सगरमाथाको उचाइमा हिउँको गहिराइ कति ?

सगरमाथा

काठमाडौं : सगरमाथा चुचुरोमा हिउँको गहिराइ कति होला भन्ने विषय सधैं चासोमा पर्दै आएको छ। यसअघिका अध्ययन नतिजा असंगत र अनिश्चित रहँदा विश्वको सबैभन्दा दुर्गम र उच्चतम स्थानको हिउँको गहिराइ यकिन हुन सकेको थिएन। हालै गरिएको एक वैज्ञानिक अध्ययनले सो उल्झनको समाधान निकालेको छ। चिनियाँ वैज्ञानिकहरूले सगरमाथाको उत्तरी धारमा गरेको मापनले सगरमाथाको चुचुरोमा सरदरमा साढे ९ मिटर गहिरो हिउँ रहेको देखाएको छ। यसअघि विगत पाँच दशकमा भएका मापनले यो गहिराइ ०.९ देखि ३.५ मिटर रहेको मानिएको थियो।

सन् १९७५ मा चिनियाँ आरोहण दलले काठको चुच्चे लट्ठी (उडेन–स्टेक) को सहायताले गरेको मापनले हिउँको गहिराइ ०.९२ मिटर रहेको देखाएको थियो। यसैगरी सन् १९९२ मा इटाली र चीनको संयुक्त दलले स्टिल स्टेक हिउँमा घुसाएर गरिएको मापनले हिउँको गहिराइ २.५२ मिटर रहेको देखाएको थियो। तर हिउँको घनत्व, लटठीको लम्बाइ तथा खराब मौसममा व्यक्तिगत कारणले उचाइ मापनमा कठिनाइ रहँदै आएको थियो।

सन् २००५ मा रेडियो इको साउन्डिङ प्रविधिअन्तर्गत चिनियाँ पर्वतारोहण तथा सर्वेक्षण दलले राडार प्रयोगमार्फत गरेको मापनमा यो गहिराइ सरदरमा ३.५ मिटर रहेको देखिएको थियो। सन् २०१९ र २०२० मा नेपाली तथा चिनियाँ टोलीले राडार उपकरणकै सहायतामा हिउँको गहिराइ मापन गरे पनि नतिजा सार्वजनिक नगरिएको अनुसन्धानकर्ताको भनाइ छ।

गत वर्ष (सन् २०२२) अप्रिल र मे महिनामा जमिनभित्रसम्म जान सक्ने राडार प्रविधि (जिपिआर) का आधारमा गरिएको यो मापनले सगरमाथाको चुचुरोमा यसअघि ठानिएको भन्दा धेरै गहिराइसम्म हिउँ रहेको देखिएको हो।

युरोपियन जिओसाइन्स युनियन र द क्रायोस्फेयरको अनलाइन प्रकाशन कपर्निकस र वैज्ञानिक जर्नल नेचरमा हालै प्रकाशित अध्ययन नतिजाले यस्तो देखाएको हो। चीन तथा नेपालले संयुक्त रूपमा सन् २०२० मा सगरमाथाको उचाइ ८८४८.८६ मिटर घोषणा गरेका थिए तर टाकुरामा हिउँको गहिराइ ठ्याक्कै कति छ भनेर यकिन नहुँदा चट्टानको सही उचाइ ठम्याउन कठिनाइ हुने गरेको छ।

पृथ्वीको यो सर्वाधिक उचाइमा भिन्न ऋतृ र वर्षहरूमा हिउँको गहिराइ फरकफरक हुने गरेको छ। हिउँको तहमा हुने फरक, प्रकाशको परावर्तन (रिफ्राक्सन अफ लाइट) तथा गुरुत्वाकर्षण विचलन (ग्राभिटी डेभिएसन) लगायत कारणले सगरमाथाको वास्तविक उचाइ कति हो भन्ने विषय विवादित रहेको विज्ञ मान्छन्। पछिल्लो अध्ययनले सगरमाथाको उचाइसमेत परिवर्तन हुन सक्ने देखिएको छ।

यो अध्ययनअन्तर्गत चिनियाँ एकेडेमी अफ साइन्सअन्तर्गतको इन्स्टिच्युट अफ तिबेटन प्लेटो रिसर्चका वैज्ञानिकहरूले ७ हजार मिटरभन्दा माथि उचाइमा चट्टानको सतह र हिउँको गहिराइको फरक पत्ता लगाउन विभिन्न २६ बिन्दुहरूमा मापन गरेका थिए। यी मापनले सरदरमा साढे ९ मिटर हिउँको गहिराइ रहेको देखाएको हो। नतिजामा १.२ मिटर तलमाथि हुन सक्ने उनीहरूको ठम्याइ छ।

‘हाम्रो मापनले आश्चर्यजनक हिसाबले हिउँको सरदर गहिराइ ९.५ मिटर रहेको देखाएको छ। यो पहिले अनुमान गरेभन्दा धेरै गहिरो रहेको देखिएको छ,’ इन्स्टिच्युट अफ तिबेटन प्लेटो रिसर्चका प्राध्यापक याङ वेले क्रायोस्फेयरको वेबसाइटमा राखिएको एक भिडियोमा भनेका छन्। उनले हिउँको घनत्व, मापन बिन्दुहरूबीचको दुरी तथा उच्चतम उचाइजस्ता कारणले यसअघिका अध्ययनमा समस्या रहेको बताएका छन्। -आजको नागरिक दैनिकबाट

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार