धनगढी : धनगढी उप-महानगरपालिका अन्तर्गत सञ्चालन भइरहेको ग्रासरुट क्रिकेट विकास कार्यक्रम अन्तर्गतको ‘फ्रेन्डसिप सिरिज पुरुष’ तर्फ सोमबार पहिलो खेल सम्पन्न भएको छ ।
चन्द्रोदय मा.वि. फूलबारीको खेल मैदानमा भएको उक्त खेलमा सिद्धनाथ मा.वि. जुगेडा र चन्द्रोदय मा.वि. फूलबारीबिच प्रतिस्पर्धा भएको थियो ।

खेलमा टस जितेर पहिले फिल्डिङ रोजेको फूलबारी सेन्टरलाई जुगेडाले ८० रनको लक्ष्य दिएको थियो। जवाफी पालीमा ब्याटिङ गर्न आएको फूलबारीको टिम १७ ओभरमै अलआउट हुँदै १५ रनले पराजित भएको थियो ।

जुगेडा सेन्टरका हेमन्त बोहरा खेलका नायक बने । उनले दोस्रो इनिङ को व्यक्तिगत चार ओभरमा ४ विकेट लिँदै केवल १० रन खर्चिएर प्लेयर अफ द म्याच बन्न सफल भए ।

खेलपछि जुगेडाका कप्तान कमल सुनार र फूलबारीका कप्तान सुबास बोहरा दुवैले ग्रासरुट क्रिकेट ‘फ्रेन्डसिप सिरिजले खेलाडीहरू बिच मैत्रीपूर्ण सम्बन्ध बलियो बनाउने मात्र नभई, खेल कौशल र आत्मविश्वास अभिवृद्धि गर्न ठुलो भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
जुगेडा सेन्टरका प्रशिक्षक ज्ञानेन्द्र क्षेत्रीले फ्रेन्डसिप सिरिज अन्तर्गत महिला र पुरुष गरी दुवै समूहको खेल अबदेखि महिनामा चार पटक सञ्चालन गरिने लक्ष्य रहेको बताए । उनले भने, “दैनिक दुई घण्टासम्म प्रशिक्षण लिइरहेका खेलाडीहरूका लागि यो सिरिज आत्म परीक्षण, दबाब व्यवस्थापन तथा प्राविधिक सिप अभिवृद्धिको राम्रो अवसर हो ।”
क्षेत्रीले धनगढी उप-महानगरपालिकाको लगानी अनुसारको प्रतिफल प्राप्तिमा पनि सिरिजले सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
भने ग्रासरुट लेबलमा क्रिकेटको विकासको निम्त्ती यस्तो खालको कामको थानी गर्ने पहिलो पालिका धनगढी उप-महानगरपालिका हो ।