६० वर्षको अवधिमा सुदूरपश्चिममा १ हजार १४७ वटा झोलुङ्गे पुल निर्माण

६० वर्षको अवधिमा सुदूरपश्चिममा १ हजार १४७ वटा झोलुङ्गे पुल निर्माण

धनगढी: नेपाल सरकारले स्वीस सरकार विकास सहयोगको तर्फबाट झोलुङ्गे पुल सहयोग ईकाइ, हेल्भेटासको प्राविधिक सहयोगमा सुदूरपश्चिममा १ हजार १४७ वटा झोलुङ्गे पुल निर्माण गरेको छ। मङ्गलवार धनगढीमा आयोजित झोलुङ्गे पुल फोटो प्रदर्शनीमा सुदूरपश्चिममा थप ३६९ वटा झोलुङ्गे पुल निर्माणको चरणम  रहेको बताइएको छ।

वि.स. २०१७ देखि स्वीस सरकार विकास सहयोग एसडिसीको प्राविधिक सहयोगमा नेपालमा झोलुङ्गे पुल कार्यक्रम अगाडि बढेको हो। ६० वर्षको अवधिमा नेपालमा दश हजारभन्दा बढी झोलुङ्गे पुल निर्माण गरेर नयाँ इतिहास बनाइएको छ। निर्माण भएका पुलहरूबाट भौगोलिक हिसाबले छुट्टिएका स्थानीय समुदायलाई जोड्ने, मानिसहरूको सुरक्षित आवतजावत, स्थानीय उत्पादनहरूको बजारसम्म पहुँच, स्वास्थ्य र अन्य सेवामा पहुँच विस्तार भएर सर्वसाधारणको दैनिकी सहज भएको झोलुङ्गे पुल सहयोग इकाई सुदूरपश्चिमका व्यवस्थापक जुनतारा बुढामगरले बताए। उनले दातृ निकायको प्राविधिक सहयोगबाट झोलुङ्गे पुल निर्माण गर्ने हाम्रो देश नेपालले एसिया, ल्याटिन अमेरिका र अफ्रिकन देशमा पनि प्रविधि हस्तान्तरण गरिरहेको बताए।

यातायात पूर्वाधार निर्देशनालयका निमित्त निर्देशक जगतप्रसाद जोशीले कार्यक्रमको कार्यान्वयन झोलुङ्गे पुल रणनीति २०६२ अनुसार भइरहेको बताए। उनले छोटो तरिको पुल निर्माण  स्थानीय गैरसरकारी संस्थाको सामाजिक तथा प्राविधिक सहयोगमा उपभोक्ता समितिहरूबाट  र लामो तरिको पुल प्रचलित ऐन/ नियमानुसार ठेक्कापट्टा प्रक्रिया मार्फत कार्यान्वयन भइरहेको बताए।

निमित्त निर्देशक जोशीले आर्थिक वर्ष २०७९/०८० मा सुदूरपश्चिम प्रदेशमा १ लाख ८१ हजार ७६ व्यक्ति दिनको हिसाबले रोजगारी सिर्जना भएको बताए। साथै, उनले प्रदेश सरकारले  सेवा खरिद गरेको प्रदेशस्तरीय प्राविधिक सेवा प्रदायक संस्था (पीटीएपी) बाट झोलुङ्गे पुल निर्माणमा प्रदेश र स्थानीय तहहरूलाई प्राविधिक सहायता भइरहेको बताए।स्वीस सरकारको प्राविधिक सहयोग यहीँ मंसिर १४ मा टुङ्गिने भएकाले आर्थिक वर्ष २०७८/०७९ मा नै प्रदेश सरकार अन्तर्गत यातायात पूर्वाधार निर्देशनालयले पीटीएपी सेवा गरेको थियो। प्रदेश सरकारले हेल्भेटाससँग समन्वय गरी उक्त संस्थाको क्षमता विकास गरिसकेको छ।

कार्यक्रममा पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष हिमाल जोशीले निर्माण भएका पुलहरूको संरक्षण र नयाँ पुलको आवश्यकता पहिचान गरि निर्माणको जिम्मेवारी प्रदेश सरकार र स्थानीय तहले लिनुपर्ने बताए। स्वीस सरकारको प्राविधिक सहयोग टुङ्गिने भएपछि भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयले नै सम्पूर्ण प्राविधिक सहयोग गर्ने मन्त्रालयला सचिव प्रेमदत्त भट्टले बताए।

उनले आगामी दिनमा आवश्यकताको आधारमा नयाँ झोलुङ्गे पुल निर्माण गरेर बाटो क्रसिङमा समयको बचत गर्नमा र पर्यटन क्षेत्रको विकास गर्न झोलुङ्गे पुलको निर्माण गरिने बताए। उनले प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले पुलको आवश्यकता भएको ठाउँमा पुल निर्माण गर्ने र पहिले नै निर्माण भएका पुलहरूको स्थानीय सरकारसँग मिलेर मर्मत सम्भार र संरक्षण गर्ने बताए।

फोटो प्रदर्शनी कार्यक्रमको आन्तरिक मामिला तथा कानून मन्त्री शिवराज भट्टले उद्घाटन गरेका हुन्। कार्यक्रममा प्रमुख अतिथि रहेका मन्त्री भट्टले नेपाल सरकारले सुदूरपश्चिम प्रदेशमा मात्र एक हजार पाँच सय हाराहारीमा झोलुङ्गे पुल निर्माण गरेर दुर्गम क्षेत्रका जनताको जीवनयापन धेरै सहज बनाएकाले आजको फोटो प्रदर्शनी कार्यक्रम विषेश रहेको उल्लेख गरे। साथै, उक्त कार्यमा स्वीस सरकारको तर्फबाट झोलुङ्गे पुल सहयोग इकाई/हेल्भेटासले अनवरत ६० वर्ष प्राविधिक सहायता एवं प्रविधि हस्तान्तरण गरेकाले विशेष धन्यवाद दिए।

  • कुन जिल्लामा कति पुल बने?

सुदूरपश्चिममा निर्माण सम्पन्न भएका एक हजार १४७ झोलुङ्गे पुलमा सबैभन्दा बढी बैतडीमा छन्। बैतडीमा  १७१ पुल निर्माण गरिएको छ भने दोस्रो बढी संख्यामा डोटीमा १६४ पुल निर्माण गरिएको छ। दार्चुलामा १६२ पुल बन्दा डडेल्धुरामा १४५ र बझाङमा १४३ पुलको काम सप्पन्न भएको छ।

यसैगरी, बाजुरामा १४०,अछाममा १३६, कैलालीमा ६५ र कञ्चनपुरमा २१ वट झोलुङ्गे पुल निर्माण गरिएको छ। यस्तै, निर्माणाधिन पुलको संख्या सबभन्दा बढी दार्चुलामा ६०, बझाङमा ५६,  बाजुरामा ५०, कैलालीमा ४८, अछाममा ३९, डडेल्धुरामा ३७,  बैतडीमा ३३, डोटीमा ३० र कञ्चनपुरमा २३ वटा रहेको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार