धनगढी : धनगढीमा युवा उद्यमशीलता, व्यवसायिक सोच तथा आधुनिक प्रविधिमैत्री सीप विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘स्केलअप नेपाल ट्रेनिङ प्रोग्राम २०२६’ सफलतापूर्वक सम्पन्न भएको छ ।
अमेरिकी दूतावास नेपालअन्तर्गतको ‘अलुम्नी इन्गेजमेन्ट इनोभेसन फन्ड (एईआईएफ)’ को सहयोगमा आयोजित उक्त तीन दिने कार्यक्रम असार २६ गतेदेखि २८ गतेसम्म धनगढी–२ सन्तोषी टोलस्थित एसपीए कलेजको सेमिनार हलमा सञ्चालन गरिएको थियो ।
कार्यक्रमको समन्वयकर्ता रुपाली पोद्दारले स्वागत मन्तव्य व्यक्त गर्दै युवालाई आत्मनिर्भर र नवप्रवर्तनमुखी बनाउन यस्ता कार्यक्रम आवश्यक रहेको बताएकी थिइन् ।
‘स्केलअप नेपाल’ का संस्थापक अमित अग्रवालले “उद्यमशील सोच” विषयमा प्रशिक्षण दिँदै सफल व्यवसाय निर्माणका आधार, नेतृत्व क्षमता तथा अवसर पहिचानका विषयमा सहजीकरण गरेका थिए ।
अमेरिकी नियोगका प्रतिनिधि धुर्व शाहले विशेष सम्बोधन गर्दै नेपालका युवामा उद्यमशील क्षमता विकासका लागि यस्ता कार्यक्रम महत्वपूर्ण रहेको बताएका थिए ।
त्यसैगरी एआई कन्सल्टेन्ट तथा प्रशिक्षक चन्दन गुप्ताले “उत्पादकत्वका लागि एआई” तथा “कार्यप्रवाह, लेखन र स्वचालनका लागि एआई” विषयमा प्रशिक्षण दिएका थिए । उनले एआईको प्रयोगबाट दैनिक कार्यलाई छिटो, प्रभावकारी र व्यवस्थित बनाउन सकिने विषयमा व्यावहारिक अभ्यास गराएका थिए ।
अन्तिम दिन कर्पोरेट प्रशिक्षक शौरव लोहानीले “बिक्री नगरी बिक्री गर्ने कला” तथा “सीडीओ सेल्स पिच” सम्बन्धी प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा सहभागीहरूले व्यवसाय प्रस्तुतीकरण, ग्राहकसँग संवाद गर्ने शैली तथा आत्मविश्वास अभिवृद्धि गर्ने सीपबारे प्रत्यक्ष अभ्यास गरेका थिए ।
उद्यम गर्न इच्छुक युवा, व्यवसायी तथा सीपमुखी व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रमले विशेषगरी युवाहरूलाई व्यवसाय सुरु गर्ने सोच विकास गर्न, आधुनिक प्रविधिको प्रयोगमार्फत कामलाई सहज बनाउन, प्रभावकारी प्रस्तुतीकरण क्षमता बढाउन तथा रोजगारी खोज्नेभन्दा रोजगारी सिर्जना गर्ने दिशामा प्रेरित गर्ने विश्वास गरिएको आयोजकले जनाएको छ । साथै यस्ता कार्यक्रमले युवा उद्यमीहरूलाई नेटवर्क विस्तार, नयाँ अवसरको पहिचान, डिजिटल दक्षता तथा प्रतिस्पर्धी बजारमा टिक्न आवश्यक व्यवहारिक ज्ञान प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
कार्यक्रमको सहकार्य साझेदारका रूपमा एसपीए कलेज रहेको थियो भने एआई एकेडेमिया पार्टनरमा सनवे कलेज काठमाडौं, इन्टरनेट पार्टनरमा वर्ल्डलिंक, एयरलाइन्स पार्टनरमा यती एयरलाइन्स, इकोसिस्टम पार्टनरमा एमच्याम नेपाल र नुसान, प्रोटेक्सन पार्टनरमा खल्ती सुरक्षा, इन्स्योरेन्स पार्टनरमा हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड तथा हस्पिटालिटी पार्टनरमा ब्रेड बक्स र द रुबस होटल रहेका थिए । कार्यक्रमको अन्तिम दिन सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै समापन गरिएको थियो ।






