SKIP THIS

S.P.A  Collage

कञ्चनपुरको शुक्लाफाँटा ८ का बासिन्दा सञ्चार सुविधाबाट वञ्चित

कञ्चनपुरको चुरे फेदी

कञ्चनपुर: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ चुरे फेदीका बासिन्दा सञ्चार सुविधाबाट वञ्चित छन् ।

मोबाइलमा कुरा गर्न उनीहरुलाई घण्टौँ हिँडेर छिमेकी गाउँ पुग्ने, डाँडा र रुख चढ्नुपर्ने बाध्यता छ । मोबाइलको नेटवर्कसँगै इन्टरनेटसमेत नचल्दा वडा कार्यालयका कामकारवाहीसमेत प्रभावित हुँदै आएका छन् । “कार्यालय कक्षभित्र मोबाइलको नेटवर्कले टिप्दैन”, वडासचिव चन्द्र चौधरीले भने, “मोबाइलमा अत्यन्त जरुरी कुराकानी गर्नकै लागि कार्यालयभन्दा टाढा पुग्नु पर्दछ । मोबाइल नेटवर्कले काम नगरे इन्टरनेट चल्ने कुरै छैन ।”

वडामा भएका महत्वपूर्ण निर्णय नगरपालिकामा इमेलमार्फत पठाउन टाढाको गाउँमा पुगेर निजी खर्चमै मोबाइलको हस्पटबाट इन्टरनेट चलाएर पठाउँदै आएको उनले बताए । नगरपालिकाले पठाएका तत्कालै पाउनुपर्ने सूचनासमेत इन्टरनेट र मोबाइल नेटवर्क नहुँदा पाउन निकै गाह्रो भएको उनको भनाइ छ ।

“वायरलेस सिस्टमको इन्टरनेट वडा कार्यालयमा गत वर्ष जोडेका थियौँ”, वडा सदस्य लालबहादुर महराले भने, “काम नै नगरेपछि बन्द अवस्थामा रहेको छ ।” आधुनिक युगमा समेत इन्टरनेट र मोबाइल सेवाबाट बञ्चित हुनुपरेको उल्लेख गर्दै उनले सम्बन्धित निकायलाई तत्काल मोबाइल टावरको व्यवस्था गर्न आग्रहसमेत गरिएको बताए ।

नेपाल टेलिकमको नेटवर्कले टिप्दैन सोही वडाका स्थानीय बेलडाँडीका सुरतबहादुर साउदले भने, “एनसेल लगायतका अन्य निजी कम्पनीका मोबाइल कम्पनीका नेटवर्टकले कहिले टिप्ने कहिले नटिप्ने गर्दछ । फोन नलाग्ने गरेकै कारण निकै सास्ती खेप्नुपरेको छ ।”

बेलडाँडी, पिल्लरी, पारिफाँटा दोमिल्ला, पहरिया र निगालीलगायतका स्थानीवासीलाई मोबाइल नेटवर्कले काम नगर्ने भएपछि महत्वपूर्ण सूचनाआदानप्रदानका साथै स्वदेश तथा विदेशमा रहेका आफन्तसँग कुराकानी गर्न टावरले टिप्ने ठाउँ खोज्दै घण्टौँ हिँडेर छिमेकी गाउँ पुग्ने, डाँडा र रुख चढ्नुपर्ने बाध्यता छ ।

नेपाल टेलिकमले सुन्दरीफाँटामा टावर बनाउन थालेको झण्डै एक वर्ष नै हुन आँटे पनि टावर निर्माणको कार्य पूरा हुनसकेको छैन । सो टावर निर्माण भएपछि मोबाइल सेवा सञ्चालन हुनेमा आशावादी भए पनि निर्माण कहिले पूरा हुने भने टुङ्गो छैन । “मोबाइल सेवा सहजरूपमा कहिलेदेखि सञ्चालन होला भन्ने बाटो कुरेर बसेका छौँ”, रामबहादुर साउदले भने, “मोबाइल राम्ररी टिप्ने भए हुन्थ्यो । इन्टरनेट सेवाको कल्पनासमेत अहिले गरेका छैनौँ ।”

सबैका घरघरमा मोबाइल सेट छन् । फोन गर्नकै लागि टाढाको कलुवापुर र अमरपुरलगायत क्षेत्रमा पुगेर फोन गर्नुपर्ने स्थानीय बासिन्दालाई बाध्यता छ । पाँच गाउँका झण्डै दुई हजार बढी बासिन्दासम्म सञ्चार सेवा पुग्न सकेको छैन ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार