रानी जमरा कुलरिया सिंचाई आयोजनाबाट विद्युत उत्पादन सुरु

रानी जमरा सिँचाइ आयोजना

कैलाली: राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिंचाई आयोजनाबाट विद्युत उत्पादन सुरु भएको छ। २०८० साल माघ १६ गते रातिबाट उत्पादन सुरु भई लम्कीस्थित १३२ केभी प्रसारण लाइनमा जोडिएको हो ।

जानकी गाउँपालिका ९ कटाँसेमा बनेको उत्पादन गृहको ३३ केभी लाइन करीब छ किलोमिटर टाढाको लम्की स्टेशनमा पुर्याएर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । परीक्षणका क्रममा साढे एक मेगाबाट उत्पादन भएको विद्युत प्राधिकरण लम्कीका प्रमुख खगेन्द्रप्रसाद धमलाले जानकारी दिए । रानीजमराको पूरै उत्पादन भएका तीन वटा टर्वाइनको सहायताले ४.७१ मेगावाट विद्युत निरन्तर उत्पादन हुनेछ ।

२०७८ माघबाट उत्पादन सुरु गर्ने लक्ष्य भएपनि कात्तिक १ गते आएको बाढीले संरचनामा क्षति पुर्याएपछि पुन:निर्माणमा ढिलाई भएको हो। दुई अर्बको लागतमा विद्युत आयोजना बनेको छ। एक अर्ब पाँच करोड रुपियाँ विद्युत गृह र उपकरणमा लगानी भएको छ भने ९५ करोड रुपियाँ यस वरपर नदी नियन्त्रण, नहर निर्माण र अन्य काममा लगानी भैरहेको छ।

रानी जमरा कुलरिया आयोजना आर्थिक वर्ष २०६६–६७ सालमा सुरु भएको थियो। यसबाट शाखा नहर र नदीहरुमा तटबन्धको निर्माण कार्य जारी छ।आयोजनाले सिंचाइ मात्रै नभई बिजुली पनि उत्पादन गरेकाले त्यसबाट स्थानीय उपभोक्ताले बढी लाभ पाउनुपर्ने उदेश्य रहेको छ। कर्णाली नदीमा अनेकन नामबाट परम्परागतरुपमा नै सिंचाइ उपलब्ध हुँदै आएको थियो। आर्थिक वर्ष २०६६/६७ मा परम्परागत सिंचाइलाई आधुनिकीकरण गर्ने काम सुरु भयो।

अनि नाम दिइयो-रानीजमरा कुलरिया सिँचाइ आयोजना। सो सिंचाइ प्रणाली स्थानीय किसानले नै निर्माण गरेर व्यवस्थापन हुँदै आएको सबैभन्दा ठूलोमध्येको एक हो। सो प्रणालीको स्रोत कर्णाली नदीको पश्चिम भङ्गालो झरही नाला हो। स्थानीयवासीका अनुसार सो प्रणालीको निर्माण करिब एक सय २० वर्षभन्दा पहिले नै भएको हो।

ऐतिहासिक महत्व बोकेको सो आयोजनाले कैलालीका समथर फाँटको सिंचाइ मात्रै गरेको छैन, तराईमा पहिलो पटक बिजुली उत्पादन गरेको छ । विगतमा टीकापुर नगरपालिका,लम्की चुहा नगरपालिका र जानकी गाउँपालिकाको करिब ११ हजार हेक्टर जमिनमा सिंचाइ सुविधा उपलब्ध गराइँदै आएको थियो। आधुनिक सिंचाइ प्रणालीको विकासपछि ३८ हजार तीन सय हेक्टर क्षेत्रफलमा सिंचाइ सुविधा पुग्नेछ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार