कहाँ जाँदैछ समाज ? रक्सी खाएर मातेका व्यक्तिले कञ्चनपुरमा ड्युटीमा रहेका स्वास्थ्यकर्मीलाई कुटे

कहाँ जाँदैछ समाज ? रक्सी खाएर मातेका व्यक्तिले कञ्चनपुरमा ड्युटीमा रहेका स्वास्थ्यकर्मीलाई कुटे

कञ्चनपुर : कञ्चनपुरको बेलौरी नगरपालिकास्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा मंगलबार राति एक जना स्वास्थ्यकर्मीमाथि आक्रमण भयो।

स्वास्थ्य केन्द्रको आकस्मिक कक्षमा बिरामीको उपचार गरिरहेका अहेब नरेन्द्रप्रसाद गैरेमाथि हातपात भएको थियो। मंगलबार राति साढे ११ बजे ड्युटीमा रहेको अवस्थामा आफूमाथि कुटपिट भएको पीडित स्वास्थ्यकर्मी गैरेलेबताए।

उनले भने, ‘म बिरामीको उपचार गर्दै थिएँ। रक्सी खाएका ४/५ जना आकस्मिक कक्षमै आए। तीमध्ये एक जनाले घाँटी समाउँदै कुटपिट गरे।’ राति भएको घटनामा प्रहरी पनि सँगै भए पनि घटनापछि आफूमाथि कुटपिट गर्ने रामु भनिने रामबहादुर खड्काले स्वास्थ्य केन्द्रको इन्चार्जलाई समेत धम्क्याउँदै गएको पीडित स्वास्थ्यकर्मीले बताए। कुटपिटबाट गैरेको आँखा, टाउको र घाँटीमा समस्या देखिएको छ।

उनी थप उपचारका लागि धनगढीतर्फ जाँदैछन्। घटनाको विषयमा प्रहरीमा ठाडो उजुरी दिइसकेको भए पनि दोषीलाई हालसम्म पक्राउ नगरिएको पीडित स्वास्थ्यकर्मीले बताएका छन्। घटनाबारे गैरेको भनाइ उनकै शब्दमा मंगलबार मेरो नाइट ड्युटी थियो। राति साढे ११ बजे म आकस्मिक कक्षमा ड्युटीमा थिएँ। एउटा दुर्घटनाको केस आएको थियो।

मादक पदार्थ सेवन गरी लडेर चोट लागेको अवस्थामा एम्बुलेन्समा ल्याइएको बिरामी आकस्मिक कक्षमा थियो। दुर्घटनाका बिरामीको सामान्य शल्यक्रिया गर्ने क्रममा मैले अस्पतालमा ती घाइते ल्याउनेहरुलाई ग्लोब्स किन्न पठाएँ। म ती बिरामीको शल्यक्रिया गर्ने तयारीमा थिएँ। त्यही क्रममा आकस्मिक कक्षमै ४/५ जनाको समूह आइपुग्यो। उनीहरुले मादक पदार्थ सेवन गरेका थिए। उनीहरुले स्वास्थ्य केन्द्रको अध्यक्ष र इन्चार्जको नम्बर मागे। म बिरामीको शल्यक्रिया गर्न ग्लोब्स लगाएको अवस्थामा थिएँ। उनीहरुलाई मोबाइल निकालेर नम्बर दिन सक्ने अवस्थामा थिइनँ। मैले हातमा ग्लोब्स लगाएको छु, अहिले नम्बर दिन सक्दिनँ। तपाईंहरुसँग पनि नम्बर होला। बाहिर गएर फोन गर्नुस् भनेँ। त्यसपछि एक जनाले म माथि हातपात गर्न थाले। मेरो घाँटीमै समाएर मलाई कुटपिट गर्न थाले। राति उनीहरुकै गाउँको एम्बुलेन्स स्वास्थ्य केन्द्रमा आएको देखेर मादक पदार्थ सेवन गरेको अवस्थामा उनीहरु स्वास्थ्य केन्द्रमा आएका रहेछन्।

ममाथि कुटपिट हुँदा बजारमा ड्युटीमा खटिएका दुई जना प्रहरी पनि स्वास्थ्य केन्द्रमै आइपुगेका थिए। प्रहरीले ममाथि कुटपिट भएको हेरिरहे, केही पनि गर्न सकेनन्। कुटपिट भएपछि त्यहाँ भएको प्रहरीले थप प्रहरी बोलायो। तर प्रहरीको समूह आउँदासम्म उनीहरु हिँडिसकेका थिए। उनीहरुले हाम्रो स्वास्थ्य केन्द्रका इन्चार्ज गोविन्दबहादुर विष्टलाई समेत धम्क्याएर गए। कसलाई फोन गर्छौ गर, प्रहरी, सिडिओ जसलाई गरे पनि गर भनेर धम्क्याएर गए। ममाथि भएको घटनाको विषयमा प्रहरीमा आज ठाडो उजुरी दिइसकेका छौं। जिल्ला प्रशासन कार्यालय र प्रहरीमा जाहेरी पनि दिने तयारी भइरहेको छ। ममाथि कुटपिट गर्नेको नाम रामु भनिने रामबहादुर खड्का हुन्।

बेलौरी नगरपालिका-२ का हुन् उनी। उनलाई अहिलेसम्म प्रहरीले समातेको छैन। ममाथि कुटपिट गर्नेलाई कारबाही प्रक्रिया अघि नबढेसम्म भोलिदेखि हामीले उहाँ अनिश्चितकालीन बन्दको घोषणा गरेका छौं। मेरो घाँटी थिचेर कुटपिट गरेकाले स्वास्थ्यमा समस्या देखिएको छ। त्यसैले अहिले म धनगढीमा थप उपचारको लागि जाँदैछु। घाँटीमा रातो भएको छ। खानेकुरा निल्न पनि गाह्रो भएको छ। घाँटी दुखेको छ, यताउता घुमाउन भएको छैन। मलाई गाह्रो भइरहेको छ। –स्वास्थ्य खबरबाट

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार