प्रहरी समाचार बुलेटिन आज दिनभर

प्रहरी समाचार बुलेटिन

प्रहरी महानिरीक्षक कुँवरद्वारा दर्ज्यानी चिन्ह सुशोभन तथा म्युजिक भिडियो र पुस्तक विमोचन 

काठमाडौं, १७ माघ : नेपाल सरकार उपप्रधानमन्त्री तथा गृहमन्त्रीस्तरको माघ १६ गतेको निर्णयले प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति हुनुभएका रमेश कुमार बस्नेत दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच उहाँलाई दर्ज्यानी चिन्ह सुशोभन गर्नुभएको हो ।      

सोही अवसरमा प्रहरी महानिरीक्षक कुँवरले “प्रहरी साथमा छ” बोलको अपराध न्यूनीकरण सम्बन्धी जनचेतनामूलक म्युजिक भिडियोको विमोचन गर्नुभयो । उक्त म्युजिक भिडियोको परिकल्पना प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले गर्नुभएको हो भने रचनाकार दिल शिरिष र प्रकाश सपूत रहनुभएको छ । प्रकाश सपूत र सुदिप सागरको संगीत तथा प्रकाश सपूत र सुनिता दुलालको गायन रहेको उक्त म्युजिक भिडियोको निर्देशन आरन प्रोडक्सनबाट सुनिल बिकले गर्नुभएको छ ।  

साथै सोही अवसरमा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागद्वारा प्रकाशित “नेपाल प्रहरीले अनुसन्धान गरेका चर्चित घटनाहरूको सङ्ग्रह-भाग १” पुस्तकको विमोचन समेत गर्नुभयो । उक्त पुस्तकमा रहेका घटनाहरूको संकलन तथा लेखन प्रहरी नायव उपरीक्षकहरू रबिन्द्र नाथ पौडेल, बेद प्रकाश जोशी, पंच कुमार बाखु र प्रहरी निरीक्षक राजु अधिकारीले गर्नुभएको छ । साथै प्रहरी महानिरीक्षक कुँवरले पुस्तक लेखनमा संलग्न प्रहरी अधिकृतहरूलाई सोही अवसरमा सम्मान समेत गर्नुभयो । 

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू एवंप्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

मापसे र लापसे नियन्त्रणमा सक्रिय हुँदै नेपाल प्रहरी

‍‍‍‍‍‍‍‍‍‍‍‍‍काठमाडौं, १७ माघ

            नेपाल प्रहरीले आर्थिक वर्ष २०८०/०८१ को गत साउनदेखि पुस महिनासम्म मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ३९ हजार २७२ जना  र लागू पदार्थ सेवन (लापसे) गरी सवारी चलाउने २ सय ४२ जनालाई कारवाही गरेको छ । मापसेबाट गरिएको कारवाहीबाट कुल ३ करोड ९९ लाख ६९ हजार रूपैयाँ राजश्व संकलन भएको छ ।

            यात्रु, सवारी र सडकलाई सुरक्षित बनाउँदै गन्तव्यमा पुर्‍याउन तथा दुर्घटना न्यूनिकरण गर्न मापसे तथा लापसे चेकिङ प्राथमिकतामा राखिएको छ । चालकले मापसे गरी सवारी साधन चलाएको पत्ता लगाउन मापसे चेकिङ गर्ने गरिएको छ । लहै लहैमा लागेर घर भन्दा टाढाको दूरीमा गई मापसे गर्ने र सवारी साधन चलाएर हिँड्ने प्रवृत्तिले आकस्मिक र गम्भीरदुर्घटना निम्त्याउने गरेको तथ्याङ्कले देखाउँछ । सिसिटिभिको पहुँच न्यून र सीमित ठाउँमा मात्र ट्राफिक प्रहरीको उपस्थितिका कारण मापसे गरी सवारी चलाउने प्रवृत्ति बढ्दो देखिन्छ । यस्तो प्रवृत्तिलाई निरूत्साहित र मापसे तथा लापसे नियन्त्रणलाई प्रभावकारी बनाउन नेपाल प्रहरीले विभिन्न समयमा विविध नीति लागू गरी सफल कार्यान्वयन गर्दै प्रभावकारी रूपमा काम गर्दै आएको छ । नेपाल प्रहरीले अवलम्बन गरेका नीतिबारे प्रष्ट पार्दैनेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “दुर्घटनाबाट आफ्नो र यात्रुको ज्यान बचाउनको लागि प्रत्येक चालकले सही हालतमा सवारी साधन चलाउनुपर्छ । यो कुरालाई स्थानीय स्तरमा सबै नागरिकले बुझ्न र पालना गर्न आवश्यक हुन्छ ।”

            यस आर्थिक वर्षको ६ महिनामा मापसे गरी सवारी चलाउने काठमाडौं उपत्यकामा १८ हजार ६२७ जना, कोशी प्रदेशमा २ हजार ५२४ जना, मधेश प्रदेशमा २ हजार २१ जना, बागमती प्रदेशमा १ हजार ९८ जना, गण्डकी प्रदेशमा ८ हजार ९२३ जना, लुम्बिनी प्रदेशमा २ हजार ७७३ जना, कर्णाली प्रदेशमा १ हजार २६४ जना र सुदूरपश्चिम प्रदेशमा २ हजार ४२ जना कारवाहीमा परेका छन् । मापसे गरी सवारी चलाउने मात्र होइन मापसे गरी बाटोमा जथाभावी हिँड्नेहरूको कारण पनि सवारी साधनले ठक्कर दिँदा दुर्घटना हुने गरेको छ । मापसे र लापसे नियन्त्रणमा ट्राफिक प्रहरीको सक्रियता सम्बन्धमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्ट भन्नुहुन्छ, “उपत्यकाका धैरै ठाउँमा सवारी साधन चेकिङ गर्ने, लापसे सेवनमा मुद्दा चलाउने गरेको कारण चालकहरू सजग र सचेत भई जनधनको क्षतिमा कमी आएको छ । यसलाई निरन्तरता दिँदै सडक सुरक्षा र दुर्घटना न्यूनिकरणको लागि विषेश जोड दिँदै आएका छौं ।”

सो अवधिमा कारवाहीमा पर्नेहरूबाट काठमाडौं उपत्यकामा १ करोड ८६ लाख २७ हजार रूपैयाँ, कोशी प्रदेशमा २५ लाख ३९ हजार ५सय रूपैयाँ, मधेश प्रदेशमा २० लाख ४२ हजार ५ सय रूपैयाँ, बागमती प्रदेशमा ११ लाख १७ हजार रूपैयाँ, गण्डकी प्रदेशमा ९५ लाख ६८ हजार रूपैयाँ, लुम्बिनी प्रदेशमा २७ लाख ७३ हजार रूपैयाँ, कर्णाली प्रदेशमा १२ लाख ६० हजार रूपैयाँ र सुदूरपश्चिम प्रदेशमा २० लाख ४२ हजार रूपैयाँ राजश्व संकलन भएको छ । यसैगरी सो अवधिमा लापसे गरी सवारी चलाउने काठमाडौं उपत्यकामा ८१ जना, कोशी प्रदेशमा २८ जना, गण्डकी प्रदेशमा ८८ जना, लुम्बिनी प्रदेशमा २० जना र सुदूरपश्चिम प्रदेशमा २५ जना कारवाहीमा परेका छन् । मधेश, बागमती र कर्णाली प्रदेशमा कारवाही संख्या शून्य छ ।

            मापसे चेकिङका लागि सीमित जनशक्ति र सिसिटिभि क्यामराको न्यून पहुँच छ भने ब्रेथलाइजर लगायतका साधनस्रोत पर्याप्त छैनन् । यसका वावजूद चेकजाँचमा नेपाल प्रहरीको सक्रियता कायम नै छ । नियमित चेकिङको साथै चाडपर्वको बेला जुनसुकै समयमा चेकजाँच हुने गरेको छ । मापसे चेकिङलाई थप प्रभावकारी बनाउने सम्बन्धमा प्रहरी नायव महानिरीक्षक ढकाल भन्नुहुन्छ, “ मापसे लापसे नगरेर सवारी साधन चलाउने कार्यको लागि प्रहरी र नागरिक एकआपसमा सहकार्य र समन्वय गरी आगाडि बढ्नु आवश्यक छ । यही कुरालाई मनन गरेर सरोकारवाला सबैसँग समन्वय र सहकार्य गरेर हामी अगाडि बढेका छौं । हाम्रो मुख्य ध्यान भनेको दुर्घटनाबाट धनजनको क्षति नहोस् भन्ने नै हो ।”

अवैध लागूऔषध गाँजा ५ किलोसहित एक जना पक्राउ

मकवानपुर, १७ माघ

            हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब ५ किलोसहित राक्सिराङ गाउँपालिका-२ बस्ने ४४  वर्षीय जगत बहादुर थोकरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले मे.१ख३१७१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहरको छ । 

माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

‍‍‍‍‍‍‍‍‍‍‍‍‍काठमाडौं, १७ माघ

माल्टा पठाइदिन्छु भन्दै ६ लाख १८ हजार रूपैयाँ ठगी गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका-१३ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१ सुन्दरबस्ती  बस्ने ३८ वर्षीय प्रकाश गुरुङलाई मंगलबार दिउँसोप्रहरीले पक्राउ गरेको छ । 

गुरूङले १ जनालाई वैदेशिक रोजगारीका लागि माल्टा पठाई प्रतिष्ठित होटलमा मासिक १ लाख २० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । 

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

बोरिङ गर्न खनेको खाल्डोमा खसेका बालकको सकुशल उद्धार

‍‍‍‍‍‍‍‍‍‍‍‍‍भक्तपुर, १७ माघ

सूर्यविनायक नगरपालिका-५ कटुन्जे भैरब मन्दिर नजिक खाली जग्गामा बोरिङ गर्न खनेको अन्दाजी १५ फिटको खाल्डोमा खसेका रामेछाप मन्थली नगरपालिका-७ घर भई हाल कटुन्जे बस्ने २ वर्षीय सजिन भुजेलको सकुशल उद्दार गरिएको    छ ।

खेल्ने क्रममा मंगलबार दिउँसो अचानक उक्त खाल्डोमा खसेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग कटुन्जे र प्रहरी वृत्त जगाती भक्तपुरबाट प्रहरी उद्धार टोली खटिई गईउद्दार संस्था आरएनए १६ र स्थानीयवासीको सहयोगमा उनको सकुशल उद्दार गरिएको हो ।

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु  

काठमाडौं, १७ माघ

            मोरङ,बुढिगंगा गाउँपालिका-२  टंकीस्थित सडकमा को.३८ प ९९३७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री  सोही गाउँपालिका-३ बाँसबारी बस्ने ७० वर्षीय जय प्रकाश रेग्मीको मंगलबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको विराट मेडिकल कलेज टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

            सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका-१ दोरिममा बा.२ च ४४५० नम्बरको जिप सडकबाट करिब ५० मिटर तल खसेर बुधबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार भुटानी नागरिक ३३ वर्षीय अब्गे र ७१ वर्षीया वाङमोको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका जिप चालक समेत ५ जनालाई नगर अस्पताल मेलम्ची हुँदै थप उपचारको लागि ट्रमा सेन्टर काठमाडौं पठाइएको छ ।

            नवलपरासी पूर्व, गैंडाकोट नगरपालिका-५ कालीगण्डकी चोकमा ग.१ ख ८५४७  नम्बरको बसले ना.४६ प ७७५९ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक चितवन भरतपुर महानगरपालिका-१७ बेलुवा बस्ने ६३ वर्षीय बलराम पौडेलको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

            दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करेन्ट लागेर मृत्यु  

कञ्चनपुर, १७ माघ

            पुनर्वास नगरपालिका-३स्थित पूर्णागिरी कन्सट्रक्सनमा विद्युत पोल गाड्ने क्रममा करेन्ट लागेर सोही नगरपालिका-१ बस्ने ३२ वर्षीय राधेश्याम रानाको बुधबार बिहान मृत्यु भएको छ ।

            करेन्ट लागेर गम्भीर घाइते भएका सोही कन्सट्रक्सनमा काम गर्ने रानाको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

  डुबेर मृत्यु

झापा, १७ माघ

            झापा गाउँपालिका-१ बस्ने अनिल रामको छोरा २ वर्षीय आयुष रामको बाह्रदशी गाउँपालिका-३ राधानगर बस्ने आफ्नै मामाको घर अगाडिपानी जमेको खाल्डोमा डुबेर बुधबार बिहान मृत्यु भएको छ । खेल्ने क्रममा खाल्डोमा डुबेर अशक्तभएका उनको विर्तासिटी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट  

कञ्चनपुर, १७ माघ

बेलौरी नगरपालिका-५ मैनाहबस्ने ७३ वर्षीय रामसिंह कार्कीको घरमाबुधबार बिहान आगलागी हुँदा घर पूर्णरुपमा जलेर करिब ८ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

            प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

नगद तथा सुनका विभिन्न गरगहना चोरी

काठमाडौं, १७ माघ

            झापा, भद्रपुर नगरपालिका-१ सोमबारेस्थित साना किसान सहकारी संस्थाबाट नगद ३ लाख २ हजार ९ सय ७६ रूपैयाँ  र सिसि क्यामरागएराति चोरी भएको छ ।

            कपिलवस्तु,मायादेवी गाउँपालिका-१ पकडी बजार बस्ने जंग बहादुर बर्माको राजेश कुमार र राकेश कुमार सुनचाँदी पसलबाट करिब २७ लाख रूपैयाँ मूल्य बराबरको करिब २५ तोला सुनका विभिन्न गरगहना मंगलबार साँझ चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार