गोविन्द केसीले धम्क्याएर चिकित्सा ऐन रोकिन्नः स्वास्थ्यमन्त्री

गोविन्द केसीले धम्क्याएर चिकित्सा ऐन रोकिन्नः स्वास्थ्यमन्त्री

चितवन : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कसैले धम्क्याउँदैमा चिकित्सा शिक्षा ऐन संसोधनको प्रक्रियाबाट सरकार पछि नहट्ने बताएका छन् । सोमबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्ने क्रममा अभियन्ता डा. गोविन्द केसीप्रति लक्षित गर्दै मन्त्री बस्नेतले कोही सुत्छु भन्दै सरकार ऐन संशोधाबाट पछि नहट्ने बताए । 

चिकित्सा शिक्षा ऐनको विद्यमान व्यवस्थाले गर्दा नेपालमा मेडिकल शिक्षा जुन ढङ्गले अघि बढ्नु पर्ने हो त्यो ढङ्गले अघि बढ्न नसकेको उनको भनाई थियो । उनले भने, ‘संशोधनको विषयमा प्रधानमन्त्रीज्यू तयार हुनुहुन्छ । क्याबिनेटमा समेत यसको विषयमा छलफल अब सुरु हुन्छ । अहिलेसम्म ऐन संशोधनको विषयमा दुई पटकसम्म बैठक भइसकेको र संशोधनको प्रक्रियामा अघि बढेको उनले जानकारी दिए । 

चिकित्सा शिक्षा ऐनका कारण देशमा आगामी पाँच वर्षमा चिकित्सक तथा स्वास्थ्य प्राविधिकको समस्या हुने देखिएकाले संशोधन गर्न लागिएको उनले जानकारी दिए । चिकित्सा क्षेत्रमा २२ वर्षअघिको दरबन्दीले काम भइरहेको बताउँदै उनले यसलाई थप गरेर अघि बढ्ने बताए । 

उनले भने,‘कुनै एक जना व्यक्तिले अनसन बस्छु भन्दैमा देशको हितका लागि हुने काममा राज्यले खुट्टा कमाउनु हुँदैन र कमाउँदैन पनि । त्यहाँ भएका राम्रा कुराको कार्यान्वयन र नराम्रा कुराको सुधार एवं संशोधन गरेर अघि बढ्छौ ।’ यो ऐनलाई संशोधन गरेर गुणस्तरीय शिक्षा र शुल्क  निर्धारण गर्ने कुरा कार्यविधि बनाएर सरकारले अनुगमन गर्ने कुरा गर्नुपर्ने उनको भनाइ थियो । 

अहिलेको शिक्षा नीति केही खुकुलो हुनुपर्नेमा उनको जोड थियो । सरकारले अहिले एक सयदेखि तीन सय शय्या भएका अस्पतालहरूलाई नर्सिङ् र प्यारामेडिकस् पढाउन दिने र तीन सयभन्दा बढी शय्या भएका अस्पतालहरूलाई एमबीबीएस पढाउन दिने गरी खुकुलो पार्न लागेको उनले जानकारी दिए । सुधार गर्नुपर्ने ठाउँमा सुधार गरेर मेडिकल शिक्षा सञ्चालन गरिने मन्त्री बस्नेतले बताए । 

एक फरक प्रसंगमा बोल्दै मन्त्री बस्नेतले सुर्तीजन्य पदार्थमा लगाइँदै आएको कर अब स्वास्थ्य मन्त्रालय मातहतमा ल्याउने गरी काम भइरहेको जानकारी दिनुभयो । प्रधानमन्त्री सकारात्मक देखिनु भएको भन्दै उनले त्यसबाट उठेको रकमले अस्पतालहरूको गुणस्तर बृद्धि र कर्मचारी व्यवस्थापन गरिने बताए । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार