बैतडीका स्थानीय तहमा जनप्रतिनिधि आएको ३ बर्ष बित्दा ८४ मध्ये १२ वडामा मात्रै नयाँ भवन निर्माण

बैतडीका १२ वडामा नयाँ भवन

बैतडीः बैतडीका ८४ वडा मध्ये १२ वडामा नयाँ भवन निर्माण भएका छन् ।

स्थानीय तहमा जनप्रतिनिधि आएपछि ३ बर्ष बढीको अवधिमा १२ वडाका मात्रै नयाँ भवन निर्माण भएर नयाँ भवनबाट सेवा प्रवाह भईरहेका छन् । राज्य पुनर्संरचना गर्दा कुनै पनि सरकारी भवन नभएका वडालाई प्राथमिकतामा राखेर भवन निर्माण भएका स्थानीय तहहरुले जनाएका छन् । जिल्लाको सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा अहिले वडा नं ७ र ८ को भवन निर्माणाधिन अवस्थामा छ ।

पाटन नगरपालिकाको वडा नं ९, ७ र ३ मा नयाँ भवन निर्माण भएका छन् भने वडा नं १० र ४ मा भवन निर्माणको काम भईरहेको नगरप्रवक्ता लोकबहादुर भण्डारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘हाम्रो नगरपालिकाका १० वडा मध्ये ३ वडामा नयाँ भवन बनेका छन् । २ वडामा यो बर्ष निर्माणाधिन अवस्थामा छन् ।’

यस्तै जिल्लाको पञ्चेश्वर गाउँपालिकाका ६ वडा मध्ये वडा नं ३ मा मात्रै भवन बनेका छ भने अन्य वडाहरुले पुरानै भवनबाट सेवा प्रवाह गरिरहेका गाउँपालिकाका प्रवक्ता दशरथ मंगोलाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘साविकका गाविस भवन प्रयोग गरेर वडाका सेवाहरु दिईरहेका छौं ।’

जिल्लाको शिवनाथ गाउँपालिकामा ३ वडामा अहिले भवन निर्माणको काम भईरहेको उपाध्यक्ष कुस्मा चन्दले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘हामीले गाउँपालिकाको नयाँ भवन निर्माण गर्यौं । अब वडाका भवन निर्माणको काम गरिरहेका छौं । अहिले साविकका गाविस भवनबाट काम सञ्चालन गरिरहेका छौं ।’

जिल्लाको मेलौली नगरपालिकाका ९ वडा मध्ये वडा नं ७ र ९ मा मात्रै आफ्ना पुराना भवन छन् भने अन्य वडाहरुमा भाडाका घरमा सञ्चालन भईरहेका छन् । चालु आर्थिक बर्षमा केही वडाका नयाँ भवन बनाउने तयारी भएको नगरप्रवक्ता सुरतसिंह नेगीले जानकारी दिनुभयो ।

यस्तै दोगडाकेदार गाउँपालिकाका ८ वडा मध्ये कुनैमा पनि नयाँ भवन बनेका छैनन् । केही वडामा पुराना भवन र केही भाडाका घरमा सञ्चालन भईरहेका गाउँपालिकाका कार्यालय सहायक अम्बादत्त जोशीले जानकारी दिनुभयो ।

जिल्लाको सुर्नया गाउँपालिकाको वडा नं ३ मा मात्रै नयाँ भवन बनेको छ । अन्य वडा कार्यालयहरु साविकका गाविस भवन र भाडाका घरमा सञ्चालन भईरहेका छन् । पुर्चौंडी नगरपालिकाको वडा न. ७ मा नयाँ भवनबाट सेवा सुचारु भएको छ भने अन्य ४ वडामा भवन निर्माण कार्य भईरहेको छ । स्थानीय तहमा जनप्रतिनिधि आएपछि सबैभन्दा बढी सिगास गाउँपालिकामा ६ वडाका नयाँ भवन निर्माण भएका छन् । वडा नं १, ३, ४, ५, ७ र ९ मा नयाँ भवनबाट सेवा प्रदान भईरहेको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले जानकारी दिनुभयो । डिलाशैनी गाउँपालिकामा पनि ७ ओटै वडामा पुराना भवनबाट सेवा प्रवाह भईरहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार