तीन नदीबाट अवैध उत्खनन् गर्ने १९ ढुवानी धनीलाई जरिबाना

तीन नदीबाट अवैध उत्खनन् गर्ने १९ ढुवानी धनीलाई जरिबाना

धनगढी : कैलालीको गोदावरीमा नदीजन्य पदार्थको अबैध उत्खननमा प्रयोग भएका गाडी जरिबाना गरेर छाड्ने निर्णय भएको छ। जिल्ला समन्वय समिति कैलालीका अनुसार नदीजन्य पदार्थ अबैध रुपमा उत्खननमा प्रयोग भएका गाडी जरिबाना तोकेर छाड्ने निर्णय भएको हो। 

प्रति सवारी तीन हजारदेखि ५० हजारसम्म जरिबाना भराउने गरि गाडी छोड्ने निर्णय भएको जिल्ला समन्वय समिति कैलालीका कार्यबाहक प्रमुख खगराज भुसालले बताए। आइतबार जिल्लास्तरीय अनुगमन समितिको टोलीले गोदावरी, खुटिया र खैराना नदीबाट १९ वटा ढुवानीका साधन नियन्त्रणमा लिएको थियो।

नदीजन्य पदार्थको अवैध उत्खनन भइरहेको विषय सार्वजनिक भएपछि उक्त टोली तीनवटै नदीको अनुगमन गरेको थियो। जिल्ला समन्वय समितिका प्रमुखको नेतृत्वमा रहने समितिमा प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, वन र आन्तरिक राजस्वका प्रमुख सदस्य रहने प्रावधान छ। समितिका संयोजक तथा जिल्ला समन्वय समिति कैलालीका कार्यबाहक प्रमुखको अध्यक्षतामा बसेको बैठकपछि नदीको अनुगमन गरिएको थियो।

तीनवटै नदीबाट १० वटा टिपर, ३ वटा स्काभेटर, ३ वटा जेसीबी र ३ वटा ट्याक्टर प्रहरीले कब्जामा लिएको थियो। कब्जामा लिएका १९ वटै ढूवानीका साधन जरिबाना गरेर छोड्ने सहमति बुधबार भएको हो। तीनवटा स्काभेटरलाई एक लाख ५० हजार, ३ वटा जेसीबीलाई ९० हजार, तीनवटा टिपरलाई ९० हजार र तीनवटा ट्याक्टरलाई ९ हजार पहिलोपटकका लागि जरिबाना गरेर छोड्ने निर्णय भएको जिल्ला समन्वय समिति कैलालीले बताएको छ।

साथै ती ढूवानीका साधन सञ्चालकले नदीमा पारिएको खाल्डो पुरेर बराबर गर्नुपर्ने पनि सहमति भएको छ। खोलामा स्काभेटर र जेसीबीको प्रयोग गर्न नपाइने व्यवस्था छ। ढुंगा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ को दफा ४ अनुसार ‘नदीजन्य पदार्थको उत्खनन गर्दा सामान्यतया श्रममूलक प्रविधिको प्रयोग गर्नुपर्ने उल्लेख छ। मेसिनको प्रयोग गर्नुपर्ने भए वातावरणीय अध्ययन प्रतिवेदनमा उल्लिखित सर्त र सीमाभित्र रही गर्नुपर्ने उल्लेख छ।

वातावरण प्रभाव मूल्यांकनमा ती नदीका सात ठाउँबाट नदीजन्य पदार्थ संकलनको अनुमति दिइएको छ। दुई ठाउँबाट ढुंगा मात्र र अन्य स्थानबाट बालुवा, गिट्टी र भरान संकलन गर्न पाइने भनिएको छ। वडा नम्बर २ र ३ मा पर्ने नदीबाट ५१ घनमिटर र तेघरी र खमौराको बीचमा पर्ने गोदावरी नदीबाट २५ हजार ४ सय ४० घनमिटर ढुंगा निकाल्न पाइने उल्लेख छ।

दुवै स्थानमा नदीजन्य पदार्थ उत्खनन गर्दा शून्य दशमलव ८ मिटरभन्दा गहिरो खाल्टो बनाउन नपाउने उल्लेख छ। अरू पाँच स्थानमा पनि शून्य दशमलव ९९ मिटरभन्दा गहिरो जान नपाउने उल्लेख छ। सबै मिलाएर गोदावरी नदीबाट मात्रै २ लाख घनमिटर नदीजन्य पदार्थ निकाल्न पाउने उल्लेख छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार