विश्व स्तनपान सप्ताह प्रारम्भ, स्तनपान के हो ?

विश्व स्तनपान सप्ताह प्रारम्भ, स्तनपान के हो ?

काठमाडौं : विश्व स्तनपान सप्ताह नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। यो दिवस हरेक वर्ष अगष्ट १ देखि ७ तारिखसम्म सप्ताहव्यापी रूपमा मनाइन्छ। स्तनपानको महत्त्वबारे जानकारी दिन एक सातामा विविध कार्यक्रमको आयोजना गरिँदै आएको छ।

यस वर्ष ‘स्तनपान गरौँ , काम गरौँ’ भन्ने नारासहित यो दिवस मनाइँदैछ। कार्यस्थलमा स्तनपानका लागि सुरक्षित वातावरण निर्माण गर्ने र स्तनपान गराइरहेका आमाका लागि बिदाको व्यवस्था गर्ने आवश्यकताबारे यस वर्षको नारा तय गरिएको छ।  विश्व स्वास्थ्य सङ्गठन र युनिसेफले सरकार र रोजगारदातालाई आमाहरूलाई स्तनपान गराउन आवश्यक समय, ठाउँ र समर्थन प्रदान गर्ने परिवार अनुकूल नीति लागू गर्न आह्वान गर्दै आएको छ।

स्तनपानलाई शिशुको सबैभन्दा पुरानो र पहिलो खोप समेत भन्ने गरिन्छ। दूधमा रोग निरोधक तत्व हुन्छ जसले नवजात शिशुको रोगसँग लड्नसक्ने क्षमता विकसित गर्न मद्दत गर्दछ। चिकित्सकका अनुसार शिशुलाई जन्मेको एक घण्टामा स्तनपान गराउनुपर्छ। 

शिशुलाई छ महिनासम्म स्तनपान मात्र गराउनु पर्दछ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभर छ महिनामुनिका ४४ प्रतिशत शिशुलाई मात्र स्तनपान गराइन्छ। यस्तै, स्तनपानको अभ्यासलाई सुधार गरिएमा वार्षिकरूपमा आठ लाख २० हजार शिशुको ज्यान जोगाउन सकिन्छ। स्तनपान नगराउँदा वार्षिक झण्डै तीन सय खर्ब रकम खर्च हुने अनुमान गरिन्छ।

स्तनपानले शिशु र आमा दुवैको स्वास्थ्यमा फाइदा पुग्ने गर्छ। शिशुको वृद्धि, विकास र रोगप्रतिरोधात्मक क्षमताको विकासका लागि स्तनपान महत्त्वपूर्ण हुनेगर्छ।  चिकित्सकका अनुसार स्तनपानले शिशुलाई कष्ट र तनावबाट समेत मुक्त गराई आराम प्रदान गर्दछ। 

दिगो विकासको लक्ष्य प्राप्तिका लागि स्तनपान एक प्रमुख आधार हो। कुपोषण घटाउनका लागि स्तनपानले महत्त्वपूर्ण भूमिका खेल्छ।    

नेपाल सरकारले शिशु तथा बालबालिकाको खाद्य पदार्थको अनुचित प्रवर्द्धनको अन्त्य गर्न विश्व समुदायमा प्रतिबद्धता गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण गर्ने र सार्वजनिकस्थल तथा स्वास्थ्य संस्थामा स्तनपान कक्ष स्थापनाका लागि काम गर्दै आएको छ।

स्तनपान सप्ताह को उद्देश्य
जीवनको पहिलो ६ महिनाको लागि पूर्ण स्तनपान लाई बढवा दिने लक्ष्य लिएर आएको यस साताव्यापी उत्सवको उद्देश्य नयाँ आमाबुबाहरूको बिच जागरूकता पैदा गर्न र संसारभरमा शिशु स्वास्थ्यमा सुधार गर्नु नै हो।

स्तनपान के हो ?
सामान्यतया शिशुलाई आफ्नै आमाको दूध चुसाउनु नै स्तनपान हो। नवजात शिशुको आधारभूत अधिकारका रूपमा लिइने स्तनपान लाई सुरुवाती या प्रारम्भिक अनि पूर्ण गरी दुई भागमा वर्गीकरण गर्न सकिन्छ ।

 प्रारम्भिक स्तनपान
शिशु जन्मेको एक घण्टाभित्र आमाको दूध ख्वाउन सुरु गर्नु नै प्रारम्भिक स्तनपान हो । यसो गर्नाले शिशुले दूध चुस्ने क्षमता प्राप्त गर्नुका साथै शिशुको शरीरमा ग्लुकोजको कमी हुनबाट पनि बचाउँछ। साथै बच्चा जन्मेदेखि केही दिनसम्म आउने पहेँलो प्रकारको बिगौती दूधमा रोगसँग लड्न सक्ने प्रतिरक्षा क्षमता धेरै हुने भएकोले बच्चालाई रोग लाग्नबाट समेत बचाउने हुँदा यसलाई शिशुको पहिलो प्राकृतिक खोप पनि भनिन्छ।

पूर्ण स्तनपान
शिशु जन्मेदेखि ६ महिनासम्म आमाको दूध मात्र खुवाउनु नै पूर्ण स्तनपान हो। शिशुको लागि आवश्यक पर्ने पानी, मिनिरल, ग्लुकोज तथा अन्य भिटामिन र रोग प्रतिरक्षात्मक तत्त्व समेत आमाको दूधमा नै प्राप्त हुने भएकोले अन्य कुनै पनि किसिमको थप खाना ख्वाउन आवश्यक हुँदैन।

पूर्ण स्तनपान का फाइदाहरू
६ महिनासम्म स्तनपान गराउँदा शिशुहरूको शारीरिक र मानिसक वृद्धि र विकासका लागि सहयोग पुग्दछ।

पूर्ण स्तनपान गराएका बच्चाहरूको दिमागी क्षमता अन्य बच्चाभन्दा तीक्ष्ण हुने हुन्छ। सङ्क्रामक रोगबाट बच्ने र आर्थिक भार पनि नपर्ने तथा आमाको स्वास्थ्यमा समेत सकारात्मक फाइदा भएकोले स्तनपान अमृत समान हुन पुगेको छ।

दीर्घकालीन रूपमा बच्चाको मृत्युदर घटाउन समेत स्तनपान को भूमिका रहेको छ। शिशु ६ महिना पुग्न साथ आमाको दूधका साथसाथै पोसिलो थप आहार ख्वाउन थाल्नु पर्दछ र कम्तीमा दुई वर्षसम्म थप आहारका साथ स्तनपान लाई पनि निरन्तरता दिनु पर्दछ।

वर्ष २०२३ को स्तनपान सप्ताह को नारा
यस वर्ष जागिरे या काम गर्ने दम्पतीलाई ध्यानमा राख्दै स्तनपान र काममा जानुपर्ने आमाबुवा बिचको अफ्ठेरोलाई कम गर्न नारा तय गरिएको छ । “Enabling breastfeeding: making a difference for working parents.

स्तनपान सम्बन्धी कानुनी व्यवस्था
– सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ को परिच्छेद ३ को दफा १३ मा उल्लेख गरिएको प्रसूति बिदाको अधिकार भित्र नवजात शिशुलाई स्तनपान प्रवर्द्धन र सहजीकरणको लागि ९८ दिन पूर्ण तलबी बिदाको व्यवस्था गरेको छ भने आवश्यक परेमा चिकित्सकको राय सल्लाहअनुसार बढीमा एक वर्षसम्म बेतलबी बिदा पाउने अधिकारको व्यवस्था गरेको छ।
– सबै प्रकारको सरकारी, गैर सरकारी वा निजी सङ्घ-संस्थाले आफ्नो कार्यालयमा कार्यरत महिलालाई शिशु जन्मेको दुई वर्षसम्म कार्यालय समयमा आमाको दूध खुवाउनको लागि आवश्यक व्यवस्था मिलाउनु पर्ने उल्लेख छ।
– हरेक कार्यालय, स्कुल, बस, पार्क र एयरपोर्ट जस्ता स्थानमा छुट्टै स्तनपान कक्ष हुनु पर्ने व्यवस्था गरेको छ।
– स्तनपान नवजात शिशुको लागि नैसर्गिक अधिकारको रूपमा परिभाषित गरिएको छ।
– स्तनपान लाई/आमाको दूधलाई प्रतिस्थापन गर्ने सबै प्रकारका तयारी खाना/वस्तु बिक्री वितरण नियन्त्रण ऐन २०४९ र नियमावली २०५१ मा उल्लेख भएको प्रावधानहरू।
– प्रसूति गृह वा अस्पतालहरूमा प्रारम्भिक स्तनपान लाई प्रवर्द्धन तथा स्थापित गर्न मातृ शिशुमैत्री कक्षको व्यवस्था गर्नु पर्नेछ।

हालको स्तनपान को स्थिति
नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले नेपालमा पूर्ण स्तनपान दर घटेको तथ्याङ्क सार्वजनिक गरेका थियो । सन् २०२२ को मङ्सिर महिनामा प्रकाशित अध्ययनअनुसार सन् १९९६ मा प्रतिमहिला ७५ प्रतिशतले पूर्ण स्तनपान गराउँथे भने अहिले घटेर ५६ प्रतिशत पुगेको तथ्याङ्कले देखाएको छ।

इसै गरी उक्त अध्ययनका अनुसार स्तनपान का साथै नेपालमा प्रजनन दर आधाले घटेको तथ्याङ्कले देखाएको छ।
सर्वेक्षणले नेपालमा प्रजनन दर आधाले घटेर २।१ मा झरेको देखाएको छ। सन् १९९६ मा प्रतिमहिला ४।६ बच्चा जन्माउँथे। नेपालमा औसतमा दुई सन्तान हुने गरेका छन्।
बच्चालाई स्तनपान गराउँदा सुन्दरता घट्छ या स्तनपान भन्दा प्याकेटका खानेकुराहरू नै राम्रो भन्ने कुतर्क अझै पनि समाजमा पाइन्छ । यसका अलावा काम गर्ने आमाहरू र स्तनपान मैत्री संरचना नुहुन पनि घट्दो स्तनपान दरको कारक हो ।

स्तनपान जीवनको अभिन्न चरण हो, सबै जनाले यस विषयमा ख्याल गरौँ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार