कार्यकर्ता सम्बन्धी नीति, व्यवस्थापन र मूल्याङ्कन बारे !

क्रान्तिकारी कम्युनिस्ट पार्टीका कैलाली संयोजक प्रकाश रावल

कुनै पनि राजनैतिक पार्टीको सञ्चालनको लागि कार्यकर्ताको निर्णायक भूमिका हुने गर्दछ । कार्यकर्ताको सही मूल्याङ्कन, परिचालन, र रेखदेख हुन सकेन भने त्यो पार्टीले सफलता पाउन सक्दैन । एउटा जिवको लागी मेरुदण्डको जुन भूमिका हुन्छ, पार्टीको जीवनमा पनि पार्टीका कार्यकर्ताले त्यति नै महत्व राख्दछन ।

असल र ईमान्दार कार्यकर्ता भएको पार्टीले निरन्तर प्रगती गर्दछ भने असल र ईमान्दार कार्यकर्ता नभएको पार्टीले सफलता प्राप्त गर्न सक्दैन । पार्टी कार्यकर्ता कस्तो बनाउने ? तिनीहरूको परिचालन कसरी गर्ने ? कार्यकर्ताको संरक्षण, विकास र मूल्याङ्कन कसरी गर्ने भन्ने सम्बन्धमा सही निती बन्न सकेन भने योग्य र ईमान्दार कार्यकर्ता पंक्ती निर्माण हुन सक्दैन । योग्य र ईमान्दार कार्यकर्ता नभएको पार्टीले आफ्ना निती र निर्णयहरू लाई जनताको माझ लिएर जान सक्दैन । त्यस्तो पार्टीले जनताको विश्वास प्राप्त गर्न सक्दैन । कार्यकर्ताले कम्युनिस्ट पार्टीको लागी मात्रै होइन सबै किसिमका संगठन र पार्टी विकासको लागि महत्वपूर्ण भूमिका खेलेका हुन्छन । कमरेड माओले भन्नुभएकोछ कार्यकर्ताले सबै थोकको निर्णय गर्दछन ।

यसले के देखाउँछ भने यथार्थ रूपमा भन्ने हो भने पार्टी कार्यकर्ता नै पार्टी पार्टी संचालनका मुख्य वाहकहरू हुन । विश्वका या नेपालका सबै राजनीतिक पार्टीहरूको सफलता र असफलताको लागि पनि कार्यकर्ताको भूमिका अवश्य पनि महत्वपूर्ण छ । जुन पार्टीले कार्यकर्ता निर्माण,परिचालन, र पदोन्नतिको सही निती लिन सक्यो त्यस पार्टीलाई सफलता प्राप्त भएको छ जुन पार्टीले त्यसमा यथोचित ध्यान पुर्‍याउन सकेन त्यस पार्टीको उधोगती भएको छ । पार्टीको क्रान्तिकारी उद्देश्यका लागी कार्यकर्ता पार्टीको मेरुदण्ड र जनताका लागी जनस्वयमसेवक हुन जरूरी छ । त्यस कारण यो लेख विशेष गरि क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालले लिनु पर्ने कार्यकर्ता निती संग सम्बन्धित हुनेछ ।

  • कस्तो हुनुपर्छ कार्यकर्ता निती ?


पार्टी कार्यकर्ता नितीको मूल चूरो भनेको कार्यकर्ताको सर्वोत्तम उपयोग गर्नु हो । कार्यकर्ताको सर्वोत्तम उपयोग गर्नको लागि उसका समग्र पक्षको जानकारीको आवश्यकता पर्दछ । मानिसको सम्पूर्ण पक्षको ज्ञान विना उसका राम्रा नराम्रा कमजोर र बलिया पक्षको बारेमा जानकारी हुँदैन । सही कार्यकर्ता नितीको लागि निम्न कुरामा बिशेष जोड दिनु आवश्यक छ ।

सबै मानिसका भिन्न भिन्न अनुभव, ज्ञान रूचिहरू हुने गर्दछन । सबै कार्यकर्ता बाट एकै प्रकारको गुणको खोजी गरियो भने त्यो बस्तुवादी हुन सक्दैन । मानिसका विशेषताहरू भिन्न भिन्न हुन्छन भन्ने कुरालाई विर्सियो भने कि हामी सबै लाई राम्रो मात्र देख्ने गल्ती गर्दछौ भने, की त सबैलाई खराब मात्रै देख्ने गल्तीको सिकार हुन सक्छौ । कुनै न कुनै क्षमता र गुण नभएको मानिस हुँदैन । उसमा रहेका क्षमता,योग्यता,अनुभव र विशेषताको समग्र जानकारी लिएर ज्ञान र रूचि अनुसारको काममा परिचालित गर्न सकेमा मात्रै पार्टीले कुनै पनि कार्यकर्ता बाट अधिकतम लाभ लिन सक्छ । कार्यकर्ता बारेमा जानकारी नलिई उस प्रतीको दृष्टिकोण बनाईन्छ भने त्यो गलत हुन सक्छ । बेठिक भनि चित्रण गरिएको मानिस पनि सकारात्मक रूपमा लिइयो भने त्यसको सही उपयोग हुन सक्छ । जस्तो उदाहरणको लागि कसैलाई हामी त्यो घमन्डी छ भनेर दुत्कार्दछौ, कसैलाई कातर हुनु र शङ्कास्पद काम गर्नु अनुचित कुरा नै हुन । तर घमन्डी भनिएको मानिसमा आफ्नो योग्यता,अनुभव र विशेषज्ञता प्रतीको आत्मविश्वास लाई कतै हामीले घमन्डी भनिरहेका त छैनौं यस्तो विषयमा ध्यान जानु पर्दछ ।

त्यस्तो व्यक्तिलाई उसको विशेषज्ञताको विषयमा बढी जिम्मेवारी दिएर काममा आधारमा सही मूल्याङ्कन गर्न सक्यो भने पार्टीलाई बढी लाभ हुन सक्छ । बलियो पक्षको अधिकतम उपयोग गर्ने र हठीपनाको आलोचना गर्ने गरियो भने आफ्ना कमजोरीलाई त्यो व्यक्तिले कामको लामो यात्रामा आफैले हटाउन सक्छ तर घमन्डीको विल्ला लगाई दिएर जिम्मेवारी दिईएन भने न त्यो व्यक्तिले आफूलाई सुधार्ने मौका नै प्राप्त गर्दछ न पार्टीले त्यो व्यक्तिको विशिष्ट ज्ञान लाई उपयोग नै गर्न सक्दछ । त्यस्तै कातर व्यक्तिको कुरा गरौं, जसलाई हामी कातर भनेर अपहेलना गर्दछौ, त्यो व्यक्तिमा रहेको होसियारी लाई त कातर भनिरहेका छैनौं अथवा कातर भनिएका व्यक्तिलाई बढी होसियारी अपनाउनु पर्ने काममा लगाइयो भने त्यसमा सफलता प्राप्त हुन सक्दछ । त्यस्ता व्यक्तिहरू बाट सूचना संकलन, भित्री योजनाको निर्माण,सूचनाको प्रसारण, बैठक भेलाको आयोजना दस्तावेज लेखन, अध्ययन जस्ता काममा लगाईयो भने उपलव्धीमूलक काम हुन सक्छन । कातर भनेर अपहेलना मात्र गरियो भने पार्टीलाई अधिकतम घाटा हुन सक्छ । त्यस्ता कुरामा यथोचित ध्यान दिईदैन ।

त्यस्तै विभिन्न मानिस संग सम्पर्क भएको मानिसलाई संकास्पद व्यक्तिको रूपमा चित्रित गर्ने गरिन्छ र त्यस्तो व्यक्तिलाई पार्टीका जिम्मेवार नेताहरूले विश्वास नगर्ने कामको जिम्मेवारी नदिने समस्या छन । कुनै पनि कार्यकर्ता लाई कसैले भनेको सुनेको आधारमा मात्र उसको बारेमा धारणा बनाउन हुदैन । कार्यकर्ता लाई जिम्मेवार र सृजनशील बनाउन उनीहरूलाई यथोचित जिम्मेवारी दिने र कामका आधारमा शही मूल्याङ्कन गर्न जरुरी छ हुन्छ । विना आधार आलोचना नगर्ने मात्र होइन आलोचना संयमित,शिष्ट,सन्तुलित र सुधारको विकल्प सहितको हुन पर्दछ । आलोचनामा निन्दायुक्त मनसाय राखीनु हुदैन,एकातिर भने अर्को तिर कार्यकर्ताको वैचारिक र सांगठनिक स्तरको ख्याल गरिनु पर्दछ ।

आफ्नो हरेक निर्देशन लाई अक्षरमा पालना गरिने माग गर्नु उचित हुँदैन । निर्देशन आवश्यक ठाउँमा मात्र गरिनुपदर्छ, हरेक काममा कार्यकर्तालाई आफ्नो विवेकको सही प्रयोगको अवसर दिइनुपर्दछ । गल्ती बाट सिक्ने व्यावहारिक तरिकाबाट कार्यकर्ता लाई समृद्ध बनाउने तरिका अप्नाईनु पर्दछ । उत्साहित,कर्मनिष्ठ, क्षमतावान,अग्रसरता लिन सक्ने सृजनशील र रचनात्मकताको कौशल भएका कार्यकर्ता निर्माणका लागि उनीहरूमा भरोसा गर्ने र आवश्यक ठाउँमा दिशानिर्देश गर्ने तरिका अवलम्बन गर्नु आवश्यक छ । यसले आत्मनिर्भर कार्यकर्ताको विशाल पंक्ती निर्माण हुनेछ, त्यही पंक्तीले पार्टीलाई जनताको विशाल पंक्ती स्थापित गराउने छ, क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल संग विशाल कार्यकर्ता पंक्ती छ तर तिनीहरूको अधिकतम उपयोग हुन सकेको छैन यस मामलामा तुरुन्तै ध्यान दिनु जरुरी ।

  • कार्यकर्ताको रेखदेख तथा व्यवस्थापन बारे :

कार्यकर्ताको हेरचाह,संरक्षण र बढुवा जस्ता बिषय एकदमै महत्वपूर्ण बिषय हुन । आमा बाबुले आफ्नो छोराछोरीको हितमा जसरी ध्यान दिने गर्दछन् कार्यकर्ताको जीवनको लागि पनि पार्टीले त्यसरी नै ध्यान दिन जरुरी छ । पार्टीको हितको लागि जस्तो सुकै बलिदान गर्न पछी नपर्ने कार्यकर्ता नै पार्टीका वास्तविक मेरुदण्ड हुन । उनीहरूको सर्वोपरि हितको पक्षमा पार्टीले त्यसरी नै पार्टीले योजना बनाउनु पदर्छ । कार्यकर्ता संग सन्तुलित व्यावहार र उसको राजनैतिक ईमान्दारीता तथा पेशागत योग्यताको सर्वोपरि मूल्याङ्कन गर्नु पर्दछ । कहिले एकदमै माथी पुर्याउने र कहीले एकदमै तल खसाल्ने गर्नु हुदैन ।

कार्यकर्ताको कमजोरी हेरेर बस्ने र ठूलो गल्ती गरे पछी कडा सजाय गर्नाले पार्टीलाई ठूलो नोक्सान हुन्छ । कार्यकर्ताको हरेक व्यवहारमा सधैंभ ख्याल गर्ने र समय समयमा उसका कमजोरीको लागि उचित सल्लाह दिने गर्नुपर्दछ । कार्यकर्ताको जीवनमा आई पर्ने विभिन्न समस्याको सम्बन्धमा व्यवस्थित योजना बनाएर समाधानका उपायहरू खोज्नु पर्दछ । नेतृत्वले समस्यालाई ध्यान पूर्वक सुन्ने र समाधान गर्न गम्भिरताको साथ लाग्नु पर्दछ । देश,जनता र क्रान्तिलाई नै सबैभन्दा महान चीजहरू भनेर हिडेका कार्यकर्ता बाट हुन सक्ने गल्तीको कारण पार्टी बाट निष्कासन गर्ने जस्ता बिषयमा निकै ध्यान दिनु पर्दछ ।

यस्तो अवस्थामा ठूलो नोक्सानी हुन सक्ने तर्फ पनि ध्यान जानुपर्दछ । कार्यकर्ताको बारेमा आउने विभिन्न आरोपहरूको बारेमा पनि गहिरो जांचपडताल गरिनुपर्दछ,प्रमाणित तथ्यलाई आधार बनाएर मात्रै कार्वाही गर्नु उचित हुन्छ । कार्वाही गर्दा उसको सुधारलाई नै केन्द्रबिन्दु बनाउनु पदर्छ । गल्तीको सम्बन्धमा विवेकयुक्त निर्णय गरिनुपर्दछ । कम्युनिस्ट पार्टी निष्पक्ष छ र यसका नेताले कुनै पनि आग्रहपूर्ण व्यावहार गर्दैनन भन्ने कुरामा कार्यकर्तालाई विश्वस्त तुल्याउन सक्नु पर्दछ । यसको लागि वर्तमान गल्तीको क्षतिपूर्ति विगतको प्रशंसनीय कार्य गर्न सक्छ र वर्तमान र अतीतका गल्तीको क्षतिपूर्ति भविष्यको योगदान गर्न सक्दछ भन्ने मान्यतालाई आत्मविश्वास गर्नुपर्दछ । गल्तीलाई कुनै कार्यकर्तालाई समाप्त पार्ने अवसरको रूपमा प्रयोग गर्ने तरिका अत्यन्तै हानिकारक हुन्छ । कार्यकर्तालाई भुट्टा आस्वासन दिने प्रशंसा गर्ने, कमजोरी पर्दा हाल्ने जस्ता कामहरू नेतृत्व बाट हुनु हुँदैन । कार्यकर्ताको वेवास्ताले पार्टी कमजोर बनाउँछ ।

नेतृत्वले ध्यान दिनु पर्ने कुराहरू : 

कार्यकर्ताको व्यवस्थित अध्ययन आजको आवश्यकता हो । व्यवस्थित अध्ययनले कार्यकर्ताको समग्र पक्षको ज्ञान पार्टीलाई हुनेछ । जो अगाडी आयो त्यही कार्यकर्ता नेता बनाउने वर्तमान अवस्था बाट मुक्त नहुने हो भने भएका कार्यकर्ता पनि गुम्ने खतरा छन र पार्टी आफ्नो लक्ष्यमा पुग्न सक्ने छैन । समग्र जानकारी भएको कार्यकर्ताको बढुवा र जिम्मेवारीको लागि सजिलो हुनेछ । पार्टीमा पक्षपात हुनेछैन, विभिन्न क्षमता भएका कार्यकर्तालाई उचित जिम्मेवारी दिन सकेमा देशभरको संगठनको काममा रक्तसञ्चार गर्न सकिनेछ ।

कार्यकर्तालाई व्यवस्थित सहायता गर्ने उचित शिक्षादीक्षा दिने, विवेकसंगत ढङ्गले नियन्त्रीत र परिचालित गर्ने,आँट, उत्साह भर्ने र सही दिशा निर्देश गर्ने काम गर्नु आवश्यक हुन्छ । यहाँ चर्चा गरिएको कार्यकर्ताको नितीको कुरा गर्दा सामान्य रुपमा हेर्दा एउटा पार्टी सञ्चालनको लागि मात्रै हो जस्तो लागे पनि देश चलाउनको लागी पनि उक्तिकै लाभदायक हुनेछ । जुन पार्टी कार्यकर्ताको सही निती बनाउन सक्दैन त्यो पार्टीले देश चलाउनमा सफलता पाउने सम्भावना झनै हुँदैन ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल नेपाली राजनीतिको परिवर्तनकारी आन्दोलनको अगुवा गर्ने पार्टी भएकोले पार्टी कार्यकर्ताको सही निती बनाउने र लागु गर्ने पार्टी पनि यही हुनुपर्दछ । कार्यकर्ता नितीको बारेमा पार्टीको व्यवस्थित कार्ययोजना बनाउन ढिलो गर्नुहुँदैन । अहीले हाम्रो पार्टी लगायत देशका अन्य पार्टीले पनि जे जती समस्या पार्टीको आन्तरिक जीवनमा भोगिरहेका छन, धेरै हदसम्म कार्यकर्ता नितीको प्रस्टताले समस्या बाट मुक्त हुनेछन । यो बिषयलाई पार्टीको आन्तरिक प्रशिक्षणको एक महत्वपूर्ण बिषयको रूपमा तत्काल समावेश गर्नु आवश्यक छ ।।।

– यो आलेख क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कैलाली संयोजक प्रकाश रावलको हो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार