धनगढी : एक जना बिरामीको ज्यान जोगाउन अस्पताल र चिकित्सकले कतिसम्म मेहनत गर्नुपर्छ र मानवीय सेवाको भावना कस्तो हुनुपर्छ भन्ने एउटा अनुकरणीय उदाहरण धनगढी स्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले प्रस्तुत गरेको छ। विगत दुई वर्षदेखि अस्पतालको शय्यामा मृत्युसँग लडिरहेकी डडेल्धुराकी बन्दना लिम्बु अन्ततः निको भएर बिहीबार घर फर्किएकी छन्।
लामो समयको उपचारका क्रममा लागेको ठुलो खर्चमध्ये अस्पतालले साढे ३१ लाख रुपैयाँ बराबरको शुल्क पूर्ण रूपमा मिनाहा गरिदिँदै उनलाई नयाँ जीवन र खुसीका साथ बिदाइ गरेको हो।
त्यो भयानक दुर्घटना र उपचारको सुरुवात :
बन्दनाको यो पीडादायी यात्रा वि.सं. २०८१ साल साउन ३१ गतेबाट सुरु भएको थियो। घर नजिकैको सडकमा साइकल सिक्ने क्रममा अचानक लडेर उनी गम्भीर घाइते भएकी थिइन्। दुर्घटना लगत्तै बेहोस भएकी बन्दनालाई सुरुमा प्रारम्भिक उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको थियो। तर, टाउको र शरीरका अन्य भागमा गम्भीर चोट लागेका कारण त्यहाँ थप उपचार सम्भव नभएपछि सोही दिन एम्बुलेन्समार्फत निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर, धनगढीमा रिफर गरिएको थियो।

अस्पताल भर्ना भएको भोलिपल्टै अर्थात् साउन ३२ गते उनको पहिलो जटिल शल्यक्रिया (सर्जरी) गरियो। त्यसयता उनको ज्यान जोगाउन अस्पतालले आफ्नो सम्पूर्ण जनशक्ति र प्रविधि परिचालन गर्यो। उपचारका क्रममा उनको स्वास्थ्य अवस्था हेरी हालसम्म २ वटा ठुला (मेजर) र केही साना (माइनर) शल्यक्रियाहरू सफलतापूर्वक सम्पन्न गरिएको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर, धनगढीका अध्यक्ष तीर्थराज पन्तले जानकारी दिए।
१ वर्ष ११ महिना १ दिनको संघर्ष र नयाँ जीवन :
बन्दनाको उपचार कुनै सहज थिएन। उनले अस्पतालको आईसीयू, वार्ड र पुनर्स्थापना कक्षमा गरी कुल १ वर्ष ११ महिना १ दिन (करिब दुई वर्ष) व्यतीत गरिन्। यस अवधिमा उनलाई विशेषज्ञ चिकित्सकहरूको चौबीसै घण्टा प्रत्यक्ष निगरानी, सघन नर्सिङ केयर, निरन्तर फिजियोथेरापी र मानसिक तथा शारीरिक पुनर्स्थापना (रिह्याबिलिटेसन) सेवा प्रदान गरिएको थियो।
अस्पतालको निरन्तरको प्रयास, उचित चिकित्सकीय व्यवस्थापन र बन्दना स्वयंको बलियो आत्मबलका कारण उनको स्वास्थ्यमा चमत्कारिक सुधार आयो। अन्ततः आज असार ३२ गते उनी स्वस्थ भएर आफ्नो घर फर्किने अवस्थामा पुगेको अस्पतालका न्युरो सर्जन डाक्टर सन्देश दाहालकाे भनाइ छ ।
३१ लाख ५७ हजार रुपैयाँ उपचार खर्च मिनाहा :
लामो समयसम्म अस्पतालमा राखेर जटिल उपचार गर्दा सामान्य परिवारका लागि आर्थिक भार धान्न नसकिने हुनु स्वाभाविक नै हो। बन्दनाको परिवारको नाजुक आर्थिक र पारिवारिक अवस्थालाई मध्यनजर गर्दै निसर्ग हस्पिटल प्रशासनले एउटा ठुलो र मानवीय निर्णय गर्यो।
उपचारबापत लाग्ने कुल रकममध्ये बाँकी रहेको ३१ लाख ५७ हजार रुपैयाँ बराबरको सम्पूर्ण उपचार खर्च अस्पतालले पूर्ण रूपमा मिनाहा (छुट) गरिदिएको छ। हस्पिटल प्रशासनका अनुसार यो निर्णय कुनै सस्तो लोकप्रियता वा विज्ञापनका लागि नभई स्वास्थ्य सेवाको वास्तविक मानवीय दायित्व, सामाजिक उत्तरदायित्व र विशुद्ध सेवा भावको प्रकटीकरण भएको अस्पताल व्यवस्थापन पक्षले जानकारी दिएको छ ।
अस्पतालबाट ह्विलचेयर उपहार :
बन्दनालाई अस्पतालबाट डिस्चार्ज गर्ने क्रममा घरमा पनि दैनिक जीवनयापन र आवतजावत सहज होस् भनी अस्पतालको तर्फबाट एक थान आधुनिक र आरामदायी ह्विलचेयर समेत उपहारस्वरूप हस्तान्तरण गरिएको छ।
यस सुखद क्षणमा निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले बन्दनाको लामो उपचार प्रक्रियामा अहोरात्र खटिने विशेषज्ञ चिकित्सक, नर्स, सहयोगी स्वास्थ्यकर्मी, सहयोगीदाता, सञ्चारकर्मी तथा सद्भाव राख्ने सबैप्रति हार्दिक आभार प्रकट गरेको छ।
बन्दनाकाे बुवा आमाको मनमा मलहम लगाउने भरत:
बन्दनाकाे उपचारकै क्रममा परिवारले आर्थिक अभाव भोग्दै गर्दा सुदूरपश्चिममा साइकल यात्रीका रूपमा परिचित पर्यटन कर्मी फारवइष्टर्न राइडर भरतविक्रम शाहले आफ्नो सामाजिक सञ्जालमार्फत सहयोगका लागि आह्वान गरी ५ लाख बढी रकम विभिन्न दाताहरू बाट सहयोग रकम जुटाइ हस्तान्तरण गरेका थिए । उनी कोमल हृदय भएका एक सुदूर चिनाउने अभियानमा निरन्तर प्रयासरत युवा हुन् ।

के भन्छन् बन्दनाका आमा बुवा ?
अस्पतालले आयोजना गरेको उक्त कार्यक्रममा निकै भावुक र केही लज्जित देखिएका लिम्बु दम्पतीले अस्पताल परिवार, उपचारमा संलग्न डाक्टर एवं सम्पूर्ण सहयोगी दाताहरू प्रति साधुवाद व्यक्त गरेका छन् । उनीहरू ले कार्यक्रममा बोल्दै भने, ‘अहिले हामीहरू धेरै बोल्न सक्ने अवस्थामा छैनौ । अस्पताल परिवार एवं सहयोग गर्ने सबैलाई आर्सीवाद छ । धन्यवाद छ ।’
अन्तमा अस्पतालको दाबी अनुसार तत्काल देखिएको परिदृश्य:
व्यावसायिकीकरणको चपेटामा परेको भनिएको वर्तमान स्वास्थ्य क्षेत्रमा निसर्ग हस्पिटलले देखाएको यो आत्मीयता, धैर्यता र सेवा भावले चिकित्सा क्षेत्रप्रतिको जनविश्वासलाई अझ बलियो बनाएको छ। झन्डै दुई वर्षसम्म एउटै बिरामीलाई अस्पतालमै राखेर उपचार गर्नु र लाखौँको बिल मिनाहा गरिदिनुले ‘नाफा मात्रै अस्पतालको ध्येय होइन, मानवीय सेवा नै मुख्य धर्म हो’ भन्ने सन्देश प्रवाह गरेको छ।







You must be logged in to post a comment.