SKIP THIS

S.P.A  Collage

वडादशैमा डिजिटल दक्षिणा

वडादसैंमा डिजिटल दक्षिणा

काठमाडौं । वडादशै शुरु भएदेखि बैंक तथा वित्तीय संस्थाहरुले किनमेलका साथै डिजिटल दक्षिणा शिर्षकमा विभिन्न अफरसहितका प्रडक्ट बजारमा ल्याएका छन् ।

ती कम्पनीहरुले विशेष गरेर कोरोना महामारीले गर्दा बडादसैंको दक्षिणा मोबाइलबाट दिन स्किमसहितका प्रडक्ट ल्याएका हुन् । यसपटक कोरोना महामारीले गर्दा डिजिटल कारोबार गर्नेको संख्या पनि उल्लेख्य मात्रामा बढेको बैंकरहरु बताएका छन् । बैंकहरुबाहेक नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले पनि कात्तिक १ गतेदेखि १५ गतेसम्म लागू हुनेगरी ‘यसपालीको दसैं डिजिटल दसैं’ नामक प्रडक्ट ल्याएको छ ।

यसले कनेक्ट आईपीएस एप तथा कनेक्ट आईपीएस डट कमबाट प्रत्येक दिन डिजिटल दक्षिणा शिर्षकमा रकम ट्रान्सफर गर्ने १० जनालाई रू.१ हजारको गिफ्ट भौचर उपहार दिंदै आएको एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत(सिईओ) निलेशमान सिंह प्रधानले बताए ।

उनकाअनुसार बैंकहरु, खल्ती, फोन पे जस्ता भुक्तानी प्रदायक संस्थाहरुले पनि आफ्नै हिसावले दसैंं लक्षित योजना ल्याएकाले त्यस्ता कम्पनीहरुमार्फत कनेक्ट आईपीएसबाट भएको कारोबारलाई यसमा समेटिएको छैन ।

‘कोरोना महामारीले गर्दा नेपाल राष्ट्र बैंकले नयाँ नोट नबाँडेको अवस्थामा डिजिटल कारोबारलाई प्रोत्साहन गर्न बडादसैं लक्षित योजना ग्राहकहरुलाई प्रोत्साहन गर्न ल्याएका हौं । नियामक निकायको चाहना पनि डिजिटल भुक्तानीलाई प्राथमिकता दिने रहेको छ,’ उनले भने ।

पछिल्लोपटक पटक डिजिटल कारोबारमा आकर्षण बढेको बताउँदै उनले एनसिएचएलको तथ्यांकअनुसार पहिलो त्रैमासमा ईसीसी, आईपीएस, कनेक्ट आईपिएसको कारोबार गत वर्षको तुलनामा ७९ प्रतिशत बढेर ८४ लाख संख्यामा भएको उनले जानकारी दिए ।

एनसीएचएलबाहेकका अन्य कम्पनीहरुले समेत दसैंलक्षित विभिन्न अफरसहितका योजना ल्याएका छन् । अफरसहित यस्तो योजना नबिल बैंक, सिटिजन्स बैंक, बैंक अफ काठमाण्डू, एनआईसी एसिया, माछापुछ्रे बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनएमबी बैंक लगाएतले बडादसैं लक्षित योजना ल्याएका हुन् ।

एनआईसी एसिया बैंकले पनि विगतमा झैं डिजिटल दक्षिणा योजना ल्याएको छ । उक्त योजनाअन्तर्गत असोज १० गते दसैंको दिनदेखि पूर्णिमासम्म ग्राहकले उक्त कम्पनीकोे अर्को खातावालालाई डिजिटल दक्षिणा पठाए १० प्रतिशत रकम फिर्ता गर्ने अफर ल्याएको छ । बैंक अफ काठमाण्डू लिमिटेड (विओके) ले आफ्ना ग्राहकका लागि घरायसी विद्युतीय उपकरणको सरल किस्ताबन्दीमा खरीद गर्न सकिने योजना सार्वजनिक गरेको छ ।

विओकेकाअनुसार चाडपर्वलाई लक्षित गरी ल्याइएको सरल किस्ताबन्दीसहितको विशेष योजनामा कम्पनीको क्रेडिट कार्ड बाहक ग्राहकले बिना ब्याजसहित सीजी, एलजी, गोदरेज, टिसीएल, सेनसेई लगायतका ब्रान्डको घरायसी विद्युतीय उपकरणहरु सरल किस्ताबन्दीमा खरीद गर्न सक्ने छन् । यससँगै विओकेले आफ्ना ग्राहकले तीन पटकसम्म छुट्टा–छ्ट्टै ग्राहकलाई मोबाइल बैंकिङबाट रू. १ हजार र यस भन्दामाथि दक्षिणा दिएमा रू.१ सय नगद फिर्ता दिने बताएको छ ।

यस्तै, माछापुछ्रे बैंकले पनि आफ्ना ग्राहकलाई बडादसैं तथा तिहारमा मोबाइलबाट दक्षिणा दिए वापत अधिकतम रू. १ सयसम्म नगद फिर्ता दिने भएको छ । यस्तै राष्ट्रिय वाणिज्य बैंकले पिओएस मेसिनबाट आफ्ना ग्राहकले भुक्तानी गरेवापत बढप्मा १५ प्रतिशत वा रू.१ हजारमध्ये जुन कम हुन्छ सोअनुसार नगद फिर्ता दिने बताएको छ ।

यस्तै, सनराइज बैंकले बडादसैंमा वस तथा हवाइमार्फत घर जाने ग्राहकलाई टिकट काटेवापत नगद रू.२०० देखि ३०० सम्म नगद फिर्ता दिएको छ । यस्तै मेगा बैंकल बडादसैंको दिनदेखि पूर्णिमासम्म ‘तीनमा तीन अफर’ अन्तर्गत मोबाइलबाट दक्षिणा भनेर रिमार्कसमा खुलाएमा रू. ३००सम्मको नगद फिर्ता दिने योजना रहेको बताएको छ । विगतका वर्षहरुमा समेत सानिमा बैंक, एनआईशी एसिया बैंक लगायतले यस्तै प्रकृतिका प्रडक्ट बजारमा ल्याएका थिए ।

गत वर्षको बडादसैंमा दक्षिणा मोबाइल बैंकिङमार्फत सीधै बैंक खातामा पठाउने व्यवस्था गरेको सानिमा बैंकले गत वर्ष बडादसैंमा प्रत्येक दिन मोबाईलबाट दक्षिणा दिनेलाई गोलाप्रथा गरेर यसमध्ये एक जनालाई स्मार्टफोन उपहार दिएको थियो ।

यसरी गतवर्ष सञ्चालन गरेको प्रडक्टले गर्दा उक्त कम्पनीको कारोबार करीब ६० प्रतिशतले वृद्धि भएको श्रेष्ठको दाबी छ । ‘विगत ३ वर्षदेखि सानिमा बैंकले विभिन्न अफरसहित डिजिटल दक्षिणा प्रडक्ट लयाउँदै आएको छ ।‘अघिल्ला वर्षमा नगद फिर्ता अफर थियो । चाडपर्वमा कार्डबाट क्यूआर कोडमार्फत कारोबार गर्दा १० प्रतिशत नगद फिर्ता अफर दिएको थियो,’ उनले भने ।

विभिन्न अफरसहित बडादसैं लक्षित योजना नल्याएका ती कम्पनीहरुले पनि मोबाइल बैंकिङ जस्ता डिजिटल दक्षिणा दिन सकिने बताएका छन् । ग्राहकलाई अफर नदिए पनि बडादसैंमा नगदको सट्टा मोवाइल बैंकिङजस्ता माध्यमको प्रयोग गर्न सकिने हिमालयन बैंकका जनरल म्यानेजर सुशिल जोशी बताउँछन् ।

राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपाल पछिल्लो परिस्थितिलाई हेर्दा क्रमशः सबै कारोबार डिजिटाईजेशन हुनुपर्ने अवस्था आएको बताउँछन् ।

बैंकहरुले मोबाईल बैंकिङ लगायतलाई प्रयोग गरेर दक्षिणा दिने सोच उपयुक्त भएको उनको भनाइ छ । ‘हात–हातमा दक्षिणा लेनदेन गर्ने बानी परेका नेपालीलाई बैंक तथा वित्तीय संस्थाहरुले डिजिटल प्रविधिबाट दक्षिणा दिने योजना ल्याए पनि यस्ता प्रविधिको कार्यान्वयन कति प्रभावकारी हुन्छ भन्ने चुनौती भने छ,’ उनले भने । -आर्थिक अभियानबाट साभार

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार