प्रधानमन्त्री ‘प्रचण्ड’ कसरी पुगे नातिनी-ज्वाइँकै वडामा

प्रधानमन्त्री 'प्रचण्ड' कसरी पुगे नातिनी-ज्वाइँकै वडामा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नी नातिनीको घर भएको गोरखाको गण्डकी गाउँपालिका पुगेका छन्। उनी बुधबार दिउँसो जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गतको कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका हुन्।

गण्डकी गाउँपालिका वडा नम्बर ९ घ्यालचोकमै उनकी नातिनी प्रतिभा पाठक र ज्वाइँ विज्ञानबाबु रेग्मीको घर पर्छ। प्रधानमन्त्री प्रचण्ड त्यहाँ पुगेपछि नातिनी र ज्वाइँलाई भेट्न घरमै पुगेका थिए। पछि सम्धी-सम्धिना, नातिनी र ज्वाइँसहित प्रचण्डले आफू चढेर गएको हेलिकप्टरलाई पृष्ठभूमिमा राखेर तस्बिर खिचाएका थिए।

कार्यक्रममा सहभागी एक नेताका अनुसार प्रधानमन्त्री स्वयंले फोटो खिचौं भनेपछि खिचिएको थियो। प्रचण्ड बुधबार बारपाक सुलिकोटको कार्यक्रम सकेर नेपाली सेनाको हेलिकप्टरमार्फत गण्डकी गाउँपालिका पुगेका थिए।

जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत गण्डकी गाउँपालिकाका इन्चार्ज सुमन देवकोटाले आफ्नै आग्रहमा प्रधानमन्त्री त्यहाँ पुगेको र पार्टीका तीनवटा कार्यक्रम सकेर फर्किने क्रममा कार्यक्रमस्थल नजिकै घर भएका परिवारका सदस्यले भेटेको बताए।

तस्बिरहरू प्रचण्डको सचिवालयका सदस्यबाटै सार्वजनिक भएपछि त्यसको ब्यापक विरोध भएको छ। प्रधानमन्त्रीको सचिवालयले भने तस्बिरहरूको भाव बंग्याएर सामाजिक सञ्जालमा विरोध गरेको भन्दै आपत्ति जनाएको छ।

‘बारपाक सुलिकोट गाउँपालिका ताकुकोट र ज्यामिरेघाट, घ्यालचोक, गोरखामा आयोजित औपचारिक कार्यक्रममा सहभागी भएर फर्किने क्रममा प्रधानमन्त्रीले भर्खरै नवविवाहित नातिनी-ज्वाइँको परिवारलाई भेटेको तथा हेलिप्याडमा विदाइ गर्दा मैले कैद गरेको तस्बिरको कुरालाई लिएर अतिरञ्जनापूर्ण ढंगले अनावश्यक भ्रम नछर्न हार्दिक अनुरोध गर्दछु‚’ प्रधानमन्त्रीका निजी फोटोग्राफर प्रदीपराज वन्तले भनेका छन्।

यस्तै स्वकीय सचिव रमेश मल्लले निर्वाचन क्षेत्रमा गएका बेला आफन्तहरूलाई भेटेको तस्बिर राखेर अफवाह फैलाउने काम भएको बताएका छन्।

‘सम्माननीय प्रधानमन्त्रीज्यू आज आफ्नो निर्वाचन क्षेत्र गोरखा कार्यक्रममा गएको बेला आफन्तहरूसँग भेट भएको र त्यतिखेर लिएको तस्बिरलाई लिएर सामाजिक सञ्जालमा गलत ढंगले अफवाह फैलाउने काम भइरहेको छ,’ मल्लले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस्ता गलत सूचना फैलाएर सम्माननीय प्रधानमन्त्रीज्यूको राजनैतिक प्रतिबद्धतालाई कमजोर पार्ने कोशिस भइरहेको छ। यस प्रकारको गलत सूचनाको भ्रममा नपर्न हामी सबैमा हार्दिक आग्रह गर्दछौं।’

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार