धरानमा निषेधाज्ञा घोषणा, अनावश्यक हिँडडुल र भेला गर्न नपाइने

धरानमा निषेधाज्ञा घोषणा, अनावश्यक हिँडडुल र भेला गर्न नपाइने

काठमाडौं : जिल्ला प्रशासन कार्यालय सुनसरीले धरान उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। डेंगु रोगको बढ्दो संक्रमण तथा पछिल्लो समय धरान केन्द्रित भएर बढेको साम्प्रदायिक ‘गतिविधि’लाई मध्यनजर गर्दै निषेधाज्ञा जारी भएको हो। 

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले शुक्रबार राति १२ बजेदेखि शनिबार राति १२ बजेसम्मका लागि धरानमा निषेधाज्ञा घोषणा गरिएको जानकारी दिइन्। निषेधाज्ञाको अवधिमा धरान प्रवेश गर्ने नाका समेत सिल गरिनेछ। यद्यपि धरान भएर अन्यत्र क्षेत्र र जिल्ला जाने सवारीका साधनलाई सुरक्षाकर्मीको स्कर्टिङमा गन्तव्यतर्फ पठाउने व्यवस्था गरिने बताइएको छ।

प्रमुख जिल्ला अधिकारी पाण्डेका अनुसार धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम बाटो बराहक्षेत्र नगरपालिका–१ मा पर्ने झण्डा चोकदेखि धरानतर्फको क्षेत्र र धरान प्रवेश गर्ने पश्चिम–दक्षिण रामधुनी नगरपालिका–६ बाट बराहक्षेत्र नगरपालिका–३ चोकबाट धरानतर्फको क्षेत्रमा निषेधाज्ञा गरिएको छ। यस्तै, इटहरी उपमहानगरपालिका– २० तरहरा पानीपियादेखि उत्तर धरानतर्फको क्षेत्र,  धरान उपमहानगरपालिका– ५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटाको साँगुरीगढी गाउँपालिका– ६ भेडेटारबाट धरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ। 

निषेधाज्ञा गरिएको क्षेत्रमा अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरी बाहेक अन्य अनावश्यक कामका लागि हिँडडुल र भेला गर्न पाइने छैन। यस्तै, धरान उपमहानगरका सबै वडामा सामुहिक रुपमा गरिने सामाजिक, धार्मिक, राजनीतिक सभा, र्‍याली, भेला, प्रदर्शनलगायतका कुनै पनि कार्यक्रमहरु गर्न पाइने छैन। 

निषेधाज्ञाको उल्लंघन गर्नेलाई स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कारबाही गरिने जिल्ला प्रशासन कार्यालय सुनसरीले चेतावनी दिएको छ।

केही दिन अगाडि धरानमा गोरु काटेर खाएको र मन्दिर अगाडि चर्च बनाएको भन्दै हिन्दुवादी संघ–संगठनहरुले शनिबार त्यहाँ विरोध प्रदर्शनको आह्वान गरेका छन्। हिन्दु संघ–संगठनले गर्ने प्रदर्शनका क्रममा हुनसक्ने सम्भावित घटनालाई लिएर प्रशासनले निषेधाज्ञा जारी गरेको हो। 

पछिल्लो समय धरानमा डेंगु रोगको संक्रमण बढेर अवस्था जटिल बन्दै गएको छ। धरानमा हाल १६ हजार भन्दा बढीमा डेंगुको संक्रमण देखिएको छ। डेंगुको संक्रमणबाट धरानमा १२ जनाको मृत्यु समेत भएको छ। 

डेंगु संक्रमणको भयावह स्थितिलाई मध्यनजर गर्दै  जिल्ला विपत् व्यवस्थापन समिति, सुनसरीको बैठकले धरान उपमहानगरपालिकालाई डेङ्गी संक्रमण नियन्त्रणमा नआउन्जेल सम्मलाई ‘जनस्वास्थ्य आपत्‌कालीन अवस्था’ क्षेत्र घोषणा गर्न सिफारिस गरेको थियो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार