माघको रमझममा थारु बस्ती

माघी महोत्सव शनिबारदेखि टुँडीखेलमा

धनगढी : पश्चिम नेपालको थारु बस्ती माघ पर्वको उल्लास छाएको छ । पुस महिनाको अन्तिम दिनदेखि माघीको उल्लास छाउने गर्छ । पुस महिनाको अन्तिम दिन (पुस २९ गते) हरेक थारु बस्तीमा सामूहिक सुँगुर/बंगुरको जिटा (मासु) काटिएको थियो ।

हप्तौँ तथा महिनौँ दिनदेखि सुँगुरको खोजीमा रहेका थारु घर मुलीहरू आइतबार बिहानैदेखि सामूहिक बंगुरको मासु तयारी गर्नमा जुटे । त्यससँगै दिनभरि साथीहरुसँग खाने र खुवाउने उत्सव चल्यो । 

अरु बेला केजीको दरले बंगुर तथा सुँगुरको मासु खरिद गर्ने घर मुलीहरूले अहिले पसेरी (साढे २ केजी)का दर बंगुरको मासु खरिद गरेका छन् ।

कैलालीको गौरीगंगा नगरपालिका १० नुक्लीपुर गाउँमा मात्रै आइतबार २ वटा सामूहिक रूपमा बंगुर काटियो । घुरमुलीहरुले १ पसेरीदेखि ५ पसेरी (साढे १२ केजी)सम्म मासु खरिद गरेको नुक्लिपुर सामुदायिक होम स्टेका अध्यक्ष दिनेश दहित थारुले बताए ।

उनले भने, ‘माघ थारुहरूको सबैभन्दा ठुलो पर्व हो । पर्व मनाउन विवाहित चेलीहरू माइती फर्केका हुन्छन् । कामको सिलसिलामा घरभन्दा टाढा रहेका परिवारजन घर फर्केका छन् । कम्तीमा पनि आइतबार र सोमबार माघ १ गते ढिक्रीसँग पाहुनालाई खुवाउनलाई भए पनि मासु राखिन्छ । बंगुरको मासु विना माघको स्वाद नै फिक्का हुन्छ ।’ 

योसँगै थारु समुदायमा विभिन्न नृत्य गरी माघी मनाइँदै छ । मघौटा नाच, लाठी, झुम्रा नाचका साथै डफसँग ढमार गाएर पनि माघी मनाइँदै छ । जसले थारु बस्तु चैनार (उल्लासमय) छन् ।

थारुहरु सुँगुरको मासु पारखी किन ?

आदिवासी थारु जाति माघ पर्वमा मात्रै होइन, प्रायः हरेक पर्वमा सुँगुुरको मासु नै खाने प्रचलन रहिआएको छ । तिक्खर स्वाद मन मनाउने थारु जातिमा सुँगुरको मासु हरेक पर्व तथा उत्सवमा प्रायः अनिवार्य हुन्छ ।

थारु संस्कृतिविदहरु थारु जातिले संगुरको मासु कहिलेदेखि उपभोग गर्न थाले भन्ने कुनै लेखाजोखा नहुनुले आदिमकालदेखि उपभोग गर्दै आएको पुष्टि हुने बताउँछन् ।

संस्कृतिविद् अशोक थारु भन्छन्, ‘थारु समुदायमा उहिलेदेखि सुँगुर पाल्ने र सुँगुरकै मासु उपभोग गर्न मन पराउने समुदाय हो । पौष्टिकताको दृष्टिकोणले पनि लाभदायक हुने भएको हुँदा वर्तमानमा पनि सुँगुरको मासु औधी रुचाइएको हो ।’

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार