विपत् पूर्वतयारी गर्न निर्देशन

सिगास ५ मा सेतिले बितण्डा मच्चायो
फाइल फोटो

हेटौँडा :  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेशमा विपत् पूर्वतयारी गर्न निर्देशन दिनुभएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा मङ्गलबार भएको बैठकमा उहाँले विपत् आउनु अगाडि नै प्रभावित हुन सक्ने क्षेत्र पहिचान गरेर तयारी गर्न निर्देशन दिनुभएको हो। 

उहाँले प्रदेश सरकार मातहत मकवानपुर, नुवाकोट र काभ्रेमा रहेका गोदाम घर चालु अवस्थामा राख्न पनि निर्देशन दिनुभयो। बैठकमा मनसुनजन्य विपत् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८० र प्रदेश विपत् व्यवस्थापन कोषको रकम खर्च गर्ने सम्बन्धमा छलफल भएको थियो। 

जिल्ला विपत् व्यवस्थापन समिति र स्थानीय विपत् व्यवस्थापन समितिको समन्वयमा आवश्यकता र औचित्यका आधारमा विपत् व्यवस्थापन कोष परिचालन गर्ने, विपत् पहिचान भएका स्थानीय तहमा पूर्वतयारी गर्ने निर्णय भएको हो। खोज उद्धार र राहत, आवास पुनर्निर्माण र पुनस्र्थापनाका लागि प्रदेश सरकारले रकम उपलब्ध गराउने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिनुभयो। बैठकमा प्रदेशका मन्त्री, प्रदेश सभाका सदस्य, प्रदेश सरकारमा सचिवहरूको सहभागिता रहेको थियो।

बाइस हजार घरधुरी प्रभावित हुने 

बागमती प्रदेशमा बाढी तथा पहिरोबाट लगभग २२ हजार घरधुरी र ९७ हजारभन्दा बढी जनसङ्ख्या प्रभावित हुन सक्ने अनुमान गरिएको छ। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो १० वर्षको तथ्याङ्क अनुसार यो प्रदेशमा २४३ वटा बाढीका घटनामा ९६ जना मानिसको मृत्यु, ३९ जना घाइते  र ५८ जना बेपत्ता भएका छन्। गत वर्ष यो प्रदेशमा भएका १३ वटा बाढीका घटनामा दुई जनाको मृत्यु भएको थियो। नौ वटा घर पूर्ण रूपमा क्षति हुँदा ९२ लाख ७३ हजार रुपियाँ बराबरको क्षति भएको थियो।

गत वर्षको बाढीको घटना अनुसार यसको प्रभाव असारदेखि कात्तिकसम्म हुने गरेकोमा साउन महिनामा सबैभन्दा धेरै प्रभावित हुने गरेको तथ्याङ्क छ। गत वर्ष भक्तपुर जिल्लामा सबैभन्दा बढी बाढी आएको र यसबाट ५७ लाख रुपियाँ बराबरको क्षति भएको थियो। यस प्रदेशमा बाढीबाट मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, काठमाडौँ, रसुवा, काभ्रेपलाञ्चोक र रामेछाप प्रभावित हुने गरेको तथ्याङ्क छ। 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार