LPL-8 : को उपाधि सत्यवती एकेडमी अत्तरियाले जित्यो

LPL-8 : को उपाधि सत्यवती एकेडमी अत्तरियाले जित्यो

आठौँ संस्करणको लिटल फ्लावर प्रिमियर लिगको उपाधि सत्यवती एकेडेमी, अत्तरियाले जितेको छ। कैलालीको धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा सम्पन्न फाइनलमा सत्यवती एकेडेमीले धनगढी स्पोर्ट्स क्लबलाई ५ रनले पराजित गर्यो। 

रोमान्चक खेलमा सत्यवतीले दिएको १२७ रनको लक्ष्य पछ्याएको धनगढी स्पोर्ट्सले १९.२ ओभरमा सबै विकेट गुमाएर १२१ रन बनायो।     

धनगढी स्पोर्ट्सको ब्याटिंगमा बसन्त कार्कीले ३५, सुनिल धमलाले २८ तथा अमर सिंह रौटेलाले २७ रन योगदान दिएता पनि जितको लागि पर्याप्त हुन सकेन। 

लक्ष्य पछ्याउने क्रममा धनगढी स्पोर्ट्सले ३६ रनमा सुरुवात ५ विकेट गुमायो। छैठौं विकेटको लागि बसन्त कार्की र भुवन कार्कीले ३३ रनको साझेदारी गरे। भुवनको विकेट पछि सातौँ विकेटको लागि बसन्तले अमर सिंह रौटेलासंग ४३ रन जोडे। अठारौं ओभरमा अभिषेक कोइरालाले अमर सिंह रौटेलाको विकेट लिंदै सत्यवतीलाई खेलमा फर्काए। लगत्तै ओभरमा तृत राज दासले बसन्त कार्की र दिपक चन्दको विकेट लिए। 

जितको लागि अन्तिम ओभरमा १० रन आवस्यक हुँदा धनगढी स्पोर्ट्स क्लबसंग १ विकेट बाँकी रहेको थियो। अन्तिम ओभर बलिंग गरेका सन्दिप खत्रीले पहिलो बलमा वाइड र दोश्रो बलमा २ रन दिएपछि तेश्रो बलमा विकास आग्रीको रुपमा धनगढी स्पोर्ट्सले अन्तिम विकेट गुमायो। 

सत्यवतीको बलिंगमा प्लेयर अफ द म्याच समेत घोषित अभिषेक कोइरालाले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा १५ रन खर्चिए। तृत राज दासले २ तथा फिर्दोश अन्सारी, सन्तोष कार्की र रञ्‍जित कुमारले १/१ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको सत्यवती एकेडेमीले २० ओभरमा ६ विकेट क्षेतीमा १२६ रन बनायो।

सत्यवतीको ब्याटिंगमा पाँचौ नम्बरमा ब्याटिंग गरेका सन्दिप रजालीले सर्वाधिक ४१ रन बनाए जुन क्रममा उनले ३६ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। तृत राज दासले १३ बलमा अविजित २७ रन बनाए जुन क्रममा ४ चौका र १ छक्का प्रहार गरे। फिर्दोश अन्सारीले २२, सन्तोष कार्की र समिर कार्कीले समान १० रन बनाए।

पावरप्लेमा ३ विकेट गुमाएको अवस्थाबाट चौथो विकेटको लागि सन्दिप रजाली र फिर्दोश अन्सारीले ६७ रनको साझेदारी गर्दै टिमलाई उकासे। आठौँ विकेटको लागि तृत राज र समिर कार्कीले अविजित ३६ रनको साझेदारी गरे। 

धनगढी स्पोर्ट्स क्लबको बलिंगमा दिपक चन्द, भोज राज भट्ट र भुवन कार्कीले २/२ विकेट लिए।    

विजेता सत्यवती एकेडेमीले विजेता ट्रफी सहित दुई लाख ५५ हजार र उपविजेता धनगढी स्पोर्ट्स क्लबले एक लाख २८ हजार रुपैयाँ पुरस्कार पाएका छन्।

प्रतियोगिताको उत्कृस्ट खेलाडी तथा उत्कृस्ट बलर धनगढी स्पोर्ट्स क्लबका कप्तान समेत रहेका भुवन कार्की घोषित भए।  कार्कीले ५ खेलमा १२ विकेट लिए। प्रतियोगिताका उत्कृष्ट ब्याट्सम्यान शुक्लाफांटा ब्ल्याकबक्सका किरण ठगुन्ना घोषित भए जसले ३ खेलमा १३४ रन बनाए। प्रतियोगिताका उदयमान खेलाडी कैलाली जिल्ला क्रिकेट क्लबका सुधांशु रावल घोषित भए। 

विजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रि झपट बहादुर साउदले पुरस्कृत गर्नु भयो।  

प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टीमको सहभागिता रहेको थियो।

हेर्नुहोस्, स्कोरकार्ड : https://cricclubs.com/LittleFlowerPremierLeague/viewScorecard.do?matchId=936&clubId=1007489

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार