आङ सान सुचीलाई स्वास्थ्य सेवाबाट वञ्चित गरिएको आरोप

अस्वस्थ नेत्री सुचीलाई स्वास्थ्य सेवाबाट वञ्चित गरिएको आरोप

सैनिक हिरासतमा रहेकी  म्यान्मारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुचीलाई स्वास्थ्य सेवाबाट वञ्चित गरिएको आरोप उनका कान्छा छोराले लगाएका छन्।

दाँतको गम्भीर समस्याबाट पीडित ७८ वर्षीया नेत्रीलाई आपत्कालीन स्वास्थ्य सेवाबाट वञ्चित गरिएको उनका छोरा किम एरिसले बताएका हुन्। बिरामी आमालाई स्वास्थ्य सेवा उपलव्ध गराउन सैन्य सरकारसमक्ष कारागारका अधिकारीहरूले गरेको अनुरोधलाई सैनिक नेतृत्वले रोकेको किमले बताए। 

दाँत र गिजाको गम्भीर समस्याका कारण केही दिनदेखि अस्वस्थ भइ खान नसक्ने अवस्थामा पुगेको उनले बिबिसीलाई जानकारी दिए। उनी न्युन रक्तचाप(ब्लड प्रेसर लो)बाट पनि पीडित छिन्। कारागार स्रोतले पनि नेत्री सुची भोजन गर्न असमर्थ भएकी बताएको छ। यद्यपि एक सैन्य प्रवक्ताले उनको स्वास्थ्यमा समस्या नभएको तथा सैनिक एवं गैरसैनिक चिकित्सकहरूबाट नियमित रुपमा  स्वास्थ्य परीक्षण एवं उपचार भइरहेको दाबी गरेका छन्। उनको दाँतको दुखाई कम गर्ने उद्देश्यले नरम खाना र औषधियुक्त जेली खुवाइएको बताइएको छ।
 
सन् २०२१ को फेब्रुवरीमा सैन्य विद्रोहपछि सत्ताच्युत गरिएकी नेत्री सुचीलाई सोही समयदेखि हिरासतमा राखिएको छ। सैनिक शासनको विरोधसँगै म्यान्मा गृहयुद्धमा प्रवेश गरेपछ हजारौँले ज्यान गुमाएका छन्। यो हिंसाका घटना बढिरहेका छन्। गत जुलाईमा उनलाई राजधानी नेपीट जेलबाट नजरबन्दमा सारिएको थियो तर नोबेल पुरस्कारबाट सम्मानित सुचीलाई कहाँ राखिएको छ भन्ने स्पष्ट छैन। 

बेलायतमा बस्दै आएका एरिसले आफ्नी आमाले वान्ता गरिरहेकी र मुर्छा पर्ने गरेको जनाउँदै उपयुक्त चिकित्सा सेवाबाट बिरामीलाई वञ्चित गर्नु क्रूरताको पराकाष्ठा भएको टिप्पणी गरेका छन्। उनले आमाको बिग्रंदो स्वास्थ्यले जीवन नै जोखिममा पर्नसक्ने भन्दै चिन्ता व्यक्त गरे।

देशका सबै राजनीतिक दलहरूको गठबन्धन सम्मिलित म्यान्माको निर्वासित राष्ट्रिय एकता सरकारले अन्तरराष्ट्रिय समुदायलाई नेत्री सुची जस्ता राजनीतिक बन्दीहरूलाई उचित उपचार सेवा उपलब्ध गराउन सैनिक शासकलाई दबाब दिन आग्रह गरेको छ।

विश्वका धेरै नेताले उनलाई निःशर्त रिहा गर्न माग गरेका छन्। साथै उनीहरूले पक्राउ गरिएका विपक्षीलगायत सबैलाई हिरासतमुक्त गर्न आह्वान गरेका छन्। मङ्गलबार इन्डोनेसियाको राजधानी जकार्तामा सुरु भएको दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन (आसियान)को द्विवार्षिक शिखर सम्मेलनमा म्यान्माको राजनीतिक सङ्कटलाई लिएर गम्भीर चिन्ता व्यक्त गरिएको थियो। 

आसियान नेताहरूले त्यहाँ जारी हिंसाको लागि म्यान्माका सैन्य अधिकारी जिम्मेवार रहेका भन्दै उनीहरूको निन्दा गरेका थिए। प्रजातान्त्रिक सरकारलाई अपदस्थ गरेपछि शिखर सम्मेलनमा म्यान्मालाई आमन्त्रित नगरेको यो दोस्रो वर्ष हो। अघिल्लो वर्ष पनि म्यान्मालाई आमन्त्रण गरिएको थिएन। मङ्गलबारको बैठकमा आसिन नेताहरूले म्यान्मा सङ्कट समाधानका निम्ति गत वर्ष सैन्य सरकारलाई दिइएको पाँचुबँदे मार्गचित्र कार्यान्वयन नगरेमा त्यसको पनि आलोचना गरेका थिए। 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार