दसैँ आयो : खाऊँला पिऊँला तर कस्तो हुन्छ, सन्तुलित आहार ? 

सरी खाने सन्तुलित आहार

दसैँ भन्नेबित्तिकै हाम्रो मनमा एउटै कुरा आउँछ– दसैँ आयो, खाऊँला पिऊँला । यो भन्नुको मतलब सबै परिवार जम्मा भएर मीठो–मीठो परिकारहरू खानु हो । दसैँ धेरै मीठो परिकार खाने पर्वको रूपमा पनि चिनिन्छ । 

तर, पछिल्लो समय दसैँ मनाउने चलन परिर्वतन हुँदै गएको छ । पहिला ‘संयुक्त परिवार’ हुन्थ्यो, जहाँ एकै घरमा १५ देखि २० जनासम्म हुन्थे । र, उनीहरूले एउटा खसी काटेर खाँदा ठिक्क मात्र हुन्थ्यो । अहिलेको कुरा गर्ने हो भने धेरैजसोको सानो परिवार हुन्छ । उनीहरूले आ–आफ्नो घरमा खसी काट्छन् । अथवा उनीहरूले धेरै मासु किनेर ल्याउँछन् । त्यही मासु घरका ४/५ जनाले खान्छन् । 

यसरी थोरैले धेरै मासु खान थालेका छन् । अर्को भनेको धेरै मानिसहरू घरबाहिर गएर खाने प्रचलन बढ्दै गएको छ । यस्ता कुराहरूले जुन किसिमले दसैँ मनाइन्थ्यो, त्यो अहिलेको अवस्थामा छैन । 

हामी दसैँको खानालाई हामी सन्तुलित बनाउन सक्छौँ । त्यसका लागि मासुलाई मात्र प्रथामिकतामा राख्नु हुँदैन । मासु खानुपर्छ, तर त्यसको मात्रा मिलाएर मात्र खानुपर्छ । मासुसँगै सलादमा काँक्रा, गाँजर, मुलाहरू खानुपर्छ । अनि तरकारीको मात्रा पनि त्यस्तै मिलाएर खानुपर्छ । 

यो सबै कुरा मिलाएर खाएको अवस्थामा त्यो सन्तुलित आहार हुन जान्छ । तर, मासुलाई मात्र एकदमै महत्त्व दिएर मासु मात्र खान थाल्यो भने त्यसले स्वास्थ्यमा हानि पुर्‍याउन सक्छ । 

कस्तो हुन्छ, सन्तुलित आहार ? 

सामान्यतया खाना खाने प्लेटलाई चारवटा खण्डमा विभाजन गर्नुपर्छ । सोहीअनुसार एक खण्डमा भात । अर्को खण्डमा दाल र मासु हुनुपर्छ । र, बाँकी दुईवटा खण्डमा तरकारी र सलाद हुनुपर्छ । यसरी खान सकियो भने त्यसलाई हामी सन्तुलित आहार भन्ने गर्छौं । सन्तुलित आहारमा मासु मात्र नभएर तरकारी, कार्बोहाइड्रेट (भात वा रोटी) हुनुपर्छ । 

त्यस्तै, दसैँ भनेको रातो मासुको प्रयोग धेरै हुने पर्व हो । फेरि सबैले रातो मासु नै खान्छन् भन्ने पनि छैन । कतिपयले चिकेन पनि खान्छन् । कोही शाकाहारी पनि हुन सक्छन् । यो मान्छेअनुसार फरक हुने गर्छ । 

रातो मासुको कुरा गर्दा यो खानै नहुने होइन । तर, मुटु, कोलेस्टेरोल, युरिक एसिडलगायत समस्या भएका व्यक्तिहरूले रातो मासुको सेवन गर्दा उनीहरूलाई असर गर्न सक्छ । तर, दसैँमा मासु खानेहरूले खसीको मासु खान खोज्ने हुँदा त्यस्ता व्यक्तिहरूले एक, दुई पिस खान सक्छन् । र, त्योसँगै तरकारी, सलाद र ब्यायाम भने छोड्नु हुँदैन । 

शारीरिक व्यायाम भएको छैन । घरमा बसेर खाने मात्र गरिरहनुभएको छ भने त्यसले नराम्रो गर्न सक्छ । 

दसैँपछि देखिने समस्या 

दसैँमा सन्तुलित आहारको सेवन नगर्दा तत्काल भन्दा पनि त्यसको असर केही समयपछि देखा पर्नेगर्छ । धेरैजसो व्यक्ति कोलेस्टेरोल, उच्च रक्तचाप, युरिक एसिड, फ्याटी लिभर, मोटोपनलगायतका समस्याहरू देखिन थाल्छन् । तर, मोटोपन बिस्तारै देखिन्छ । अझै पहिल्यैबाट मोटोपन भएका व्यक्तिहरूमा अझै बढ्न सक्छ । 

यो समयमा धेरै मानिसहरू आफ्नो स्वास्थ्यप्रति सचेत हुँदैनन् । खाने भनेकै यही बेला हो भनेर आवश्यकताभन्दा बढी खाने गर्छन् । यसो हुँदा मधुमेहका बिरामीहरूमा पनि समस्या निम्तिन सक्छ । 

त्यसैले दीर्घरोगीलगयात स्वास्थ्यमा विभिन्न समस्या भएका व्यक्तिहरूले सलाद, तरकारी धेरै खानुपर्छ । पाएजति मासु खानु हुँदैन । र, नियमित रूपमा ब्यायाम गर्न आवश्यक हुन्छ । सामान्यतया दसैँको बेला मानिसहरू सबै कुराबाट आराम लिइरहेका हुन्छन् । जसले गर्दा दिनभर टेलिभिजन, मोबाइल चलाएर बसिरहेका हुन्छन् । 

यस कारण ब्यायाम नियमित गर्ने र खाना समयमा खाने गर्नुपर्छ । तर, खानामा मात्रा भने मिलाएर खानुपर्छ । अनि मात्र स्वास्थ्यमा समस्या हुँदैन । तर, जतिबेला पनि खाएको खायै गरेमा त्यसले स्वास्थ्यमा अप्ठ्यारो भने पार्न सक्छ । 

लेखक प्रणिती सिंह पोषणविद् हुन् । भने याे लेख पिहलाेपटक शिलापत्रमा प्रकाशीत भएकाे हाे ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार