छ दिनको अन्तरमा कोरोनाले दाजु–भाइको मृत्यु

कोरोना संक्रमणका कारण मृत्यु

विराटनगर : कोरोना भाइरस संक्रमित मोरङको केराबारी गाउँपालिका–३ को एउटै परिवारका दाजु–भाइको छ दिनको अन्तरमा मृत्यु भएको छ। कोरोना संक्रमित ५७ वर्षीय भाइको मृत्यु भएको छ दिन बित्न नपाउँदै ५९ वर्षीय दाजुको पनि ज्यान गएको हो।

संक्रमणपछि उपचाररत दाजुको मृत्यु मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा आइतबार भयो। भाइको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कात्तिक १८ गते मृत्यु भएको थियो। भाइको मृत्युसँगै शोकमा रहेको परिवारमा दाजुको पनि मृत्युको बज्रपात पर्‍यो। एकै पटक मृत्युको दोहोरो शोकमा परेको परिवार अहिले दुवै जनाको काजकिरियामा छ।

भाइलाई कात्तिक ५ गते कोरोना पुष्टि भएपछि उपचारका लागि धरान लगिएको थियो। उपचारकै क्रममा १३ दिनपछि उनको कात्तिक १८ गते मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए। मृतकमा मधुमेह र उच्च रक्तचापको पुरानै समस्या रहेको प्रतिष्ठानले जनाएको छ। उनी केराबारीको एउटा विद्यालयका शिक्षक हुन्। गाउँपालिका अध्यक्ष रोहित कार्कीका अनुसार उनी शिक्षक महासंघ केराबारीका अध्यक्ष र पालिका स्तरीय कोभिड–१९ नियन्त्रण समितिका सदस्य थिए।

भाइलाई संक्रमण पुष्टि भएको दुई दिनपछि कात्तिक ७ गते दाजुको पनि पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएको थियो। स्वास्थ्यमा समस्या थपिँदै गएपछि दसैंको टीकाको दिन अर्थात कात्तिक १० गते उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। सुरुमा उनलाई बीपी प्रतिष्ठान लगियो।

त्यहाँ बेड खाली नभएको जवाफ पाएको परिवारका सदस्यले उपचारका लागि हताहतार गर्दै विराट ल्याएका हुन्। विराटका आइसोलेसन इन्चार्ज सुनिल देवका अनुसार धेरै मेहनत गर्दै बचाउन प्रयास गरिए पनि सम्भव भएन। ‘उपचारका लागि ल्याएपछि तत्काल आइसोलेसनमा भर्ना गरियो’, उनले भने, ‘तर संक्रमित पुरुषलाई उपचार ठीक बनाएर जीवितै घर फर्काउन सकिएन।’

दाजुको मृत्यु आइतबार बिहान ९ बजेतिर भएको हो। पछिल्लो समय समाजसेवामा समर्पित उनी पूर्व जनप्रतिनिधि पनि हुन्। गाउँपालिका अध्यक्ष कार्कीका अनुसार मृतकमध्ये दाजु २०५४ सालको स्थानीय निकाय निर्वाचनमा तत्कालीन केराबारी गाविस–४ को वडा अध्यक्षमा निर्वाचित भएका थिए।

जनप्रतिनिधिका रुपमा आफ्नो कार्यकाल सकिएपछि उनी पछिल्लो समय समाज सेवामा सक्रिय रहेको अध्यक्ष कार्कीले बताए। ‘छ दिनको अन्तरमा गाउँपालिकाभित्र मृत्यु भएका दुई कोरोना संक्रमित एउटै परिवारका दाजु–भाइ हुन्’, कार्कीले भने, ‘परिवारभित्र यति ठूलो बज्रपात पर्दा गाउँपालिकाले असल समाज सेवी र शिक्षक गुमाएको छ।’

छ दिनभित्र दाजु–भाइको मृत्यु हुँदा परिवार ठूलो शोकमा रहेको भन्दै उनले सिंगो गाउँपालिका भने असल व्यक्तिहरु गुमाउनु परेको पीडामा रहेको सुनाए। -अन्नपुर्णपोष्टबाट 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार