धनगढी : नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सुदूरपश्चिम प्रदेश स्तरीय शाखा स्थापना हुने पक्का भएको छ। शाखा स्थापनाका लागि परिषद्ले संयोजक (काउन्सीलर) समेत नियुक्त गरिसकेको छ। स्वास्थ्य अनुसन्धान परिषद्ले सुदूरपश्चिमको संयोजकका रूपमा डा. मेराज आलम अन्सारीलाई नियुक्त गरेको हो।
परिषद्का सदस्य सचिव डा. प्रमोद जोशीले जनरल सर्जरी विशेषज्ञ तथा निसर्ग अस्पतालका मेडिकल डाइरेक्टर डा. अन्सारीलाई संयोजकको जिम्मेवारी दिएका हुन्।
सुदूरपश्चिम प्रदेशमा परिषद्को शाखा स्थापना भएपछि यहाँका चिकित्सक र स्वास्थ्य क्षेत्रका अन्य पेशाकर्मीलाई अनुसन्धान गर्न सहज हुने अपेक्षा गरिएको छ। परिषद्ले यसअघि अन्य ६ वटै प्रदेशमा शाखा स्थापना गरिसकेको छ। सुदूरपश्चिममा शाखा स्थापना हुने प्रक्रिया पूरा भएपछि यहाँको स्वास्थ्य क्षेत्रमा थप सम्भावनाको खोजी र अनुसन्धान कार्य प्रभावकारी हुने विश्वास गरिएको छ।
नवनियुक्त संयोजक डा. अन्सारीका अनुसार, परिषद्ले आवश्यक प्रक्रिया पूरा गरेसँगै शाखा स्थापना कार्य प्रारम्भ हुनेछ। शाखा स्थापना भएसँगै यस क्षेत्रका स्वास्थ्य सेवा र अनुसन्धानलाई नयाँ उचाइमा पुर्याउने योजना रहेको उनले जानकारी दिए।