प्रधानाध्यापकको काम, कर्तव्य र अधिकार ?

अनि आफ्नो अधिकारको प्रयोग किन नगर्ने ?

प्रधानाध्यापकको काम, कर्तव्य र अधिकार ?

धनगढी : कुनै पनि सामान्य नागरिकलाई आफ्नो कामको चिन्ता हुन्छ, आफ्नो कार्य व्यस्तता, या मलाई के मतलब ? भन्ने खालका बेवास्ता पूर्ण प्रश्नहरू लगायतका कारणहरूले नेपाल सरकारको मातहतमा रही तलब खाने, कार्य सम्पादन गर्ने अथवा सार्वजनिक विषयहरूमा काम गर्ने कुनै पनि तहको कर्मचारीले के-के काम गर्न पाउँछ अथवा आफ्नो पद र प्राप्त जिम्मेवारीको आधारमा के-के गर्नु नै पर्ने हुन्छ भन्ने विषयमा सबै विस्तृत जानकारी नहुन सक्छ ।

आफूलाई अप्ठेरो नपर्दा सम्म आम मान्छेले सार्वजनिक पद धारण गरेको व्यक्तिको कार्य सम्पादन अथवा कुनै पनि सार्वजनिक कामहरू मा चासो दिएको देखिँदैन नेपाली परिवेशमा । यद्धपी कुनै पनि आम नागरिकले सार्वजनिक विषयहरूमा के-कसो भइरहेको छ भनी जानकारी लिन पाउने र खबरदारी गर्न पाउने अधिकार नेपालको संविधान अनुसार प्राप्त गरेको हुन्छ । भने जानकारी लिने र खबरदारी गर्ने आम जिम्मेवार नागरिकको कर्तव्य पनि हुन आउँछ । अनि आफ्नो अधिकारको प्रयोग किन नगर्ने ?

कहिले चासो र खबरदारी गर्ने इच्छा जागे पनि आफूलाई सम्बन्धित संस्था अथवा व्यक्तिले के-के गर्न पाउने, के गर्न हुने, के नहुने लगायतका विषयमा जानकारी र ज्ञान नहुँदा नबोल्नु पर्ने र नजरअन्दाज गर्नु पर्ने स्थिति हुन्छ, अथवा सम्बन्धित व्यक्ति, संस्थाको जिम्मेवारी कार्य, अधिकार क्षेत्र भन्दा बाहिरको काम गर्नु पर्छ, यो, यस्तो किन नगरेको भन्दै अर्थहीन तर्क गर्न तम्सीन्छौं । यदि साँच्चिकै हामीले हाम्रो समाज, गाउँ, सहर, देश जुनसुकै शब्दले बुझे पनि अवस्था परिवर्तन गर्ने हो, आफ्नै समय कालमा सकारात्मक परिवर्तन होस भनी चाहनु हुन्छ भने आफूले हरेक सार्वजनिक हितका काम, कर्तव्यहरूमा आवश्यक र उचित चासो देखाउन जरुरी छ । त्यसका लागी वास्तविक र नियम कानुन र तथ्य सङ्गत जानकारी, ज्ञान हुन जरुरी छ ।

हो त्यस्तै समस्यालाई मध्यनजर गरी नेपालको मौजुदा, वर्तमान अवस्थामा देशमा लागु भएको कानुनमा उल्लेख भएका विभिन्न तहका कर्मचारीहरू का लागी छुट्ट्याइएका काम दिइएको अधिकार बारे आजबाट केही फरक शैलीमा बुँदागत रुपमा तपाईँहरूलाई बुझ्न सहज हुने जानकारीमूलक सामग्रीहरू प्रकाशन गर्ने छौँ । जानकारी दिने छौँ । 

त्यसका लागी आउनुहोस् सोधपत्रडटमका गतिविधिमा सहयोग पुराउनुहोस्, जे तपाई सक्नु हुन्छ र सुझाव सल्लाह दिनुहोस् । तपाइले तयार पारेका सकारात्मक र तथ्यपरक लेख, रचना तथा विषय वस्तुहरू प्रकाशनको निमित्त इमेल ठेगाना news.sodhpatra@gmail.com मा सान्दर्भिक तस्बिर सहित पठाउनुहोस् ।  

सोही जानकारी दीने प्रयत्नको पहिलो अङ्कमा हामी आज कुनै पनि सरकारी/सामुदायिक शैक्षिक संस्थाको प्रधानाध्यापकको काम, कर्तव्य र अधिकार बारे जानकारी दिन गइरहेका छौँ । 

नेपालको कानुन अन्तरगत शिक्षा नियमावली २०५९ शिक्षा (आठौँ संशोधन) नियमावली, २०७१  शिक्षा ऐन, २०२८ को दफा १९ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले प्रधानाध्यापकको काम, कर्तव्य र अधिकार बारे देहायका नियमहरू बनाएको छ । 

प्रधानाध्यापकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः

(क) विद्यालयमा शैक्षिक वातावरण, गुणस्तर, अनुशासन कायम राख्ने,

(ख) विद्यालयका शिक्षक तथा कर्मचारीहरुसँग समन्वय गरी शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकहरु बीच पारस्परिक सहयोगको वातावरण सिर्जना गर्ने,

(ग) विद्यालयमा अनुशासन, सच्चरित्रता, शिष्टता कायम गर्न आवश्यक काम गर्ने,

(घ) शिक्षकहरुस“ग परामर्श गरी विद्यालयमा कक्षा सञ्चालन सम्बन्धी कार्यक्रम तयार गर्ने तथा त्यस्तो कार्यक्रम बमोजिम कक्षा सञ्चालन भए नभएको निरीक्षण गर्ने,

(ङ) विद्यालयमा सरसफाई, अतिरिक्त क्रियाकलाप आदिको प्रबन्ध गर्ने गराउने,

(च) विद्यालयको प्रशासनिक कार्यको सञ्चालन तथा नियन्त्रण गर्ने,

(छ) विद्यालयमा विद्यार्थी भर्ना गर्ने तथा परीक्षा सञ्चालन गराउने,

(ज) विद्यार्थीलाई स्थानान्तरण तथा अन्य प्रमाणपत्र दिने,

(झ) विद्यालयमा भए गरेका महत्वपूर्ण काम कारबाहीको अभिलेख राख्ने,

(ञ) कुनै शिक्षकले जानी जानी वा लापरवाही साथ कुनै काम गर्नाले विद्यालयलाई हानी नोक्सानी पर्न गएमा त्यस्तो हानी नोक्सानीको रकम तलबबाट कट्टा गरी असुल गर्ने,

(ट) विद्यालयले आफ्नै स्रोतमा नियुक्त गरेका शिक्षक वा कर्मचारीले पदीय जिम्मेवारी पूरा नगरेमा व्यवस्थापन समितिको सिफारिस बमोजिम अवकाश लगायतका अन्य विभागीय कारबाही गर्ने,

(ठ) शिक्षक र कर्मचारीलाई दिइएको सजायको अभिलेख राख्ने तथा त्यस्तो अभिलेख जिल्ला शिक्षा अधिकारी तथा निरीक्षकले हेर्न चाहेमा देखाउने,

(ड) शिक्षक तथा कर्मचारीहरुको आचरण र कार्य सम्पादन सम्बन्धी प्रतिवेदन जिल्ला शिक्षा कार्यालय तथा व्यवस्थापन समितिमा पेश गर्ने,

(ढ) शिक्षकलाई सजाय वा पुरस्कार दिने सम्बन्धमा व्यवस्थापन समिति तथा जिल्ला शिक्षा कार्यालयमा सिफारिस गर्ने,

(ण) महिनामा कम्तीमा एक पटक शिक्षकहरुको बैठक बोलाई विद्यालय सम्बन्धी विषयमा छलफल गरी त्यसको अभिलेख राख्ने,

(त) विद्यालयको स्रोतबाट तलव भत्ता खाने गरी नियुक्त भएका शिक्षक तथा कर्मचारीहरुको तलव सम्बन्धी प्रतिवेदन पारित गर्न व्यवस्थापन समितिमा पेश गर्ने,

(थ) विद्यालय भवन तथा छात्रावासको हाताभित्र कुनै किसिमको अभद्र व्यवहार हुन नदिने,

(द) विद्यालयको वार्षिक योजना बनाई व्यवस्थापन समितिबाट पारित गरी कार्यान्वयन गर्ने गराउने,

(ध) विद्यालयमा अध्ययन, अध्यापन सम्बन्धी मासिक, अर्ध–वार्षिक तथा वार्षिक कार्यक्रम बनाई कार्यान्वयन गर्ने गराउने,

(न) शिक्षकलाई तालीममा पठाउन व्यवस्थापन समितिबाट अनुमोदन गराई जिल्ला शिक्षा कार्यालयमा पठाउने,

(प) कुनै विद्यार्थीले विद्यालयभित्र अनुशासन भङ्ग गरेमा निजलाई निष्काशन गर्ने,

(फ) विद्यालयमा नेपाल सरकारबाट स्वीकृत पाठ्यक्रम तथा पाठ्यपुस्तक लागू गर्ने,

(ब) व्यवस्थापन समितिले दिएको निर्देशन तथा आफूले पाएको अधिकार बमोजिम रकम खर्च गर्ने र आय व्ययको हिसाब राख्ने तथा राख्न लगाउने,

(भ) विद्यालयमा सञ्चालन हुने आवधिक परीक्षा नियमित तथा मर्यादित ढ·बाट सञ्चालन गर्ने गराउने,

(म) कुनै शिक्षकले अध्यापन गरेको विषयमा लगातार तीन वर्षसम्म पन्ध्र प्रतिशत भन्दा बढी विद्यार्थी असफल भएमा वा कुनै शिक्षकले लापरवाही वा अनुशासनहिन काम गरेमा त्यस्तो शिक्षकको दुई वर्षसम्म तलब बृद्धि रोक्का गर्ने,

(य) विद्यालयमा दैनिक रुपमा मन्त्रालयले तोके बमोजिम कक्षा लिने तथा लिन लगाउने,

(र) नेपाल सरकारबाट स्वीकृत दरवन्दीमा नियुक्ति पाई कार्यरत रहेका शिक्षकको तलवी प्रतिवेदन पारित गर्न जिल्ला शिक्षा कार्यालयमा पठाउने,

(ल) आफ्नो मातहतका शिक्षक तथा कर्मचारीहरुको काम, कर्तव्य तोक्ने,

(व) जिल्ला शिक्षा कार्यालय तथा व्यवस्थापन समितिले दिएका निर्देशन पालन गर्ने गराउने,

(स) विद्यालयको शैक्षिक प्रगति सम्बन्धी विवरण तथा तथ्यांक मन्त्रालयद्वारा निर्धारित ढाँचा र समयभित्र निरीक्षकद्वारा प्रमाणित गराई जिल्ला शिक्षा कार्यालयमा पठाउने,

(ष) विद्यालयको आफ्नो स्रोतबाट खर्च बेहोर्ने गरी नियुक्त भएका शिक्षकहरुको कार्य सम्पादन मूल्यांकन फाराम भरी व्यवस्थापन समितिमा पेश गर्ने ।

स्रोतः नेपाल कानुन आयोग

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार