धनगढी: धनगढीमा महाकवि मनिराज जोशीद्वारा लिखित ‘गोकर्णगीता’ कृतिको लोकार्पण तथा एस.पी.ए कलेजका उप-प्राध्यापक डाक्टर देवेन्द्र प्रसाद भट्ट (दीप्त)द्वारा लिखित समालोचनात्मक ग्रन्थ ‘काव्यऋषि मनिराजका अष्टदीप’ माथि विमर्श कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा वक्ताहरूले ‘गोकर्णगीता’ तथा ‘काव्यऋषि मनिराजका अष्टदीप’ कृतिको साहित्यिक महत्वमाथि चर्चा गरेका थिए । स्वागत मन्तव्यका क्रममा तारा रोस्यारा जोशीले साहित्य सिर्जनाका लागि अध्ययन, चिन्तन, मनन र निरन्तर साधना आवश्यक पर्ने बताइन्।
११४ पद्यमा रचना गरिएको ‘गोकर्णगीता’ बारे सह-प्राध्यापक जगन्नाथ जोशीले साहित्य समाजको साझा सम्पत्ति भएको उल्लेख गर्दै महाकवि मनिराज जोशीले विभिन्न कृतिमार्फत सुदूरपश्चिमलाई राष्ट्रियस्तरमा परिचित गराएको बताए। उनले डाक्टर भट्टद्वारा लिखित ‘काव्यऋषि मनिराजका अष्टदीप’ ले नेपाली साहित्यमा थप योगदान पुर्याउने विश्वास व्यक्त गरे।

सह-प्राध्यापक गणेशराज जोशीले सुदूरपश्चिम विश्वविद्यालयको पाठ्यक्रममा महाकवि मनिराज जोशीका कृति समावेश नहुनु दुःखद भएको टिप्पणी गरे। उनले वर्तमान समयमा महाकाव्य र नाटक लेखन कमजोर बन्दै गइरहेको अवस्थामा जोशीको योगदान प्रशंसनीय रहेको बताए।
विमर्शका क्रममा सह-प्राध्यापक जोशीले डा. भट्टको समालोचनात्मक ग्रन्थ ३६० पृष्ठको रहेको र पाँच अध्यायमा विभाजित गरिएको जानकारी दिए। उनका अनुसार ‘अष्टदीप’ ले मनिराज जोशीद्वारा रचित आठ महाकाव्यलाई जनाउँछ।
साहित्यकार पद्मराज जोशी (प्रभात) ले ‘गोकर्णगीता’ श्रीमद्भागवत गीताका श्लोकमा आधारित कृति भएको बताए। उनले उक्त कृति पूर्वीय दर्शनका बिम्ब र प्रतीकले भरिपूर्ण रहेको धारणा राखे।
अग्रज साहित्यकार श्रेष्ठ प्रिया पत्थरले नेपाली साहित्यमा एकैसाथ दुई महत्वपूर्ण कृति प्रकाशन हुनु सकारात्मक पक्ष भएको बताइन्। उनले महाकवि मनिराज जोशीलाई ‘काव्यऋषि’ उपाधि उपयुक्त रहेको उल्लेख गरिन्।
प्रमुख अतिथि प्राध्यापक हेमराज पन्तले मनिराज जोशीबाट समय व्यवस्थापन, लगनशीलता र निरन्तर साधनाको शिक्षा लिन सकिने बताए। उनले साहित्य सिर्जना कठिन साधना भएको उल्लेख गर्दै नेपालमा साहित्यकारले संघर्षपूर्ण अवस्था भोग्नुपरेको टिप्पणी गरे।
महाकवि मनिराज जोशीले आफू समाजप्रति ऋणी रहेको उल्लेख गर्दै आगामी दिनमा पनि नयाँ काव्य रचना गर्ने इच्छा व्यक्त गरे। उनले नयाँ पुस्ताले साहित्य सिर्जनामा थप योगदान दिने विश्वास व्यक्त गरे।
कार्यक्रमका सभापति उप-प्राध्यापक डाक्टर देवेन्द्र प्रसाद भट्टले मानव जीवनमा साहित्यको महत्वपूर्ण भूमिका रहेको बताए। उनले आठ वटा महाकाव्य रचना गर्नु सामान्य विषय नभएको उल्लेख गर्दै महाकवि मनिराज जोशीलाई असाधारण प्रतिभाका धनी सर्जकका रूपमा व्याख्या गरे।
मनिराज–ईश्वरी वाङ्मय प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा डाक्टर देवेन्द्रप्रसाद भट्ट सभापति तथा प्राध्यापक हेमराज पन्त प्रमुख अतिथिका रूपमा सहभागी थिए।
भने कार्यक्रममा श्रेष्ठ प्रिया पत्थर, एसपीए कलेजका क्याम्पस प्रमुख बुधराम चौधरी, महाकवि मनिराज जोशी, सहप्राध्यापक गणेशराज जोशी, सहप्राध्यापक जगन्नाथ जोशी, साहित्यकार पद्मराज जोशी (प्रभात), वासुदेव पाण्डेय, निर्मलप्रसाद भण्डारी, टोपेन्द्र शाहलगायत साहित्यकार तथा बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो। कार्यक्रम एसपीए कलेजकाे सभा हलमा सम्पन्न भएकाे िथयाे ।







You must be logged in to post a comment.