महिनावारी हुँदा महिलालाई बाटो बन्द

महिनावारी हुँदा महिलालाई बाटो बन्द
तस्बिर: प्रित शाह

बाजुरा : बाजुराका अधिकांश ठाउँमा महिनावारी हुँदा महिलालाई बाटो बन्द हुने गरेका छन्  । बाजुराका अधिकांश स्थानीय निकायमा महिनावारी भएका महिलालाई मठमन्दिर नजिकमा रहेका बाटो बन्द हुने गरेका हुन् । 

मठमन्दिर नजिकमा रहेका बाटोमा हिँडेपछि अनिष्ट हुन्छ भन्दै यहाँका धामीझाँक्रीले रिसाउन थालेपछि महिनावारी भएका महिलाका लागि बाटो बन्द हुने गरेको बूढीगङ्गा नगरपालिका –१० तिमाडाका स्थानीय नाम ९परिवर्तन० राधिका विकले बताए ।

उनले भने, “महिनावारी भएका महिलाले मन्दिर नजिकमा रहेको बाटोमा हिँड्दा धामीझाँक्रीले देवता रिसाउँछ भन्ने डर देखाउन थाले पनि यहाँका महिला महिनावारी हुँदा ती बाटोमा नहिँड्ने नगरेका हुन् ।”

महिनावारी भएपछि आफूलाई गाउँका अधिकांश गोरेटो बाटोमा हिँडडुल गर्न  वञ्चित गरिएको छ, उनले भने, “आफूले ती बाटोमा जबरजस्ती हिँड्न खोजे पनि गाउँका अगुवा र धामीझाँक्रीले यसले देवता छोयो भन्दै आफूसित रिसाउने गर्छन् ।”

गाउँ नजिकै काला पातलको मन्दिर छ, त्यसै बाटोबाट यहाँका स्थानीयहरू आउजाउ गर्छन् । तर महिनावारी भएका महिलाहरूले भने त्यो बाटोमा हिँड्न नपाएको विकले बताए । छाउप्रथा अन्त्यका लागि जिल्लामा हुने गरेका विभिन्न कार्यक्रमले सेला पाखा , बदेडा , तिमाडाका गाउँबस्तीमा भने कुनै प्रभाव नपारेको विकले बताए ।

यहाँका महिलाहरूले महिनावारी हुँदा मिठो खान त के उनीहरूले राम्रो ठाउँमा सुत्न समेत पाएका छैनन् । यहाँका महिलालाई दूध, दही ,मही लगायतका पोसिला खाने कुरा खानसमेत दिँदैनन् । 

महिनावारी भएका महिलाहरूलाई दुहुनो गाई, भैँसीको शरीरमा छुनसमेत मिल्दैन ।  कोही कसैले जबरजस्ती गरी छोयो भने पनि गाई बिरामी भयो, नब्याउने हुन्छ भनेर त्यो महिलालाई जरिवाना गर्दछन् । 

महिनावारी भएका बेला महिलाहरूले गाई , भैँसीको शरीरमा छोयो भने सुनपानीले छर्केर भैँसीलाई चोख्याउने गरेको विक बताउँछन् ।छाउप्रथा अन्त्य गर्नका लागि नै दुई वर्षभन्दा पहिला बाजुराका विभिन्न ठाउँमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका थिए ।

तर ती कार्यक्रमले पैसा मात्र खर्च गर्यो प्रथा भने उही रहेको तिमाडाका स्थानीय महिला राधिका विक बताउँछन् ।२०७६ सालमा बुढीनन्दा नगरपालिकाको –९ पाण्डुसैनमा छाउगोठमा सुत्दा आमा दुई छोरासहित तीन जनाको ज्यान गएको थियो ।

त्यसपछि छाउप्रथा कुप्रथा हो भन्दै बाजुराका विभिन्न स्थानीय निकायमा छाउप्रथा उन्मूलन कार्यक्रम सञ्चालन गरिएको थियो । त्यो अभियानले बाजुरामा नौ वटै स्थानीय निकायमा रहेका झन्डै ५११ वटा छाउगोठ भत्काएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ  ।

यता गोठ भत्किए पनि यहाँका स्थानीयको मानसपटलमा छाउप्रथा कायम रहँदै गएपछि अहिले यसले व्यापकता लिँदै गएको हो ।छाउप्रथा कागजी रूपमा हटे पनि व्यवहारमा लागु नहुँदा बाजुराका अधिकांश महिलाहरूले फेरि पनि ज्यान गुमाउनुपर्ने अवस्था सृजना भएको छ ।

स्थानीय सरकारले यस्तो कुप्रथाका लागि कानुनीरुपमा कारबाही नगर्दा सम्म यो प्रथा कायमै रहने विकले भन्नुभयो । महिनावारी हुँदा देवताको डरले घर भन्दा धेरै टाढा छाउगोठमा सुत्दा गाउँका कयौँ दिदिबहिनीहरु बलात्कृत भएकी छन् । धेरैको जीवन बरवाद भयो । तर पनि यो प्रथा गलत हो भन्ने कुरामा गाउँमा कसैको ध्यान नजाँदा अहिलेका बालिकाहरूले  दुख भोग्नुपरेको छ  ।

महिनावारी भएका महिलाहरूलाई घरकै कोठामा बस्न र दही मही जस्ता पोसिला खानेकुरा खान नदिने गाउँका धामीझाँक्रीलाई कानुनी रूपमा कारबाही नगर्दासम्म यहाँका महिलाहरूले यो पीडा जीवनभर सहँदै जानुपर्ने विकले बताए ।यता स्थानीय निकाय भने गाउँमा पुन निर्माण भएका छाउगोठ भत्काउने अभियान सुचारु गर्ने योजना रहेको बताउँछन् । –गोरखापत्रबाट

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार