धनगढी : धनगढीस्थित सुदूर पश्चिमाञ्चल क्याम्पस (एस.पी.ए) कलेजका नेपाली विषयका प्राध्यापक व्यासाचार्य, उप–प्रा. डा. देवेन्द्र प्रसाद भट्ट (दीप्त) लाई संस्कृति विधातर्फको प्रादेशिक प्रतिभा पुरस्कार प्रदान गरिने भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको असार १८ गतेको निर्णयअनुसार भट्टलाई यो सम्मान प्रदान गरिन लागिएको हो।
अछामको साँफेबगर नगरपालिका–१०, घुघुरकोटका स्थायी बासिन्दा डा. भट्ट विगत २०६८ सालदेखि एस.पी.ए कलेजमा अध्यापनमा संलग्न छन्। नेपाली भाषा–साहित्यमा विद्यावारिधि (PhD) गरेका उनले दुई दशकभन्दा बढी समयदेखि शिक्षा, अनुसन्धान र साहित्यिक सिर्जनामा उल्लेखनीय योगदान दिँदै आएका छन्।
विगत १२ वर्षदेखि एस.पी.ए कलेजमा अध्यापनरत भट्ट हाल एम.एड, बी.ए. र बी.एड कार्यक्रम निर्देशकको रूपमा समेत कार्यरत छन्। वैदिक संस्कृत भाषा, व्याकरण र साहित्यमा समेत दखल राख्ने भट्टले सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयबाट आचार्य, एम.ए., एम.एड. तथा पीएच.डी सम्मको अध्ययन पूरा गरेका छन्।
उनी २०६३ सालदेखि अध्यापनमा सक्रिय छन्। वैदिक संस्कृत साहित्य र नेपाली भाषामा अनवरत रूपमा क्रियाशील रहेका भट्टले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गोष्ठीहरूमा कार्यपत्र प्रस्तुत गर्दै आएका छन्। उनका ‘परिस्थिति’ (२०५९), ‘तिनतन्त्र’ (२०६४), ‘द्रष्टा दृष्टि’ (२०७२), ‘सिद्धगुफा तथा कालालेकी महात्म्य’ (२०७७) र ‘अछामको होरी’ (२०७९) जस्ता कृतिहरू प्रकाशित छन्।
पत्रपत्रिका तथा साहित्यिक मञ्चहरूमा सक्रिय रहँदै आएका भट्ट सावित्री कमल राष्ट्रिय लोकसंस्कृति पुरस्कार–२०८० तथा राष्ट्रिय शिक्षा दिवस–२०८१ मा ‘नेपाल विद्याभूषण क’ बाट पनि सम्मानित भइसकेका छन्।
संस्कृति विधामा डा. भट्टसँगै बैतडीका नरेन्द्र प्रसाद भट्टलाई भाषा तथा साहित्यतर्फको प्रादेशिक प्रतिभा पुरस्कार प्रदान गरिएको छ। यस्तै, संगीत तथा नाट्य विधामा बाजुराका प्रकाशबहादुर थापा सम्मानित भएका छन्।
