पुर्चौडी: जिल्ला खेलकुद विकास समिति बैतडीको आयोजनामा र पुर्चौडी नगरपालिकाको सह–आयोजनामा सम्पन्न १५औँ राष्ट्रपति रनिङ शिल्डको उपाधि पुर्चौडी नगरपालिकाले जितेको छ। बैतडीको पुर्चौडी–१ स्थित कमल विशाल पार्कमा वैशाख ३ गतेदेखि सुरु भएको प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो।
प्रतियोगितामा पुर्चौडी नगरपालिकाले १० स्वर्ण, १० रजत र ७ कास्य पदकसहित कुल २७ पदक प्राप्त गर्दै उपाधि आफ्नो नाममा लेखाएको हो।

दोगडाकेदार गाउँपालिकाले ९ स्वर्ण, ३ रजत र १ कास्य पदकसहित कुल १३ पदक प्राप्त गर्दै द्वितीय स्थान हासिल गर्यो।

तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा मेलौली नगरपालिकाले ८ स्वर्ण, ६ रजत र ६ कास्य गरी २० पदक हात पार्दै तृतीय स्थान प्राप्त गर्यो। गत वर्षको प्रतियोगितामा पहिलो स्थान हासिल गरेको मेलौली नगरपालिकाले यस वर्ष भने तेस्रो स्थानमा चित्त बुझाएको छ।
प्रतियोगितामा बैतडी जिल्लाका सबै १० वटै स्थानीय तहको सहभागिता रहेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ।
