भागेका अभियुक्त पक्रिन खोज्दा ज्यान गुमाएका यी प्रहरी जवान

प्रहरी जवान सोहन चौधरी
प्रहरी जवान सोहन चौधरी

दार्चुलामा हिरासतबाट भागेका थुनुवालाई समात्न खोज्दा भीरबाट लडेर एक प्रहरीको मृत्यु भएको छ।  जिल्ला प्रहरी कार्यालय दार्चुलाको हिरासतमा रहेका महाकाली नगरपालिका–१ का उमेशसिह कुँवर भागेपछि उनलाई रोक्न खोज्दा भीरबाट लडेर प्रहरी जवान सोहन चौधरीको मृत्यु भएको हो। 

अभियुक्त कुँवरलाई सोमबार दिउँसो थुनुवा कक्षबाट मुद्दा शाखा लगिएको थियो। त्यस क्रममा उनी हतकडीसहित जिल्ला प्रहरी कार्यालय भवनपछाडिको भीरबाट हामफालेर भाग्ने क्रममा समात्न खोज्दा प्रहरी जवान चौधरी पनि भीरबाट खसेका थिए।

करिब सय मिटर तल खसेका प्रहरी जवान चौधरीको टाउकोमा गम्भीर चोट लागेको थियो। त्यसपछि जिल्ला अस्पताल लगिएका उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए। 

हतकडीसहित महाकाली नदी तरेर भारत पुगेका कुँवरलाई पनि प्रहरीले पक्राउ गरेको उनले बताए। यसअघि गत माघ ७ गते ड्युटीमा खटिएका दुई प्रहरीलाई चक्कु हानेका कुँवरलाई फागुन २२ गते प्रहरीले पक्रेको थियो।

श्रीमती धनिषा कुँवरलाई कुटपिट गरेको भनी उजुरी आएपछि सोधपुछका लागि लिन पुगेका प्रहरी हवल्दार जयबहादुर खड्का र जवान डम्बरबहादुर ठगुन्नालाई चक्कुले हानेका थिए। चक्कुले ठगुन्नाको आँखामा चोट लागेको थियो।

कुँवरविरुद्ध अपहरण तथा बन्धक, ज्यान मार्ने उद्योग र जबर्जस्ती करणीको मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। -नेपालखबरबाट

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार