पुर्चाैडी : बैतडीको पुर्चाैडी नगरपालिका–७ स्थित बढ्गाउँ मोडमा जन्ती बोकेको बस दुर्घटनामा १३ जनाको ज्यान गएपछि सुदूरपश्चिमका तीन जिल्लाका तीन स्थानीय तह शोकमा डुबेका छन्। दुर्घटनाबाट प्रभावित पालिकाहरूले औपचारिक रूपमा शोक विज्ञप्ति जारी गर्दै शोक बिदा समेत दिएका छन् भने गाउँ–बस्तीमा रुवाबासी छाएको छ।
गएराति जन्ती लिएर फर्किँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेर ठूलो मानवीय क्षति भएपछि पुर्चाैडी नगरपालिका (बैतडी), शैल्यशिखर नगरपालिका (दार्चुला) र वित्थडचिर गाउँपालिका (बझाङ) ले आ–आफ्नो तर्फबाट शोक विज्ञप्ति सार्वजनिक गरेका छन्।
पुर्चाैडी नगरपालिकाले जारी गरेको विज्ञप्तिमा दुर्घटनालाई “अत्यन्तै दुःखद र हृदयविदारक” घटना भन्दै दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ। नगरपालिकाले मृतकहरूको आत्माको चिरशान्तिको कामना गर्दै आज नगर कार्यालय, वडा कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थाहरूमा शोक बिदा दिने निर्णय गरेको जनाएको छ।
यस्तै, दार्चुलाको शैल्यशिखर नगरपालिकाले पनि आफ्ना कर्मचारीमध्ये एक जना दुर्घटनामा परी ज्यान गुमाएको उल्लेख गर्दै गहिरो शोक व्यक्त गरेको छ। नगरपालिकाले सम्पूर्ण कार्यालय तथा मातहतका शैक्षिक संस्थाहरूमा शोक बिदा दिँदै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ।
उता, बझाङको वित्थडचिर गाउँपालिकाले पनि शोक वक्तव्य जारी गर्दै उक्त दुर्घटनाले गाउँपालिका परिवारलाई स्तब्ध बनाएको उल्लेख गरेको छ। गाउँपालिकाले दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
दुर्घटनामा परेका अधिकांश यात्रु स्थानीय बासिन्दा रहेकाले गाउँ–गाउँमा चुलो नबलेको, घर–आँगनमा रोदनको आवाज सुनिएको स्थानीय बताउँछन्। विवाहको खुशीयाली बोकेर गएका परिवारहरू एकाएक शोकमा डुबेका छन्।
एकै घटनाले तीन जिल्लाका तीन पालिकालाई शोकमा डुबाएको यो दुर्घटनाले फेरि एकपटक पहाडी सडकको जोखिम र यात्राको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ।







