ । 
  • शारीरिक र मानसिक वृद्धि र विकासमा कमी आउँछ र वाम पुड्के, लाटो, लठेब्रो हुन्छ । 
  • सम्झने शक्ति कम हुन्छ र पढाइमा कमजोर हुन्छ । 
  • गलगाँड आएपछि रोगीलाई काम गर्न, यताउता हिँडडुल गर्न, बोल्न अप्ठेरो हुन्छ । यसका साथै उसलाई मानसिक चिन्ता पर्छ र मनोवैज्ञानिक रूपमा हीनता बोध हुन्छ ।
  • गलगाँड ठुलो भएमा श्वास नली थिचिएर मृत्यु हुने खतरा हुन्छ ।  
  • गर्भवती महिलामा आयोडिनको कमी भएमा गर्भमा रहेको बच्चा मर्न सक्छ । 

आयोडिनको कमी हुनबाट कसरी कसरी बच्ने ?

  • आयोडिन पाइने खानेकुरा दिनहुँ खानामा खानुपर्छ ।
  • दुई बालबालिकाको लोगो भएको आयोडिनयुक्त प्याकेटको नुन खानुपर्छ ।
  • आयोडिनको कमी भएको थाहा पाउने बित्तिकै उपचार गर्न नजिकको स्वास्थ्य चौकीमा जानुपर्छ ।
  • आयोडिन छ कि छैन भनी जाँच्ने किट साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेड र स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य महाशाखा, पोषण शाखामा सम्पर्क गरी त्यहाँबाट पाउन सकिन्छ । 

किन नुनमा आयोडिन मिसाएर बेचिन्छ त ?

  • नुन मानिस तथा गाईबस्तु सबैलाई चाहिन्छ । 
  • नुन धनी, गरिब, ठुलो–सानो सबैलाई चाहिन्छ ।
  • नुन दैनिक खानुपर्ने वस्तु भएकोले आयोडिन निरन्तर शरीरले पाइरहन्छ । 
  • आयोडिन नुनमा मिसाउँदा रङ, स्वाद, गन्ध, तौल कुनैमा पनि फरक पर्दैन । 
  • नुनमा कम खर्चमा सजिलैसँग आयोडिन मिसाउन सकिन्छ । 

प्याकेटको नुन ल्याएपछि त्यसमा भएको आयोडिनलाई उडेर खेर जान नदिन के गर्ने ? 

  • आयोडिनयुक्त नुनलाई प्लास्टिकको ब्याग वा बट्टामा टम्म बिर्को लगाई बन्द गरी राख्ने । 
  • आयोडिनयुक्त नुनलाई तातोले भेट्ने, सूर्यको प्रकाश प्रत्यक्ष पर्ने वा पानीले भिज्ने ठाउँमा खुल्ला नराख्ने । 
  • आयोडिनयुक्त नुनको प्याकेट खोलिसकेपछि धेरै समयसम्म खुला नराख्ने । 
  • आयोडिनयुक्त नुन सकभर खाना तयार भइसकेपछि मात्र खानामा मिसाउने । 
  • घाममा आयोडिन उडेर जाने र पानीले पखालिने हुँदा नुनलाई घाम र पानीबाट जोगाउनुपर्दछ ।  
  • नेपालको माटोमा आयोडिनको कमी हुनाले बाहिरी स्रोतबाट यो कमी पूरा गर्नुपर्दछ । 

आयोडिन नुनको भण्डारण को बारेमा के भन्छन् त, धनगढीको साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेडका निमित्त प्रमुख ?

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तरगतको स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य महाशाखाको पोषण विभागले घाममा आयोडिन उडेर जाने र पानीले पखालिने हुँदा नुनलाई घाम र पानीबाट जोगाउनुपर्दछ भनी स्पष्ट रूपमा निर्दिष्ट गरेको भए पनि धनगढी स्थित साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेडका निमित्त प्रमुख तेजबहादुर कुँवर भने कैलालीका मुख्य बजारहरू धनगढी, अत्तरिया लगायतका क्षेत्रका विभिन्न पसलमा नुनको उचित भण्डारण गरेको देखिँदैन, यो नुन चोरी हुँदैन भन्ने भनाई हाबी भएर हो या यसको गुणस्तर अर्थात् खान योग्य नै हुन्छ ? जहाँ जसरी घाम पानीमा राख्दा पनि ? भनी सोध्दा कुँवर भन्नु हुन्छ,

“नुन चोरेर खानु हुँदैन भन्ने प्रचलन पनि छ नै र त्यस्तो चेरी पनि हुने गरेको छैन तर बाहिर जसरी राखिएको देखिन्छ त्यसरी राख्दा नुनमा आयोडिनको मात्रा ढिके नुनमा त अवश्य नै असर पर्छ तर दुई बालबालिकाको लोगो भएको आयोडिनयुक्त नुनका प्याकेटहरू फुटेको प्याकेजीङ्ग गर्दा भरेको हावा प्याकेट बाट न निस्किएको भएमा त्यसमा त्यति असर पर्दैन खान योग्य हुन्छ ।” 

यद्धपी कुँवरले त्यति असर न पर्ने कुरा बताए पनि हाम्रो क्षेत्रका व्यापरीहरुले नुनको भण्डारमा निकै नै लापरबाही गरेको देखिन्छ यस कारण हामी ग्राहक वर्ग, प्रयोग कर्ताहरूले नै सचेत हुनु पर्ने देखिन्छ किनकि घाममा आयोडिन उडेर जाने र पानीले पखालिने हुँदा नुनलाई घाम र पानीबाट जोगाउनुपर्दछ ।

त्यसै माथि नेपालको माटोमा आयोडिनको कमी हुनाले बाहिरी स्रोतबाट यो कमी पूरा गर्नुपर्ने हुन्छ । जनावर तथा मानव शरीरको वृद्धि र विकासका लागि आयोडिन नभई हुँदैन । मानिसको शरीरका अत्यन्त संवेदनशील अङ्गहरू– मस्तिष्क र सम्पूर्ण स्नायु प्रणालीलाई राम्ररी सञ्चालन गर्नका लागि आयोडिनको जरुरत पर्दछ भनी नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तरगतको स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य महाशाखाको पोषण विभागले स्पष्ट रूपमा तथ्य र कारण सहित सम्बन्धित सबैमा जानकारी सहितको निर्देशन दिएको छ । 

त्यसैले हाम्रा व्यापारीहरूले पनि हाम्रो गुणस्तरीय समानको उपभोग गर्न पाउने अधिकार हनन् गर्नु हुँदैन र नुन चोरी हुँदै भनी लापरवाह तरिकाले छोड्नु भन्दा पनि यो खानका लागी तयार पारिएको मानव स्वास्थ्य सँग प्रत्यक्ष जोडिएको सामग्री भएको हुँदा यसको उचित भण्डारणमा ध्यान पुर्‍याउनु पर्ने देखिन्छ ।    

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार