माया लुहारको हत्यामा संलग्न भएको आरोपमा सशस्त्र प्रहरी जवान कञ्चनपुरबाट पक्राउ

बैतडी युवती हत्या प्रकरण
प्रकाशित : :

बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडाकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न भएको आरोपमा सशस्त्र प्रहरीका जवान भरतराम कोली कञ्चनपुर बाट पक्राउ परेका छन् ।

कोलीलाई कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले धनगढीखबरलाई जानकारी दिएको छ ।  

हत्या आरोप लागेका शिवनाथ गाउँपालिका–४ बस्ने २७ वर्षीय कोली घटनापछि फरार रहेका थिए । मृतक किशोरीका आफन्तले कोलीको नाममा किटानी जाहेरी दिएका थिए । कोलीलाई पक्राउ गर्न केन्द्रबाट समेत सीआईबीको टोली खटिएको थियो ।

मायाको गत बुधबार दिउँसो शिवनाथ गाउँपालिका–६ शिवनाथ मन्दिर नजिकै घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो । यस्तै सोही ठाउँकी १५ वर्षीया नेहा लुहार घाँटीमा धारिलो हतियार प्रयोग गरेर गम्भीर घाइते अवस्थामा भेटिएकी थिइन् । उनी पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाको सीमास्थित बालाडाँडामा रक्ताम्य अवस्थामा फेला परेकी हुन् । हाल उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

माया र नेहा मङ्गलबार घरबाट लुगा सिउन भनी पञ्चेश्वरकै कुँलाउ गएका थिए । बुधबारसम्म पनि घर नफर्केपछि घरपरिवार र प्रहरीले खोजतलास गरेको थियो । खोजतलास गर्दै जाँदा बुधबार मायाको शव तथा नेहा घाइते अवस्थामा भेटिएकी थिइन् ।  

भरत र मायाको पहिलादेखि नै फोन सम्पर्क भइराख्ने खुल्न आएको छ । प्रेमसम्बन्धमा रहेका माया र भरतको बिहे गर्ने समेत तयारी थियो । बिदामा घर आएका भरतले केही दिन अगाडि मायाको मोबाइल फोन नियन्त्रणमा लिएका थिए । मङ्गलबार मोबाइल लिन बोलाएकै बेला मायाको हत्या भएको बताइएको छ ।  माया हालै सम्पन्न निर्वाचनमा म्यादी प्रहरीसमेत रहेकी थिइन् । प्रहरीले घटनास्थलबाट मायाको मोबाइल, चक्कुलगायत सामग्री बरामद गरेको छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट