संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको लुम्बिनी भ्रमणको तयारी

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको लुम्बिनी भ्रमणको तयारी

रूपन्देही । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको बुद्धजन्मस्थल लुम्बिनीमा हुने भ्रमणको तयारी थालिएको छ । नेपालको चार दिने भ्रमणका क्रममा कात्तिक १४ गते बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणका लागि समय तय भएपछि लुम्बिनी विकास कोषले तयारी सुरु गरेको हो ।

कोषले शनिबार लुम्बिनी साँस्कृतिक नगरपालिका, भिक्षु भिक्षुणीसहित सरोकारवालाहरुसँग बैठक गरी महासचिव गुटेर्रसको भ्रमणलाई भव्य बनाउनेबारे छलफल भएको छ । महासचिव गुटेर्रस प्रधानमन्त्री पुष्पकमल दाहालको निमन्त्रणमा कात्तिक १२ (अक्टोबर २९) मा नेपाल आउने तय भएको हो ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष, संविधानसभा सदस्य डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले महासचिव गुटेर्रसको लुम्बिनी भ्रमण भव्य बनाउने गरी तयारीमा जुट्न आग्रह गरे । महासचिवको भ्रमणले लुम्बिनीबाट विश्वशान्तिको सन्देश विश्वभर दिन सकिने उनले बताए । महासचिव गुटेर्रसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संगै लिएर आउनेछन् ।

१४ गते विहान ८ः३५ बजे गौतमबुद्व अन्तराष्ट्रिय विमानस्थल आईपुग्ने र त्यहाँबाट हेलिकप्टरमा सिधै लुम्बिनी आउने प्रारम्भिक कार्यक्रम बनेको छ । महासचिव गुटेर्रसलाई हेलिप्याडदेखि चार नम्बर गेट, शान्तिदिप हुँदै मायादेवी मन्दिरसम्म जाने बताइएको छ ।

बैठकमा कोषका कोषाध्यक्ष सिद्विचरण भट्टराई, लुम्बिनी सांस्कृतिक नगरपामलिकाका प्रमुख सजरूद्विन खान, उपप्रमुख कल्पना हरिजन, कोषका सदस्यसचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, वरिष्ठ निर्देशक ज्ञानिन राई लगायतको उपस्थिति रहेको थियो ।

यसअघि महासचिव गुटेर्रसले अक्टुबर १३ देखि १५ सम्म नेपाल भ्रमण गर्ने कार्यतालिका तय भएको थियो। तर, अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछि उक्त भ्रमण स्थगित गरिएको थियो । गुटेर्रसले कात्तिक १४ गते संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यतालिका पनि तय भएको छ ।

महासचिव गुटेर्रस सन् १९९५ देखि २००० सम्म पोर्चुगलका प्रधानमन्त्री थिए । संयुक्त राष्ट्रसङ्घको महासचिवका रूपमा उनको यो दोस्रो कार्यकाल हो । उनी पहिलो कार्यकालका लागि सन् २०१६ मा महासचिवमा नियुक्त भएका थिए ।

यसअघि सन् २००८ संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव वान की मुनले नेपाल भ्रमण गरेका थिए । त्यतिखेर पनि मुनले लुम्बिनी भ्रमण गरेका थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार