मङ्गलसेन दरबार निर्माण पूरा नभएपछि ठेकेदार कम्पनीलाई १३ वर्षपछि स्पष्टीकरण

मङ्गलसेन दरबार निर्माण पूरा नभएपछि ठेकेदार कम्पनीलाई १३ वर्षपछि स्पष्टीकरण
ऐतिहासिक मङ्गलसेन दरबार

मङ्गलसेन: ऐतिहासिक मङ्गलसेन दरबार निर्माण पूरा नभएपछि ठेकेदार कम्पनीलाई १३ वर्षपछि स्पष्टीकरण सोधिएको छ । पटक पटक म्याद थप्दा पनि काममा ढिलासुस्ती गरेको भन्दै सघन सहरी तथा भवन निर्माण आयोजना डोटीले ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण सोधेको हो । 

लिखित र मौखिक रूपमा निर्माण गर्न भनिए पनि कुनै चासो नदेखाएको हुँदा ठेक्का सम्झौता किन नतोड्ने ? मुनासिब कारणसहित १५ दिनभित्र स्वयम् ठेकेदार उपस्थित भएर स्पष्टीकरण बुझाउन जारी सूचनामा उल्लेख छ । दरबार निर्माणको ठेक्का पाएको राजेन्द्र–साउद–तुल्छीदुर्गा–कुँवर– बडीमालिका भीका नाममा अत्यन्त जरुरी सूचना प्रकाशन गरेर आयोजनाले स्पष्टीकरण सोधेको हो । 

विश्वसनीय आधारको स्पष्टीकरण नभएमा सम्झौताका सर्त, सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली २०६४ बमोजिम ठेक्का सम्झौता रद्द गरी कानुनी कारबाही अगाडि बढाइने प्रकाशित सूचनामा उल्लेख छ । काठको अभावले निर्माण कार्यमा ढिलाइ भइरहेको ठेकेदारले बताउँदै आएका छन् । निर्माणको ठेक्का सम्झौताका क्रममा २०६५ असारबाट काम सुरु गरी २०६७ साल जेठमा सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । 

तत्कालीन विद्रोही समूह नेकपा (माओवादी) ले २०५८ साल फागुन ४ गते राति अछाम सदरमुकाम आक्रमणका क्रममा प्रशासन कार्यालय रहेको मङ्गलसेन दरबार ध्वस्त पारेको थियो । उक्त दरबारलाई पुरानै शैलीमा निर्माण कार्य थालिएको १५ वर्षभन्दा बढी भइसक्दा पनि पूरा हुन सकेको छैन । राजनीतिक संरक्षणले दरबार निर्माणको काममा ठेकेदारले चरम लापरबाही गरेको भन्दै स्थानीयको चर्को असन्तुष्टि छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार