अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवबाट २८ नक्कली टिकट ठेली नियन्त्रणमा

सुदूरपश्चिम प्रदेश

अत्तरिया : कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवबाट २८ वटा नक्कली टिकट ठेली नियन्त्रणमा लिइएको छ । महोत्सव स्थलको टिकट काउण्टरबाट नक्कली टिकट ठेली नियन्त्रणमा लिइएका हुन । विहिबार भेटिएका ति टिकट ठेली आयोजकले नियन्त्रणमा लिएका भएपछि सार्वजनिक गने गरिएका छैनन । आयोजकले नै नियन्त्रणमा लिएर राखेका ठेलीको अनुसन्धान पनि गरिएको छैन ।

आठौं संस्करणको महोत्सवमा टिकट काट्ने जिम्मा दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) लाई दिइएको थियो । बिहीबार फरक किसिमको टिकट ठेली भेटिएपछि टिकट बिक्रेता मदन भट्टले नै आयोजक अत्तरिया उद्योग वाणिज्य संघका महासचिवलाई खबर गरेको स्ववियू सभापति भुवन महराले बताएका छन । उनले त्यसपछि ५ वटै टिकट काउण्टरमा ठेली चेक गर्दा २८ वटा नक्कली भेटिएको बताए । 

टिकट स्थलमा नक्कली टिकट ठेली भेटिएपछि शुक्रबार आयोजकले नै टिकट काटेका थिए । तर, ति २८ वटा टिकट ठेली कहाँबाट महोत्सवमा भित्रिए भन्ने अनुसन्धान भने गरिएको छैन । 

स्ववियू सभापति महराले टिकट ठेली फरक किसिमको वितरण गरिएको आफैले जानकारी गराउँदा उल्टै आफूहरूलाई टिकट काट्न रोक लगाइएको बताए । उनले आयोजकबाट ति ठेली वितरण भएकाले छानविन नगरी घटना गुपचुप गर्ने प्रयास भइरहेको बताए । 

उद्योग वाणिज्य संघका महासचिव शंकर खड्काले भने टिकट नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताएका छन । उनले आफूहरूले छड्के चेकजाँच गर्दा नक्कली टिकट ठेली भेटिएको बताए । उनले महोत्सव जारी रहेकै बेला विवाद बढाउँदा महोत्सव बिथोलिने भएकाले धेरै कुरा बाहिर नल्याएको भएपनि यसको अनुसन्धान गरेर दोषी नछोडिने बताए । 

महोत्सव स्थलमा शनिबार पनि आयोजकले नै टिकट काटिरहेका छन । महासचिव खड्काले निर्णय गरेर नै टिकट काट्ने स्ववियू संगको सम्झौता तोडिएको बताए । यद्यपि टिकट काट्ने सम्झौता तोडिएको बिषयमा आफुहरुलाई कुनै जानकारी नदिई एकपक्षीय निर्णय लिईएको स्ववियु सभापति महराले बताएका छन ।

अत्तरिया महोत्सवका टिकट काठमाडौंमा छपाइएका थिए । काठमाण्डौबाट सिल प्याक गरेर आउने टिकट महासचिव खड्काको रोहबरमा बुझेर सचिव दीपिन साउदले टिकट ठेली टिकट काउण्टरमा वितरण गर्दै आएका थिए । 

विहीबार २८ वटा ठेली नियन्त्रणमा लिइएको भएपनि महोत्सवमा यसअघि पनि नक्कली टिकट ठेली वितरण भएर आर्थिक हिनामिना भएको आशका गरिएको छ । विहीबार २८ नक्कली टिकट ठेली नियन्त्रणमा लिदा २ वटा टिकट ठेली काटिएको अवस्थामा भेटिएका थिए । एउटा टिकट ठेलीमा ५० वटा टिकट रहेका छन ।

अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण सिह बोहराले नक्कली टिकट ठेली भेटिएको विषयमा छानविन समिति बनाएर अनुसन्धान गरिने बताए । उनले महोत्सव सकिए लगतै समिति बनाएर अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याइने बताए । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार